चिन्ता धोनीको भविष्यबारे- खेलकुद - कान्तिपुर समाचार

चिन्ता धोनीको भविष्यबारे

‘अहिले ‘विछोड’ जस्तो महसुस भइरहेको छ । तपाईंहरूलाई थाहा छ, यो दिन आउनेछ र निकै नजिक छ । तर यसको सामना गर्न कोही चाहँदैनन् ।’
एएफपी

नयाँदिल्ली — भारतका पूर्व कप्तान महेन्द्रसिंह धोनी करिअरको अन्त्यतिर छन् । तर पिचको एकछेउबाट उनको चोटिलो टिप्पणीलाई लामो समयदेखि गुमाइरहेका समर्थकले अनुमान लगाउन थालेका छन् कि उनी कसरी बाहिरिन चाहन्छन् । 

३८ वर्षे धोनीले भारतीय सेनाको जगेडा रेजिमेन्टको मानार्थ कर्णेलको रूपमा गत वर्ष द्वन्द्वग्रस्त कश्मीर इलाकामा समय बिताए । जसकारण उनले वेस्ट इन्डिजविरुद्धको शृंखला गुमाएका थिए ।


इंग्ल्यान्डमा भएको एकदिवसीय विश्वकप सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएयता धोनी ६ महिनादेखि भारतीय टोलीमा छैनन् । मंगलबार सुरु अस्ट्रेलियाविरुद्धको तीन एकदिवसीय खेलको शृंखलामा पनि उनी टिमबाहिर छन् । गत महिना उनले महिना दिनसम्म आफ्नो भावी योजनाबारे जानकारी नदिने बताएका थिए । तर भारतीय टिमको हरेक पत्रकार सम्मेलनमा उनीबारे प्रश्न सोधिने क्रम रोकिएको छैन ।


यस वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा भारतीय समर्थकको माग दृष्टिगत गरी विश्वकपमा धोनीको सहभागिताबारे अड्कलबाजी भएको छ ।


भारतका महान ब्याट्सम्यान सुनील गावस्कर टिममा लामो गैरहाजिरीले नै विकेटकिपर/ब्याट्सम्यान धोनीको धेरै विषय प्रस्ट भइरहेको बताउँछन् । ‘जुन प्रश्न अहिले उब्जिरहेको छ । वास्तवमा यसबारे धोनी आफूले आफैंलाई सोध्नुपर्ने कुरा हो,’ उनले भनेका छन्, ‘यति लामो समयसम्म कसैले आफैं भारतीय टिमबाट बाहिर बस्न चाहन्छ त ? यो एउटा प्रश्नमात्र होइन, उत्तर पनि हो ।’


धोनीले सन् २०१४ मा टेस्ट क्रिकेटबाट संन्यास घोषणा गरेका थिए । राष्ट्रिय टिमका मुख्य प्रशिक्षक रवि शास्त्रीका अनुसार धोनीले छिटै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट छाड्नेछन् । तर चेन्नई सुपर किंग्सबाट इन्डियन प्रिमियर लिगमा आसन्न पुनरागमनको अर्थ यो हुनसक्छ कि उनको अन्तर्राष्ट्रिय क्रिकेटमा अन्तिम कीर्ति आउन बाँकी छ ।


‘मैले धोनीसँग कुरा गरिसकेको छु र यो हामीबीचको मात्र थियो । सम्भवतः उनी आफ्नो एकदिवसीय क्रिकेट करिअर अन्त्य गर्दैछन्,’ शास्त्रीले भारतीय टेलिभिजनसँग भने, ‘यो उमेरमा सम्भवतः उनी एकमात्र फर्म्याटमा केन्द्रित हुन चाहन्छन् । त्यो हो ट्वान्टी–२० । यसको मतलब उनी अझै खेलिरहन चाहन्छन् । त्यसका लागि उनले ठूलो परीक्षाबाट गुज्रनुपर्नेछ । किनभने उनी आईपीएल खेल्दैछन् र उनको शरीरले कस्तो प्रतिक्रिया दिन्छ त्यो पनि हेर्नुपर्नेछ ।’


