कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो, शृंखला १–१ को बराबरीमा

एएफपी

राजकोट, गुजरात — भारतले शुक्रबार दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा अस्ट्रेलियालाई ३६ रनले पराजित गरी शृंखला १–१ को बराबरीमा ल्याएको छ । उत्कृष्ट फर्ममा रहेका अस्ट्रेलियाका ब्याटिङ स्टार स्टिभ स्मिथको सानदार इनिङ्स पन्छाउँदै भारतले जित पाएको हो । 

भारतले अस्ट्रेलियालाई ३६ रनले हरायो, शृंखला १–१ को बराबरीमा

स्मिथले ९८ रन बनाए पनि ३ सय ४१ रनको विशाल लक्ष्य लिएर आएको अस्ट्रेलिया ४९.१ ओभरमा ३ सय ४ रनमा अलआउट भयो । स्मिथले १ सय २ बल खेल्दै ९ चौका र १ छक्का प्रहार गरे । उनले मार्नस लाबुसच्यानसँग तेस्रो विकेटमा ९६ रनको साझेदारी गर्दा अस्ट्रेलियाले जितको सम्भावना देखाएको थियो ।


लाबुसच्यानलाई रवीन्द्र जडेजाले आउट गरेपछि यो साझेदारी टुटेको थियो । ४७ बल खेलेका उनले ४ चौका प्रहार गरे । यसअघि ओपनरद्वय डेविड वार्नर १५ र कप्तान आरोन फिन्च ३३ रन बनाई आउट भए । एलेक्स केरी १८, एस्टन टर्नर १३, एस्टन एगर २५ रनमा आउट भए ।


रिचर्डसन ११ बलमा ४ चौका र १ छक्का प्रहार गरी २४ रनमा अविजित रहे । भारतका मोहम्मद सामीले १० ओभरमा ७७ रन खर्चेर ३ विकेट लिए । नवदीप सैनी, जडेजा र कुलदीप यादवले २–२ तथा जसप्रित बुमराहले १ विकेट लिए ।


यसअघि अस्ट्रेलियाले टस जितेपछि ब्याटिङमा आएको भारतले ३४०–६ को स्कोर बनाएको थियो । ओपनर शिखर धवनले ९६, केएल राहुलले ८० र कप्तान विराट कोहलीले ७८ रन बनाएपछि भारतले उत्कृष्ट पुनरागमन गरेको थियो । मुम्बईमा मंगलबारको पहिलो खेल भारत १० विकेटले हारेको थियो ।


रोहित शर्मासँग पहिलो विकेटमा ८१ रनको साझेदारी गरेका धवन १८ औं एकदिवसीय अन्तर्राष्ट्रिय शतक बनाउन थोरैले चुकेका थिए । कोहलीसँग पनि दोस्रो विकेटमा १ सय ३ रन जोडेका धवनले ९० बलको इनिङ्समा १३ चौका प्रहार गरे । तीव्र गतिका बलर केन रिचर्डसनको बलमा उनले मिचेल स्टार्कलाई क्याच दिन पुगे । ‘हामीले उत्कृष्ट पुनरागमन गर्न सक्यौं, त्यो नै प्रमुख हो । एकपटक जमेपछि हामीले उनीहरूमाथि दबाब बनाउन सफल भयौं,’ धवनले भने ।


रोहितले ४२ रन बनाए । ४४ बल खेलेका उनले ६ चौका प्रहार गरे । कोहलीले पनि आक्रामक खेल्दै ७६ बलको इनिङ्समा ६ चौका प्रहार गरे । एडम जाम्पाको बलमा स्टार्कले कोहलीको क्याच पनि लिए । तर बलिङमा स्टार्क जम्न सकेनन् । उनले १० ओभरमा ७८ रन खर्चेर कुनै विकेट लिन सकेनन् । रिचर्डसनले पनि २ विकेट लिन ७३ रन खर्चे । शृंखलाको तेस्रो तथा अन्तिम खेल आइतबार बेंग्लोरमा हुनेछ ।

प्रकाशित : माघ ४, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?