कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

मणिका प्यारो साथी

आधुनिक नेपाली लिग फुटबल इतिहासको सबैभन्दा सफल क्लब हो मनाङ । यसले कीर्तिमान आठपल्ट ‘ए’ डिभिजन लिग जितिसकेको छ । यो क्लबको जग बसाउने समयका खेलाडी हुन् मुकेश शाही । 
हिमेश

काठमाडौँ — मनाङ मर्स्याङ्दी क्लबको समर्थक हुनुहुन्छ भने तपाई एउटा मिति याद गर्नुस्, २०४३ साल असार २६, बिहीबार । 
यो त्यही दिन हो । जतिबेला मनाङले सहिद स्मारक लिग ए डिभिजनमा डेब्यू गरेको थियो । दशरथ रंगशालामा भएको खेलमा प्रतिद्वन्द्वी थियो फ्रेन्ड्स क्लब । मनाङ त्यसमा २–० ले विजयी रह्यो ।

मणिका प्यारो साथी

दुवै गोल एउटै खेलाडीले गरेका थिए । अब त्यो नाम पनि याद गर्नुस् । नाम हो, मुकेश शाही । उनले ४० औं मिनेटमा मनाङका लागि पहिलो गोल गरे अनि ६५ औं मिनेटमा दोस्रो गोल थपे । दुवै गोलका लागि पास उपलब्ध गराउने खेलाडी थिए, उनै मणि शाह । मणि नेपाली फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा राम्रा खेलाडी हुन् । मुकेश रहे, यिनै मणिका सबैभन्दा प्यारो साथी । आधुनिक नेपाली फुटबल इतिहासको सबैभन्दा सफल क्लब हो मनाङ । यसले कीर्तिमान आठपल्ट ‘ए’ डिभिजन लिग जितिसकेको छ । यो क्लबको जग बसाउने समयका खेलाडी हुन् मुकेश । अहिले उनी ५४ वर्ष पुगिसके । मज्जाले क्लब लेजेन्डभन्दा हुन्छ उनलाई ।


मनाङले ०४० सालमा ‘डी’ डिभिजन जित्यो अनि ०४१ मा ‘सी’ डिभिजन । उसले ०४२ मा ‘बी’ डिभिजन पनि जित्यो । यहाँसम्मको यात्रामा मनाङले एक गोल पनि खाएन । बरू हिसाब–किताब के छैन भने यसक्रममा क्लबले गोलचाहिँ कति गर्‍यो होला । यसपछि त सुरु भयो, ‘ए’ डिभिजनको यात्रा नै । ‘हामी त्यतिबेला कति धेरै बलियो टिम थियौं भनेर भनिसाध्य नै थिएन,’ मुकेश अहिले सम्झन्छन् ।


यो यात्रामा धेरै खेलाडीले साथ दिए । तर केहीले मात्र पूरा यात्रा गरे । त्यसमध्ये एक हुन् मुकेश । अरू दुई ठूला नाम विराटजंग शाही र अन्जित बस्नेत थिए । अन्जित त कप्तान पनि भए । भर्खर किशोर उमेर हुँदा घरछेउकै लैनचोरमा मुकेश फुटबल खेल्थे । पछि उनी खेल्न सानो गौचरण पुगे । त्यहाँ तीन टोलका खेलाडी जम्मा हुन्थे । सानो गौचरण त भयो नै । लैनचोर र पकनाजोलका पनि मिसिन्थे । सबै मिलेर नियमित खेल्थे । यस्तैमा कुरा निस्कियो, एउटा क्लब बनाऔं त । नाम जुर्‍यो, मर्स्याङ्दी मनाङ । नाम जुराउने काम टासी घलेले गरेका थिए । पछि यसलाई मनाङ मर्स्याङ्दी भनियो । यो त्यही बेला हो, जतिबेला ठमेल ११ प्रतिबन्धमा थियो । त्यसको केही वर्षमा अर्जेन्टिनाले सन् १९८६ को विश्वकप पनि जित्यो । डिएगो म्याराडोनाले सबैको मन जितेको थियो ।