क्रिकेटको वर्चस्व रहेको भारतमा धोनी अर्का महान् सचिन तेन्दुलकरकै जस्तो विदाइको प्रतीक्षामा हुनसक्छन् । सन् २०१३ मा आफ्नो बिदाइका लागि आयोजित टेस्टअघि तेन्दुलकर पनि भविष्यलाई लिएर यस्तै चिन्तामा थिए । शास्त्रीले हालै धोनीको संन्यासबारे विभिन्न अड्कलबाजी गरिरहेका भारतीय सामाजिक सन्जाल प्रयोगकर्तालाई जवाफ दिँदै भनेका थिए, ‘अहिले ‘विछोड’ जस्तो महसुस भइरहेको छ । तपाईहरूलाई थाहा छ, यो दिन आउनेछ र निकै नजिक छ । तर यसको सामना गर्न कोही चाहँदैनन् ।’


धोनीको अनुपस्थितिमा भारतीय छनोटकर्ताले ट्वान्टी–२० मा विकेटकिपर/ब्याट्सम्यानको भूमिकामा ऋषभ पन्त र सन्जु सामसनजस्ता नयाँ प्रतिभालाई प्रस्तुत गरिरहेको छ । अहिलेसम्म यी दुईबीच को भन्ने निश्चित भएको छैन । धोनीले सन् २००७ मा पहिलो संस्करणको ट्वान्टी–२० विश्कप भारतले जित्दा टिमको नेतृत्व गरेका थिए । उनले सन् २०११ को एकदिवसीय विश्वकपमा छक्का प्रहार गरी उपाधि घरेलु टोलीलाई दिलाएर राष्ट्रिय नायकको छवि कायम गरेका थिए ।


धोनीले ३ सय ५० एकदिवसीय अन्तर्राष्ट्रियमा १० हजार ७ सय ७३ रन बटुलेका छन् । पछिल्लो विश्वकपमा उनको लयबारे सर्वत्र आलोचना भएको थियो । पछिल्लो समय विराट कोहलीले उनको योगदानलाई छायाँमा पार्न थालेका छन् । शनिबार श्रीलंकाविरुद्धको खेलमा ११ हजार रन पूरा गरेपछि धोनीको महानतामा ग्रहण लाग्न सुरु भएको छ । कोहली १ सय ९६ इनिङ्समै यो सफलताको हकदार बनेका थिए । जबकि धोनीले ३ सय २४ इनिङ्स खेल्नुपरेको थियो ।


तर धोनीको संन्यासबारे भारतीय क्रिकेट अधिकारी भने गम्भीर रहेको भान हुन्छ । भारतका नयाँ क्रिकेट प्रमुख सौरभ गांगुलीको प्रतिबद्धता छ कि धोनीजस्ता वरिष्ठ क्रिकेटरलाई सम्मान गरिनेछ र विश्व च्याम्पियनको कहिल्यै पतन हुँदैन ।

प्रकाशित : माघ २, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

थारूको माघी, मगरको सकराती

कान्तिपुर संवाददाता

काठमाडौँ — सबैजना मौलिक पहिरनमा चिटिक्क । कोही नाच्दै, कोही गाउँदै । लस्करै स्टल । मगर समुदायको मौलिक खान चाख्न मन छ कि ? थारू समुदायको घुँगी ? शनिबार राजधानीको टुँडिखेल यसरी उत्सवमय बन्यो । मगर र थारू समुदायले माघेसंक्रान्तिका अवसरमा आ–आफ्नो मौलिक पर्वलाई महोत्सवको रूपमा टुँडिखेलमा मनाएका हुन् । 

काठमाडौंको टुँडिखेलमा बुधबार माघी पर्व मनाउन आएका थारू महिला । तस्बिर : कान्तिपुर

