१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अनि सेटिन बने बार्सिलोना प्रशिक्षक‍...

बार्सिलोनासम्म सेटिनको यात्रा
हिमेश

काठमाडौँ — त्यस दिन क्वेक सेटिन आफ्नो घरतिर गाई चराइरहेका थिए । एक प्रकारले काम नभए फुर्सदिला थिए । प्रस्ताव आइपुग्यो, बार्सिलोनाको प्रशिक्षक बन्नु पर्ने भयो भनेर । सपनामा त जे पनि देख्न पाइन्छ । तर सेटिन आफैले त्यस्तो सपना देखेका थिएनन्, कुनै दिन विश्वकै सबैभन्दा लोकप्रिय र सफल फुटबल क्लबको प्रशिक्षक बन्छु भन्ने ।

अनि सेटिन बने बार्सिलोना प्रशिक्षक‍...

त्यो पनि लियोनल मेसी खेल्ने क्लब । उनले नाइँ कसरी पो भन्न सक्थे र ? भोलिपल्ट बार्सिलोनाले क्याम्प नुमा आयोजित पत्रकार सम्मेलनमा उनलाई प्रस्तुत गरिहाल्यो ।

पत्रकारसामु खुबै खुसी देखिएका थिए, ६१ वर्षीय प्रशिक्षक । केही ठूला अपवादलाई लिएर भन्ने हो भने बार्सिलोना जति ठूलो क्लब हो, उसको प्रशिक्षक उत्तिकै ठूलो हुने गर्दैन । बार्सिलोनाले आफैले आफैलाई मोर देन ए क्लबभन्छ, तर प्राय: प्रशिक्षक रोज्छ, ठिक्कको । साधारण । खाली बार्सिलोनाको सर्त हुने गर्छ, यी प्रशिक्षकले क्लबको मर्म बुझेको हुनुपर्छ, बार्सिलोनाले जसरी फुटबल खेल्ने गर्छ, त्यसरी नै खेल्नु पर्छ । अब भनिरहनु पर्दैन, सेटिन यही काममा माहिर छन् ।

विश्व क्लब फुटबलमा अहिले जति पनि चर्चित प्रशिक्षक छन्, त्यसको छेउछाउमा पनि छैनन् उनी । यो सिजनको सुरुमा उनले काम पनि खोजेनन् । चुपचाप नै रहे । तर जसले राम्रोसँग बार्सिलोना र स्पेनी फुटबलको राजनीति बुझेका थिए, ती सबैले यसअघि नै भनिसकेका थिए, यी सेटिन कुनै न कुनै दिन यो क्याटलान क्लबको प्रशिक्षक बन्छ नै । सेटिन हाकाहाकी बार्सिलोनाले खेल्ने फुटबल शैलीका प्रशंसक थिए । अनि मेसी भनेपछि हुरुक्कै हुने, अनि उनीबारे कुरा गरेर नथाक्ने ।

कुनै बेला उनले भनेका थिए, ‘मेसीले ६० वर्षसम्म फुटबल खेल्नु पर्छ र म त्यो मन लगाएर हेरिरहने छु ।अब भयो के भन्दा पछिल्ला दुई सिजन बार्सिलोनाका ठीक्कै रह्यो । प्रशिक्षक थिए, एरनेस्टो भाल्भर्डे । लिग लगातार जितिरहेको थियो । युरोपेली च्याम्पियन्स लिगमा पनि प्रदर्शन ठीक्कै थियो । तर बार्सिलोना यस्तो क्लब हो, जसलाई जितेर मात्र पुग्दैन् । राम्रो पनि खेल्नु पर्छ । अझ भनौं, बार्सिलोना जित्न मात्र खेल्दैन, उसको काम त सुन्दर फुटबल पनि पस्कने हो, जसले उसका समर्थक कायल होस् ।

यसमा भाल्भरडे चुके । गत सिजन यिनै सेटिन रियल बेटिसमा प्रशिक्षक थिए । बेटिसले त्यति खेल्न शैली भने बार्सिलोनाको जस्तो थियो, लगातार पास खेल्ने, विपक्षीलाई बल छुन नै नदिने । अनि मौका पायो कि गोल गर्ने । यस्तै शैली खेलेर बेटिसले बार्सिलोनालाई उसकै घरमा हराइ पनि दिएको थियो । बेटिस जानुअगाडि उनी आफ्नै घरको क्लब रेसिङ सान्टेन्डरमा थिए । त्यहाँ पनि उनले खेलाउने शैली यस्तै थियो, बार्सिलोनाको जस्तो । अनि यी दुवै क्लबका प्रशिक्षक भएर पनि उनले बार्सिलोनाकै मात्र कुरा गर्थे ।