त्यसैले क्लबले पनि रोज्यो, त्यही अर्जेन्टिनाकै जस्तो जर्सी, आकाशे रंगमा सेतो धर्सा । सुरुका दिनका ‘बी’ डिभिजनसम्म खेल्दा प्रशिक्षक थिए दार्जलिङका दोर्जे । ‘ए’ डिभिजन खेल्दा भने प्रशिक्षक थिए अमृत पन्त । त्यो ०४३ को लिगमा सहभागी कुल टिम थियो ११ । तिनलाई दुई समूहमा विभाजन गरिएको थियो । समूह ‘ए’ मा मनाङसँगै संकटा, एनआरटी योङ, आरसीटी, थ्रीस्टार र फ्रेन्ड्स क्लब । पहिलो खेल त फ्रेन्ड्सविरुद्ध नै भयो । लिग चरणका ५ खेलमध्ये मनाङ ३ मा विजयी रह्यो । बाँकी दुई बराबरीमा । त्यो समय एक जितको अंक थियो २ मात्र । मनाङ ८ अंकसहित समूह विजेता भयो । टिमका लागि मुकेशले ५ गोल गरे भने मणिले ४ । यस्तै विनोद आलेले १ र राजु गुरुङले २ ।


यो समूहबाट फ्रेन्ड्स दोस्रो भयो । अर्को समूहबाट एनआरटी र ब्वाइज स्पोर्टस अगाडि पुगे । त्यो चरणलाई सुपर लिग भनिएको थियो । त्यसमा अचम्मले सेमिफाइनल थियो, फाइनल पनि । सेमिफाइनलमा मनाङले ब्वाइज

स्पोर्ट्सलाई १–० ले पन्छाएको थियो र त्यसमा निर्णायक गोल उनै मुकेशको थियो । अर्को सेमिफाइनलमा फ्रेन्ड्सले एनआरटीलाई हरायो ।


फाइनलमा मनाङ फेरि एकपल्ट फ्रेन्ड्सलाई २–१ ले हराउन सफल रह्यो । खेल भएको थियो, महाराजगन्जको पुलिस एकेडेमीमा । मनाङले केसाङको गोलले सुरुआती अग्रता लिएको थियो, तर फ्रेन्ड्सले केही समय अन्तरमै बराबरी गोल फर्कायो । यो काम गरेका थिए पवन श्रेष्ठले । खेल अन्तिम समयतिर पुगिसकेको थियो । मुकेश आफ्नै पोस्टनजिक थिए । उनले मणिलाई आवाज लगाए, ‘म अगाडि बढ्दै छु ।’ मुकेश अगाडि नपुन्जेलसम्म मणिले मैदानको बीच भागमै केही समय बल दायाँबायाँ चलाए । अनि मणिले बल फ्रेन्ड्सको पोस्टतर्फ फाले । स्थिति केही समय यताउता भयो । त्यही बेला मुकेशले एयर बल पाए । त्यसलाई टुच्च हेड गरे । त्यसमा गति थिएन, मान्छे उफ्रिएर हिँडे जस्तै गरेर बलले विस्तारै टुकुटुक पोस्टको जालीलाई चुम्न पुग्यो । हेड गरेर लडेका मुकेशले त्यसलाई नजिकबाट हेरिइरहेका थिए । बलले के ठ्याक्कै जाली चुम्यो, रेफ्रीको सिठी पनि बज्यो । मनाङका बाँकी खेलाडी भूइँमा लडिरहेका मुकेशमाथि एकपछि अर्को गरेर चढिहाले ।


उनले के भयो केही क्षण विचार गर्नै सकेनन् । तर त्यो ऐतिहासिक क्षण थियो । जतिबेला मनाङले पहिलोपल्ट ‘ए’ डिभिजन जितेको थियो । दिन थियो, ०४३ सालको कात्तिक २१, शुक्रबार । उनले कुल ७ गोल गरेका थिए । भए लिगकै सर्वाधिक गोल गर्ने खेलाडी । यही टिमले ०४४ मा पनि फेरि लिग जित्यो अनि त्यही सफलता ०४६ मा पनि दोहोर्‍यायो । यसरी लिग उपाधिको ह्याट्रिक नै भयो । तर उनले त्यो ०४६ को लिग भने खेलेनन् ।


