२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

आफ्नै खेलाडीसँग प्रशिक्षक थापाको आक्रोश

काठमाडौँ — कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सोमबार एनआरटीसँग १–० ले पराजित भएपछि पूर्व च्याम्पियन नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्त थापा निकै आक्रोशित थिए । उनको आक्रोश अरुसँग होइन, आफ्नै खेलाडीसँग थियो । थापाको निष्कर्ष थियो, विपक्षीले राम्रो खेलेर हारेका हैनौं, आफ्नै खेलाडीको खराब प्रदर्शनका कारण ३ अंक गुमेको हो । 

आफ्नै खेलाडीसँग प्रशिक्षक थापाको आक्रोश

खेलपछि प्रशिक्षक थापाले जारी लिगमा सोमबार आफ्नो टिमले सबैभन्दा खराब खेल खेलेको स्विकारे । ‘आजको खेल कस्तो भयो’ भनेर सोधिएको प्रश्नमा उनले भने, ‘यही प्रश्न म मेरा खेलाडीलाई सोध्न लागिरहेको छु कि आज कस्तो खेल खेलेको ?’


थापाले आफ्नो टिमले क्षमताअनुसार ४० प्रतिशत पनि प्रदर्शन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे । ‘हामी ३ अंकलाई आएका थियौं र त्यो हाम्रा लागि निकै महत्त्वपूर्ण थियो । तर हामीले अपेक्षा गरेका सिनियर खेलाडीबाटै ठोस प्रदर्शन आउन सकेन,’ निकै असन्तुष्ट देखिएका पूर्व डिफेन्डर थापाले भने, ‘आज एनआरटीले राम्रो खेलेको होइन, हामीले खराब खेलेर हार्नुपरेको हो । हाम्रा खेलाडीले एकरुपको प्रदर्शन गर्न जरुरी छ । आगामी खेललाई गम्भीर समिक्षाको जरुरी भइसकेको छ ।’


यो हारले छैटौं चरणको खेल सकिँदा पुलिस सातौं स्थानमा छ । ६ खेलबाट २ जित, २ हार र २ बराबरीपछि पुलिसको ८ अंक छ । अघिल्लो संस्करणको लिगमा अन्तिममा रहेपछि जरिवाना बेहोरेको २ अंक घटाएर एनआरटीको पनि ८ अंक भएको छ । ६ खेलबाट टोलीको ३ जित, २ हार र १ बराबरीको नतिजा निकालेको छ ।


‘हामीले च्याम्पियन बन्ने लक्ष्यसाथ लिग सुरु गरेका थियौं । आजको जस्तो खेलले त रेलिगेसन टार्न पनि कठिन हुने अवस्थामा पुगेका छौं,’ खेलाडी हुँदा पुलिसबाट ‘ए’ डिभिजन लिग जितेका थापाले थपे, ‘यस्तो त पुलिसको खेल नै होइन । पुलिसको आफ्नै ब्रान्ड छ, त्यसअनुसार खेल्न सकिरहेका छैनन् । पास छैन, मुभमेन्ट छैन, तालमेल छैन । यस्तोमा कसरी राम्रो प्रदर्शन आस गर्न सकिन्छ ?’


ठीक विपरीत एनआरटीका प्रशिक्षक राजुकाजी शाक्य भने कमजोर प्रदर्शनका बाबजुद टिमले ३ अंक जोड्न सफल भएकोमा खुसी देखिए । १२ महिना प्रशिक्षण गर्न पाउने विभागीय टोलीलाई माथ दिन सकेकामा आफ्ना खेलाडीप्रति उनी सन्तुष्ट थिए । ‘आज मेरा खेलाडीले सोचेअनुसार खेलेका होइनन् । तर हाम्रा लागि ३ अंक महत्त्वपूर्ण हो । दुई खेलाडी पहेँलो कार्डको प्रतिबन्धमा थिए । उनीहरूलाई प्रतिस्थापन गरेकाले राम्रो प्रदर्शन गरे,’ उनले थपे, ‘प्रशिक्षणका लागि मैदान खोज्दै हिँड्नुपर्ने स्थितिको हाम्रो टिमले वर्षैभर प्रशिक्षण गर्ने टिमलाई हराउन सक्नु, योभन्दा राम्रो नतिजा अरु के हुन्छ ?’