अनि मेसी विश्वकै सबैभन्दा राम्रा फुटबल खेलाडी हुन् भनेर दाबी गर्न पनि चुक्दैन थिए । बेटिस र सान्टेन्डरका समर्थकलाई भने उनको यो काम पटक्कै चित्त बुझ्दैन थियो । तर यी दुवै काम गर्न सेटिन कहिल्यै पछाडि परेनन् । उनी खेलाडी जीवन सकाएर भर्खरभर्खर प्रशिक्षक बन्ने सुरसारमा थिए, एक दिन योहान क्रोएफको बार्सिलोनाले खेलेको हेरेछन् । ठीक त्यही दिनदेखि उनको फुटबलप्रतिको नजर नै सधैंका लागि परिवर्तन भयो, अनि भनिहाले, फुटबल खेल्नु पर्छ त बार्सिलोनाले जस्तो ।

नत्र नखेले पनि हुन्छ । स्पेनले विश्वकप र युरोकप जित्दा जस्तो फुटबल खेलेको थियो, त्यो शैलीको निर्माण त क्रोएफको बार्सिलोना कारखानामै त भएको थियो । मीठा छोटा छोटा पास, जसलाई हेरिरहुँ जस्तो हुन्छ । विपक्षी टिमको काम पनि यही पासलाई पछ्याउनु मात्र हुने गर्छ । त्यो शैलीलाई सुहाउनु गरेर खेलाडी व्यक्तिगत रूपमा राम्रो त हुनु नै पर्‍यो । यो शैली आक्रमक पनि उत्तिकै हुन्छ । त्यसै यी डच लिजेन्ड क्रोएफलाई विश्व फुटबलकै सबैभन्दा ठूला रणनीतिकार हुन भनेर त्यसै भनिएको त पक्कै होइन ।

अब घुमाइफिराइ यिनै सेटिक बार्सिलोना पुगेका छन्, प्रशिक्षक भएका छन् । अनि भनिरहेका छन्, अब बार्सिलोनाले त्यसरी नै खेल्छ । यस सप्ताहन्तका खेलमा नै उनी बार्सिलोनाको प्रशिक्षकका रूपमा उभिने छन् । यो त भयो, सेटिनको बार्सिलोनाको प्रशिक्षक हुनुसम्मको यात्रा र कारण । यो त सबैले देखेको र सुनेको नै भयो । पूरा कथामा एउटा भित्री पाटो पनि छ । र, यो हो, बार्सिलोना क्लब फुटबलको राजनीति । बार्सिलोनाले भाल्भर्डेलाई हटाउने निर्णय त गर्‍यो, तर नयाँ प्रशिक्षक को ल्याउने त ?

बार्सिलोना क्लबका अध्यक्ष हुन्, जोसेप मारिया । उनकै निर्देशनमा क्लबले आफ्ना पुराना खेलाडी जाभीसँग प्रशिक्षक हुन् कुराकानी चलाएको थियो । त्यसैले हल्ला चलिसकेको थियो, भाल्भर्डे बर्खास्तीमा पर्नेछन् र जाभीले प्रशिक्षकको जिम्मा पाउने छन् । जाभी भने कतारमा थिए, अल सादको प्रशिक्षकका रूपमा । तर घटनाले त्यहीबेला ट्विस्टलियो ।

जाभीले निर्णय गरे, कम्तीमा अबका एक वर्ष अल सादमै रहने र बार्सिलोना नजाने । खासमा बार्सिलोना क्लबमा घरेलु राजनीति खुबै चल्ने गर्छ । जाभी व्यवसायी भिक्टर फन्टको नजिकका साथी हुन् । फन्ट तिनै व्यक्ति हुन्, जसले अर्को वर्ष क्लबको अध्यक्ष पदका लागि हुने चुनावमा भिड्‌ने विचार गरिरहेका छन् । त्यसैले बुझियो, जाभीले बार्सिलोना आउँदिन भन्नुको अर्थ यो क्लबलाई अस्वीकार गरेको होइन, बरू अध्यक्ष मारियालाई मात्र अस्वीकार गरेका हुन् ।

आखिरमा फन्ट र मारिया परस्पर प्रतिद्वन्द्वी नै हुन् । फन्टसँगको नजिकको सम्बन्धकै कारण बार्सिलोनाका अर्को लिजेन्ड कार्लेस पुयोलले पनि सेप्टेम्बरमा स्पोर्टिङ डाइरेक्टरको पद अस्वीकार गरेका थिए । मारिया पनि यो निर्णयमा पुगे कि जाभीलाई ल्याउन सकिन्न । फेरि जाभीले अल साद जस्तो सानो क्लब हेरेर पनि मस्त कमाइरहेका थिए, अबको विश्वकप अगाडि कतार छाड्‌नु उनका लागि ठीक पनि थिएन । त्यसैले मारियाले राजे, यिनै सेटिन । यो अर्थमा उनी भाग्यमानी पनि रहे । अनि सेटिनले पाए सपनामै नसोचेको काम ।

प्रकाशित : माघ ४, २०७६ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?