‘ए’ डिभिजन लिग : रातो कार्डको मूल्य

राजु घिसिङ

काठमाडौँ — आर्मीका डिफेन्डर युद्ध शाहीले संकटाविरुद्ध खेल सुरु भएको १० मिनेटभित्रै पहेँलो कार्ड पाइसकेका थिए । उनले दोस्रो हाफको सुरुमै लक्ष्मण रुचाललाई ‘फल’ हाने र उनलाई रेफ्री प्रज्ज्वल क्षेत्रीले दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाए । त्यतिबेलासम्म आर्मीले १–० को अग्रता लिएको थियो । तर, युद्धको त्यो रातो कार्डले खेलको कथा मोडियो ।

‘ए’ डिभिजन लिग : रातो कार्डको मूल्य

युद्धको त्यही फलमा मैदानको मध्यभागतिर पाएको फ्रि–किक अमित तामाङले प्रहार गरे, जसलाई आर्मीका डिफेन्डर सुमन अर्यालले पेनाल्टी क्षेत्रमा हातले रोकिदिए । त्यसमा प्राप्त पेनाल्टीलाई अमितले सहजै गोलमा परिणत गरे र संकटाले स्थिति सुधार्दै खेल १–१ को अवस्थामा ल्यायो ।

डिफेन्डर अमितको पेनाल्टीमा यो लिगमा दोस्रो गोलसँगै छैटौं चरणको अन्तिम खेल बराबरीमै टुंगियो । अमितले गत वर्षको लिगमा पेनाल्टीमा ५ गोल गरेका थिए । तर, उनी आर्मीसँग ५–१ ले हारेको खेलमा भने चुकेका थिए ।


संकटासँग अंक बाँडेपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले ‘एक खेलाडी कम हुनासाथ उनीहरूले (संकटा) बल छिटो चलाए, हामी तुरुन्तै दबाबमा पर्‍यौं । त्यसैमा पेनाल्टीको मौका पायो र गोल भयो । टर्निङ प्वाइन्ट नै त्यही (रातो कार्ड) भयो ।’ यसअघि दिनेश हेन्जनको क्रसमा नवयुग श्रेष्ठले हेडद्वारा आकर्षक गोल गर्दै आर्मीलाई २८ औं मिनेटमा अग्रता दिलाए । संकटाले पहिलो हाफमै पनि बराबरी गर्ने मौका पाएको थियो । अर्नेस्ट टम्पीको हेडरलाई गोललाइनबाट सन्तोष तामाङले क्लियर गर्दै विभागीयको टिमको संकट टारेका थिए ।

१० खेलाडीमा सीमित भए पनि आर्मीमाथि संकटा हाबी भएको पनि होइन । आर्मीले ८ मिनेटको इन्ज्युरी समयमा मात्रै गोलको तीन राम्रो अवसर उपयोग गर्न सकेन । त्यसैले ३ अंक जोड्न असफल भएपछि आर्मी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मंगलबार स्पष्ट अग्रतासहित शीर्षस्थानमा फर्किन सकेन । छैटौं चरणको खेल सकिँदा आर्मी र मछिन्द्रले १३–१३ अंक जोडेका छन् । गोलअन्तरका आधारमा मछिन्द्र शीर्षस्थानमा रह्यो । यी दुईलाई डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी (१२), थ्रीस्टार (१०) र जावलाखेल (९) ले पछ्याइरहेका छन् ।

‘प्रदर्शनप्रति पूर्णतः सन्तुष्ट छु,’ आर्मी प्रशिक्षक न्यौपानेले भने, ‘दबाब दिएर खेल्ने दर्शनमा आक्रमणमै केन्द्रित थियौं । त्यसमा सफल भएको हो ।’ दुई अंकको अग्रतासहित शीर्षस्थानमा उक्लने अवसर गुमाएपछि उनले थपे, ‘हामी उपाधि होडकै पथमा छौं । इन्ज्युरी (खेलाडीको) बढिरहेको छ, कार्ड थपिरहेको छ । हरेक खेल महत्त्वपूर्ण छ । अब च्यासलसँग खेल्दैछौं । योजना बनाएर उपाधि होडमा प्रतिस्पर्धा गरिरहेका छौं ।’


रेफ्रीप्रति आक्रोश

दशरथ रंगशालामा संकटाविरुद्ध १–१ खेलेपछि आर्मीका प्रशिक्षक नवीन न्यौपाने रेफ्रीप्रति आक्रोशित देखिए । उनीसहित टिम व्यवस्थापक चुनबहादुर थापालाई ‘टचलाइन’ मै पहेँलो कार्ड देखाएका रेफ्री प्रज्ज्वल थापाको निर्णयलाई ‘एकतर्फी’ भएको आरोप पनि लगाए ।