दशरथ रंगशालामा पहिलो हाफ दुवै टोलीले गतिलो आक्रमण बुन्न सकेन् । दोस्रो हाफमा पुलिसले गोलका दुई राम्रो अवसर खेर फालेको थियो । एनआरटीले पाएको एउटै अवसरमा गोल गर्न सक्यो । ४९ औं मिनेटमा तेज तामाङको कर्नरमा अन्जन राईको हेडर एनआरटीका गोलरक्षक अजित प्रजापति बिट भइसकेको अवस्थामा एरिक विष्टले गोललाइनबाट क्लियर गरिदिए । खेलको इन्ज्युरी समयमा तेजकै ब्याकपासमा अन्जनले करिब २५ यार्डबाट गरेको प्रहार बारमा लागेर बाहिरिएको थियो ।


७६ औं मिनेटमा एनआरटीले पाएको गोल अवसरमा दर्शन गुरुङले आकर्षक गोल गरे । राजेश परियारले मध्यक्षेत्रबाट पुलिसका डिफेन्डरलाई नघाएर दिएको लामो पास सदुपयोग गरेका दर्शनले पेनाल्टी एरियाबाट गोल गरेका हुन् ।


एपीएफ र च्यासलको बराबरी

सन्तोष साहुखलले ए डिभिजन लिगमा गोलको शतक पूरा गरे पनि च्यासल युथ क्लबले जारी सिजन अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेको छैन । टोलीले सोमबार एपीएफसँग गोलरहित बराबरी खेलेको छ । च्यासलको यो लिगमा तेस्रो बराबरी हो । च्यासल टिममा क्षमतावान युवा खेलाडीको नेतृत्व सन्तोषले गरिरहेका छन् । च्यासल खेलमा आधा दर्जनजति अवसरमा चुक्यो ।

दशरथ रंगशालामा सोमबार सहिद स्मारक लिगमा भिड्दै एपीएफ (सेतो) र च्यासलका खेलाडी ।


च्यासलका प्रशिक्षक बालगोपाल साहुखलले पनि नतिजाको हिसाबमा टिमको प्रदर्शन खराब रहेको स्विकारे । ‘आजको खेल हाम्रा लागि जित्नैपर्ने थियो । नतिजाको हिसाबमा यो खराब हो । हाम्रा खेलाडीले आक्रामक भएर खेल्न सकेनन् । रेफ्रीको निर्णय पनि निष्पक्ष देखिएन । लिगको सुरुदेखि नै रेफ्रीको निर्णयमा मैले प्रश्न उठाइरहेको छु,’ उनले थपे, ‘हाम्रो सुरुआत राम्रो थियो । विपक्षीले भन्दा हामीले राम्रो खेलेका हौं । तर पाएका अवसरमा चुक्यौं ।’ प्रशिक्षक साहुखलले सन्तोषलाई सहयोग गर्ने स्ट्राइकरको अभावमा फिनिसिङको समस्या रहेको दोहोर्‍याए ।


एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले भने रणनीति सफल भएको दाबी गरे । ‘च्यासल हाम्रो तुलनामा निकै बलियो टोली हो । सन्तोषसहित क्षमतावान खेलाडी छन् । खेलमा पनि अधिकांश समय बल उनीहरूकै पक्षमा थियो । आज मैले अनुभवी खेलाडीलाई आराम दिएर युवा खेलाडीमाथि प्रयोग गरें । हामी रणनीतिमा सफल भयौं,’ खेलपछि तामाङले भने ।


प्रशिक्षक तामाङले स्टार खेलाडीहरू नहुँदा आफ्नो टिम कमजोर बनेको स्विकारे । ६ खेलबाट च्यासलको ६ र एपीएफको ५ अंक रहेको छ  ।

प्रकाशित : पुस २९, २०७६ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?