मगर संस्कृतिकर्मी सन्जोग लाफाका अनुसार मगर समुदायले हरेक माघेसंक्रान्तिको दिन मौलिक पर्व ‘सकराती’ मनाउँदै आएको छ । यो अवसरमा आफन्त भेटघाट, खानपान र रमाइलो गर्ने परम्परा छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको टुँडिखेलको महोत्सवमा मगर समुदायले मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, झ्याउरे, टप्पा, सालैजोजस्ता नाच प्रस्तुत गरेका थिए । थारू समुदायको ‘माघी महोत्सव’ को उद्घाटन भने पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए ।

थारू समुदायले पनि विभिन्न मौलिक नृत्य र झाँकी प्रस्तुत गरेको थियो । महोत्सवमा विभिन्न परिकार बनाएर खाने प्रचलनअनुसार तरुल, सख्खरखण्ड, गिठ्ठा, भ्याकुर, खिचडी, घुँगीलागयत परिकार राखिएका थिए ।
त्यसैगरी हेटौंडामा पनि थारू समुदायको नयाँवर्ष माघी मनाइएको छ । हेटौडामा सांस्कृतिक झाँकी निकालेर थारू समुदायले नयाँवर्ष तथा दिदीभाइको सम्बन्ध प्रगाढ बनाउने माघी पर्व मनाएका हुन् । झाँकीसँगै उनीहरूले लाचारी गीतसँगै थारू पहिरनमा झमुको डण्डी नाच प्रस्तुत गरे ।

फेरिँदै माघी गीत
बर्दिया– पुर्खाले माघीमा परम्परागत मघौटा गीत गाउँथे । डफ बजाउँथे । घरघरमा गाएर धमार गाउँदै रमाइलो गर्थे । माघी स्नान गरेर आफूभन्दा ठूलालाई ढोग्दै आशीर्वाद लिन्थे । अचेल नयाँ पुस्ताले भने माघीको गीत फेरि दिएका छन् । हिन्दी, भोजपुरी र साउथ फिल्मका गीतहरूको कपी गर्दै माघी गीत गाउन थालेका छन् ।

कतिपयले यसरी नै म्युजिक भिडियो निकालेका छन् । माघीलाई लक्षित गरी केहीले यूट्युबमार्फत गीत सार्वजनिक गरेका छन् । यस्ता गीतमा पुरानो लोक पम्परा झल्किनुको सट्टा हिन्दी र भोजपुरीकै प्रभाव बढि देखिन्छ । नयाँ पुस्ताले डिजेमा गीत गाउन थालिसके । ‘धमार गीत गाउँमा सुन्नै छाडियो’, थारु समुदायमा प्रचलित संगीतका ज्ञाता गोविन्द चौधरीले भने, ‘केही पाकाले भने अझै धमार गाउने गरेका छन् ।’
उनका अनुसार माघीको गीतमा रमाइलोमात्रै होइन, दुःख र पीडा पोखिन्थे । खासगरी महिलाले भोग्नुपरेको पीडा गीतमार्फत पोखिन्थे–
मनमा सोंचु करम लागे आग, किहीन रे
लगाउ बदनामी हो
दुखकके दाहल गैनु मै नाइहर,
नइहरमा भौजी रिसानी हो
भौजी बिचारी मोर कौने करैदैया...
धमार गीतले भन्छ– मनमा सोंचे भाग्यमा लाग्यो आगो, कसलाई लगाउ बदनामी । दुःखको पीडाले म माइती गए, माइतीमा भाउजू रिसाउने, भाउजू बिचारीको पनि के गल्ती, मेरै भाग्यमा लाग्यो आगो । ‘यो गीतले महिलाले भोग्नुपरेको दुःख दर्साउँछ । तर, अचेल गुरीगुरी जाँर, सुँगुर सिकार खैली भन्दै डिजेमा चर्को गीत सुनिन्छ,’ चौधरीले भने ।

थारू समुदायमा महिना र मौसमअनुसारका गीत गाइन्छ । वर्षा, गर्मी, जाडो, बिहान, साँझ, दिउँसो, राति फरक–फरक गीत हुन्छन् ।

प्रकाशित : माघ २, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×