‘रेफ्रीको निर्णय एकतर्फी देखियो,’ पत्रकार सम्मेलनमै न्यौपानेले भने, ‘यो स्तरको खेल हुँदा परिपक्व रेफ्रीले खेलाउनुपर्छ । कार्ड दिनुपर्ने ठाउँमा दिनुपर्छ, नदिनुपर्नेमा पनि दिए । खेललाई सन्तुलनमा खेलाएनन् । हरेक ट्याकलमा हामीलाई कार्ड दिइयो, संकटालाई एउटा पनि कार्ड छैन । यो स्तरको कठिन खेल परिपक्व रेफ्री खेलाउनुपर्छ ।’ आर्मीलाई ५ (रातो कार्डसहित) पल्ट पहेँलो कार्ड दिएका रेफ्रीले पहिलो हाफको इन्ज्युरी समयमा संकटाका विष्णु सुनारलाई पनि पहेँलो कार्ड देखाएका थिए ।

उनले भने, ‘हामी उपाधि होडमा गइरहेका छौं । यस्तोमा हरेक खेल कठिन हुन्छ । कठिन हुँदै जाँदा इन्ज्युरी र यस्तो कार्डले समस्या हुँदै जान्छ । रेफ्रीले सन्तुलनमा खेलाउन सक्नुपर्‍यो । बी र सी डिभिजन खेलाएको रेफ्रीले यो स्तरको फुटबल खेलाउन सक्दैन ।’


फिफा रेफ्री सुदीश पाण्डे बंगबन्धु गोल्डकपका लागि बंगलादेशतर्फ गएकाबारे पनि उनले भने, ‘अहिले नेपालका उत्कृष्ट रेफ्री अवस्थामा सुदीशलाई बंगबन्धु खेल्न पठाइरहेको छ । मुख्य रेफ्री यही चाहिने अवस्थामा यो कस्तो हो ?’ रेफ्री पाण्डे लिगको तेस्रो र चौथो चरणमा पनि निर्णायकको जिम्मेवारीमा नभई पोखरामा भएको कार्यक्रममा रहेका थिए । उनीसँगै फिफा सहायक रेफ्री रोजेन श्रेष्ठ पनि बंगलादेश गएका छन् ।

उनले युद्धलाई दिइएको रातो कार्डबारे बोले, ‘टिमलाई घाटाभन्दा पनि युद्धले संकटाको मुख्य विदेशी खेलाडीलाई डिस्टर्ब गर्न दिइएको ड्युटी निभाइरहेका थिए । पहिलो ट्याकल कार्ड नै थियो । दोस्रो चाहिँ फिप्टी–फिप्टी थियो, पहिला नै पहेँलो कार्ड पाइसकेकोले नदिए हुन्थ्यो । घाइते हुने गरी ट्याकल हानेर रातो कार्ड खाएको भए म पनि सन्तुष्ट हुन्थें । त्यसमा रफ्रीको निर्णय ठीक लागेन ।’

संकटाका प्रशिक्षक विजय महर्जनले भने रेफ्रीप्रति बोल्न चाहेनन् । ‘रेफ्रीको निर्णयबारे खासै नभन्दा राम्रो होला,’ उनले भने, ‘९० मिनेट उनीहरूकै हो । विवाद गरेर फाइदा छैन ।’ उनले खेलबारे बोले, ‘अलि दबाबमा पर्‍यो । विपक्षी टिमको एक खेलाडी कम हुँदा पनि दबाब खायौं ।’ उनले नतिजाबारे थपे, ‘लिगमा १ अंक पनि महत्त्वपूर्ण हुन्छ, यसमा सन्तुष्टि नै मान्नुपर्छ ।’ आर्मी दस खेलाडीमा सीमित भएपछि मिडफिल्डर प्रह्लाद रोयलाई मैदानमा पठाए पनि प्रभाव देखान नसक्दा उनलाई अन्त्यतिर परिवर्तन गरिएको थियो । महर्जनले आर्मीको खेलको प्रशंसा पनि गरे, ‘आर्मी राम्रो छ, राम्रो खेल्यो । उसको टिमवर्क राम्रो छ ।’ उनको टिम २ जित, २ बराबरी र २ हारसँगै ८ अंकसहित आठौं स्थानमा छ ।


भरत ढले

आर्मीका कप्तान भरत खवास ८१ औं मिनेटमा मैदानमा प्रवेश गरेलगत्तै लक्ष्मण रुचालले प्रहार गरेको फ्रि–किकमा बलले मुखमा लागेपछि मैदानमै ढलेका थिए । केहीबेर रंगशालामा सन्नाटा छायो । एम्बुलेन्स मैदानमै पुग्यो । तर, उनी विस्तारै उठे । चार मिनेटपछि प्रतिस्पर्धामै फर्किए । ‘भरतलाई मैदानमा छिर्नेबित्तिकै बलले लाग्यो । त्यो बेला अचेतजस्तै भए । अहिले ठीक छ,’ आर्मीका प्रशिक्षक न्यौपानेले भने ।

प्रकाशित : माघ १, २०७६ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?