त्यही वर्षको छेउछाउमा उनले सगुन शाहीसँग विवाह गरे । निर्णय गरे, ‘अब म आफ्नै काममा लाग्छु ।’ हुन पनि त्यतिबेला फुटबल खेलेर कमाइ हुन्नथ्यो । उनले आफ्नो खेलजीवनको उत्कर्षमै खेल्न छाडे । त्यो अर्थमा उनको खेलजीवन निकै छोटो रह्यो, गाह्रो मानेर ६–७ वर्ष । त्यसबीच उनले एकैपल्ट मात्र नेपाली राष्ट्रिय टिमबाट खेले । त्यो पाकिस्तानविरुद्ध सन् १९८७ को ओलम्पिक छनोटको पहिलो चरण हो ।


मुकेश शाही (बीचमा)


पाकिस्तानविरुद्ध दुई लेगको खेल थियो । दुवै काठमाडौंमा भएको थियो । पहिलो खेल गोलरहित बराबरीमा टुंगियो भने अर्को खेलमा नेपाल १–० ले विजयी रह्यो । धीरेन्द्र प्रधानले कर्नरबाट त्यो निर्णायक गोल गरेका थिए । उनै धीरेन्द्रको स्थानमा उनी ७० औं मिनेटमा मैदान छिरे, वैकल्पिक खेलाडीका रूपमा । यो नै उनले जितेको एकमात्र क्याप रह्यो । त्यसपछि उनी नेपाली फुटबलबाट यसरी अलग भए कि विराट र अन्जितको समूहसँग पनि आफूलाई ‘हाई–हेल्लो’ मै सीमित राखे । किन हो, नेपाली फुटबलसँग उनलाई चित्त दुखेको थियो । तर यसबीच पनि मणिसँग उनको सम्बन्ध उस्तै रह्यो । कुनै त्यस्तो दिन पनि भयो, जतिबेला उनीहरूले एउटै कट्टु पालो पालो लगाए । ‘हाम्रो सम्बन्ध जति मैदानमा सुमधुर थियो, त्यत्तिकै नजिकको सम्बन्ध निजी जीवनमा पनि थियो,’ अहिले मुकेश सम्झन्छन् । मणिले गोल गर्‍यो भने सबैभन्दा बढी खुसी मुकेशलाई नै लाग्थ्यो । मुकेशले जति पनि गोल गरे, लगभग सबै मणिकै पासमा सम्भव भएका थिए ।


मणि आफैं भन्थे, ‘यी मुकेश निकै राम्रा खेलाडी हुन् ।’ तर मुकेश भन्छन्, ‘मणि पो राम्रो खेलाडी । उनी कति राम्रा फुटबल खेलाडी थिए भने उनीजस्ता अब्बल दर्जाका खेलाडी नेपाली फुटबलले सायद दोहोर्‍याएर पाउने छैन । उनलाई भगवान्‌ले फुटबल खेल्न यस धर्तीमा पठाएका थिए । उनको बायाँ खुट्टामा जादु थियो ।’ उनी केसम्म भन्छन् भने मणिले बल प्रहार गर्दा आउने आवाज पनि मीठो सुनिन्थ्यो । त्यसले जाली चुम्दा पनि गज्जबको ‘फिस्स...’ आवाज आउँथ्यो ।


निधनको केही दिनअगाडि मात्र मणि मुकेशलाई भेट्न गएका थिए । उनको लैनचौरको घरमा । मणिले भनेका थिए, केही कुरा सुनाउनु छ भनेर । तर त्यो के थियो, त्यो भने खुलाएनन् । आफूसँग त्यो कुरा पनि लगे । अहिले मुकेश मान्छन्, उनमा सायद कुनै ठूलै व्यथा थियो । जुन दिन मणिले यो संसारबाट बिदा लिए, मुकेशलाई असह्य पीडा भएको थियो । मुकेश यतिसम्म भन्छन्, ‘कसैले मलाई मणिको प्यारो साथी भनेर सम्झे पुग्छ ।’

प्रकाशित : माघ ४, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?