२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८८

कहाँ चुक्यो मछिन्द्र ?

राजु घिसिङ

काठमाडौँ — मछिन्द्रको लागि शुक्रबारको बिहानी नै शुभ भएन । टोलीका अधिकांश खेलाडी त्रिपुरश्वरकै होटलमा बस्छन्, उनीहरू करिब १ सय मिटर हिडेरै दशरथ रंगशाला प्रवेश गर्छन्, खेल्छन् । हिमालयन शेर्पाको टिम भने अभ्यास गर्ने मैदानको खोजीमा धुलिखेलमै बसेको छ ।

कहाँ चुक्यो मछिन्द्र ?

त्यहींबाट झन्डै २ घण्टाको बस यात्रापछि हिमालयन शेर्पा मैदानमा ओर्लने गर्दछ । अघिल्लो दिनदेखि निरन्तर परेको वर्षाले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार मछिन्द्रविरुद्ध हिमालयनको दशरथ रंगशालामा तय खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सारियो । मछिन्द्रका लागि मैदानको दूरी बढ्यो, बस नै चढ्नुपर्‍यो । हिमालयन शेर्पालाई भने बाटो छोटियो ।

छोटिएको बाटो र माघे झरीबीच हिमालयन शेर्पाले शीर्षस्थानको मछिन्द्रलाई सातदोबाटोको ‘अर्टिफिसयल टर्फ’ मा २–० ले स्तब्ध पार्‍यो । यससँगै हिमालयन शेर्पाले यो लिगमा पहिलो जित रच्ने क्रममा मछिन्द्रको अपराजित यात्रालाई सातौं चरणमा आएर पूर्णविराम लगाइदियो । यसअघि एक गोलमात्रै गरेको हिमालयन शेर्पा थप गोलका लागि मछिन्द्रकै सामना गर्नुपर्‍यो । हरेक खेलमा गोल गर्दै आएको मछिन्द्रको त्यो क्रम सातौं खेलमा आएर रोकियो ।

विनोद गुरुङको क्रसमा मछिन्द्रका डिफेन्डर पिटर सेगुनले पहिलो मिनेटमै आत्मघाती गोल गरेपछि हिमालयन शेर्पाले अनपेक्षित अग्रता लियो । सेगुनले हेडद्वारा ‘फ्लिक’ गरेको बल आफ्नै पोस्टमा जाली चुमेको थियो । अर्को गोलमा पनि सेगुनको ‘योगदान’ रह्यो । मैदानको मध्यभागबाट नीरज बस्नेतले प्रहार गरेको फ्रि–किकमा विजय श्रेष्ठले हेडद्वारा प्रहार गरेको बल सेगुनकै टाउकोमा लाग्दै गोलमा परिणत भएपछि २० औं मिनेटमै हिमालयन शेर्पाले २–० को अग्रता लियो ।

हिमालयन शेर्पाले दोस्रो खेलमा एपीएफविरुद्ध १–१ को नतिजा निकालेको थियो । त्यसमा त्रिदेव गुरुङले ४७ औं मिनेटमा गोल गरेका थिए । त्यसयता हिमालयनले पहिलोपल्ट गोल गरेको हो । उनै त्रिदेवले २६ औं मिनेटमा प्रहार गरेको बल आन्द्रेस निआले नरोकेको भए हिमालयनले अझै ठूलो अग्रता लिन सक्थ्यो । क्यामरुनी फरवार्ड स्टेफेन निलम्बनमा रहे पनि हिमालयनले उनको अभाव खट्कन दिएन । टोलीले सुधारिएको खेल पस्कियो, जुझारु प्रदर्शन गर्‍यो ।

छैटौं चरणसम्म सबैभन्दा बढी १० गोल गर्ने गर्ने क्लब हो मछिन्द्र । हिमालयन शेर्पा पुछारमा रहेको सरस्वतीसँगै सबैभन्दा कम १ गोल गर्ने क्लब रहेको थियो । यो सबै हिसाब सातौं चरणको पहिलो खेलमै फेरियो । पहिलोपल्ट च्याम्पियन बन्ने लक्ष्य बनाएको मछिन्द्र कहाँ चुक्यो त ?

‘लिगको सुरुदेखि नै हामीले प्रत्येक खेलमा पाएको मौकामा गोल गर्न सकेको छैन,’ यो लिगमा पहिलो हारपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले भने, ‘झन सुरुमै गोल खाएपछि हामीलाई गाह्रो भयो । दोस्रो हाफमा पाएको मौकामा चुक्नु दुर्भाग्य भयो ।’ मनाङ मर्स्याङ्दी र थ्रीस्टारका नाम चलेका खेलाडीहरूलाई भित्र्याएको मछिन्द्रको समस्या नै ‘स्कोरिङ’ मा हो । यसलाई उसले सातौं खेलसम्म आइपुग्दा पनि सुधार गर्न सकेको देखिएन । प्रशिक्षक कटुवालले भने, ‘सेन्टर फरवार्ड रेजिन सुब्बालाई खेलाएको हो । उनलाई अभिषेक (रिजाल), सुजल (श्रेष्ठ), एडेलाजा सोमिडेसँग वान–टु गर्दै खेल्ने सिकाएका थिए । तर, उनी धेरै बाहिर (पेनाल्टी क्षेत्र पछाडि) आएर खेलिदिए । उनले सेन्टर फरवार्डको भूमिकामा खेल्न नसक्दा गाह्रो भयो ।’


निलम्बनको पीडा

मनाङविरुद्ध २–२ मा टुंगिएको खेलपछि भएको झगडामा संलग्न डिफेन्डर देवेन्द्र तामाङ, विजय धिमाल र दीपक राई २–२ खेल निलम्बनमा परेका थिए । उनीहरूमाथि कारबाहीको अन्तिम खेल हो हिमालयनसँग । मिडफिल्डर हेमन गुरुङ अस्ट्रेलियामा छन् ।

‘यी चार खेलाडी हुँदा वैकल्पिक पनि राम्रो थियो । उनीहरू नहुँदा गाह्रो भयो,’ उनले भने, ‘निलम्बनमा परेका तीन खेलाडी अर्को खेलमा फर्कने छन् । त्यसैले पुलिसविरुद्ध पक्कै राम्रो हुनेछ ।’ देवेन्द्र नहुँदा उनले मिडफिल्डर आन्द्रेस निआलाई सेन्टरब्याकमा खेलाए । निआले राम्रै खेले पनि पिटर सेगुन फिक्का देखिए र त्यसको मूल्य मछिन्द्रले हिमालयन शेर्पासँग चुकाउनुपर्‍यो । ‘डिफेन्समा देवेन्द्र नहुँदा पिटरले सुरुबाटै मन दिएर खेलेजस्तो देखिएन । त्यो महत्त्वपूर्ण हुन्छ । सुरुमा सहज रूपमा लिँदा गर्दा गोल खायो,’ उनले भने ।

प्रशिक्षक कटुवालले हिमालयन शेर्पाको प्रदर्शनको प्रशंसा पनि गरे, ‘उसले पहिलाभन्दा राम्रो खेल्यो । उनीहरूलाई जित्नैपर्ने थियो, हार्दा पनि खासै थिएन, एउटा राम्रो टिमसँग हार्‍यो भन्ने हुन्थ्यो, त्यो भएर पनि राम्रो खेल्यो । मछिन्द्रले भन्दा एकदम राम्रो खेल्यो ।’ मछिन्द्र र एक खेल कम खेलेको आर्मीको १३–१३ अंक छ । आर्मी सोमबार च्यासलसँग कम्तीमा बराबरी नतिजा निकाल्दै शीर्षस्थानमा पुग्नसक्छ । मछिन्द्रको हारसँगै एक्लो अपराजित बनेको डिफेन्डिङ च्याम्पियन मनाङ (१२ अंक) पनि शनिबार थ्रीस्टारलाई पन्छाउँदै अगाडि बढ्नसक्छ । थ्रीस्टार (१०) पनि चिरपरिचित प्रतिद्वन्द्वीविरुद्ध ३ अंक जोड्न सके उपाधि होडमा हुनेछ ।


‘भाग्यको साथ’

‘आज भाग्य पनि लाग्यो, गेम पनि खेल्यो,’ हिमालयन शेर्पाका प्रशिक्षक सन्जीव बुढोथोकीले भने, ‘मछिन्द्रले गोल खाएको लामो लामो फ्रिकिकमा हो । सातौं खेलमा आएर च्याम्पियनको दाबेदारजस्तो राम्रो टिमलाई जित्नु धेरै राम्रो हो । पहिलो हाफमै अग्रता लिएकाले हामीलाई मौका थियो ।’

उनले थपे, ‘अलि मिहिनेत गर्‍यो, त्यसमा लक क्लिक भयो, दुई गोल गरिहाल्यौं ।’ जित्ने अवसर नगुमाउनका लागि अग्रता लिएपछि रक्षात्मक खेलेको पनि उनले बताए । ‘मुख्य फरवार्ड एडेलाजा र मिडफिल्डर विशाल राईलाई रोक्ने योजनामा पनि सफल भयौं,’ उनले सुनाए, ‘६ खेलसम्म जित्न नसक्दा धेरै दबाब लिएको थिएन । सबैले रेलिगेसनबारे सोच्थे । एक दिन नतिजा (जित) ल्याउँछौं भन्ने आस थियो ।’

आर्मी र ब्रिगेड ब्वाइजसँग हारेको हिमालयन शेर्पाले पुलिस, एपीएफ, फ्रेन्ड्स र मनाङसँग बराबरी खेल्यो । पछिल्ला तीन खेलमा गोल नबेहोरेका हिमालयनका गोलकिपर किशोर गिरीले मछिन्द्रविरुद्ध पनि उत्कृष्ट प्रदर्शन गरे । विशेषगरी दोस्रो हाफमा अभिषेक रिजाल, रेजिन सुब्बा र सुजल श्रेष्ठको प्रहारमा राम्रो बचाउ गरेका थिए । मनबहादुर तामाङको कप्तानीमा रहेको हिमालयनको डिफेन्स पनि संगठित देखियो ।

उपाधि होडमा अगाडि रहेका आर्मी, मछिन्द्र र मनाङविरुद्ध खेलिसकेपछि हिमालयनका प्रशिक्षक बुढाथोकीले भने, ‘मछिन्द्रको सबै पक्ष राम्रो छ, आक्रमण राम्रो छ, उसका १८ खेलाडी राम्रो छन्, जे पनि गर्न सक्छन् ।’ उनले एन्फा कम्प्लेक्सको खेलबारे भने, ‘मछिन्द्र धेरै राम्रो छ, हामीसँग मौका पाएको हो तर क्लिक गर्न सकेन ।’

प्रकाशित : माघ ४, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?