१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

स्टार र लयबिनाको थ्रीस्टार

राजु घिसिङ

काठमाडौँ — घरेलु फुटबलमा लोकप्रियता र व्यावसायिक हिसाबमा मनाङ मर्स्याङदीलाई टक्कर दिने क्लब हो थ्रीस्टार । उसको खल हेर्न पाटनका स्थानीयमात्रै होइनन्, उपत्यका र बाहिरका हजारौं दर्शक रंगशाला धाउने गर्थे । तीनपल्ट ‘ए’ डिभिजन लिग च्याम्पियन भएको थ्रीस्टारको खेल पनि मोहित पार्ने खालकै हुन्थ्यो । टोली स्टार खेलाडीले भरिएको हुन्थ्यो ।

स्टार र लयबिनाको थ्रीस्टार

राष्ट्रिय टिममा पनि थ्रीस्टारकै खेलाडीको बाहुल्य थियो । अहिले चलिरहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा थ्रीस्टारको खेल हेर्ने हो भने यी सबै कथा हुन्‌जस्तो लाग्छ । न ‘थ्रीस्टार, थ्रीस्टार...’ भन्दै हुटिङ गर्ने हजारौं दर्शक आउँछन्, न त क्लबकै खेल ‘वाह’ भन्ने खालको नै छ ।

यो लिगमा मनाङलगायत सबै क्लबको खेलमा पनि दर्शकको खडेरी देखिएको छ । खेल पनि खस्किएकै छ । सँगसँगै थ्रीस्टार पनि त्यही बाटोतिर गएको छ । राष्ट्रिय टिमका सेन्टरब्याक अनन्त तामाङसहित विक्रम लामा, उदीयमान मिडफिल्डर मानिएका मिक्चेन तामाङ थ्रीस्टारमा छन् । तर, उनीहरू धेरैजसो खेलमा कतै मैदानभित्रै हराइरहे जस्तो देखिन्छन् । पहिलाजस्तो स्टार खेलाडीको लस्कर पनि छैन । धेरै टाढा पनि नजाऔं, गत वर्षकै लिगमा जस्तो कागजी रूपमै भए पनि उत्कृष्ट खेलाडीहरूको टिम भन्ने खालको छैन थ्रीस्टार । यसको प्रभाव खेलमा देखिएको छ, जसलाई नतिजाले पनि प्रस्टै पार्छ ।

चौथो चरणमा आर्मीविरुद्ध थ्रीस्टारको प्रतिस्पर्धा यसपालिको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा हालसम्मकै उत्कृष्ट खेल मानिन्छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सा भएको त्यो खेल निलम्बनबाट फर्किएका सन्तोष तामाङको उत्कृष्ट लयसँगै आर्मीले २–० ले जितेको थियो । त्यो खेललाई लिएर थ्रीस्टारका प्रशिक्षक मेघराज केसी भन्छन्, ‘हामीले उत्कृष्ट खेल आर्मीसँग खेल्यौं । तर, त्यसमा आर्मीको वर्चस्व थियो । थ्रीस्टारको उत्कृष्ट प्रदर्शन आउनै बाँकी छ ।’

थ्रीस्टार लयमा फर्किन्छ चाहिँ कहिले ? र, कसरी ? जवाफका लागि बाँकी ७ मा उसले गर्ने मैदानी प्रदर्शन र हात पार्ने नतिजाको प्रतीक्षा गर्नैपर्छ ।


छैटौं खेलमा आइपुग्दा पनि थ्रीस्टारले लय समात्न सकेको छैन, जहाँ उसलाई आइतबार छिमेकी फ्रेन्ड्सले १–० ले स्तब्ध पार्‍यो । फ्रेन्ड्सले थ्रीस्टारविरुद्ध ‘ए’ डिभिजन लिगमा तीन दशकयताकै पहिलो जित निकालेको हो । यो लिगमा दोस्रो हारपछि थ्रीस्टारले शीर्षस्थानको मछिन्द्रसँग अंक बराबरी गर्ने मौका गुमायो । ‘फ्रेन्ड्ससँग हार्नुपर्ने खेल त होइन नै,’ प्रशक्षिक केसीले भने, ‘यो खेल जितेको भए प्रश्न उठ्दैन थियो । हारेपछि उपाधि होडबाट छुट्यौं कि भन्ने भयो ।’

आर्मीले मंगलबार संकटालाई पराजित गर्‍यो भने थ्रीस्टार ५ अंकले पछाडि पर्नेछ । जावलाखेलसँग गोलरहित खेल्दै लिग यात्रा थालेको थ्रीस्टारले पुलिस, एपीएफ र ब्रिगेड ब्वाइजलाई हराएर १० अंक जोडेको छ । उनी आशावादी छन् । भन्छन्, ‘अझै एउटा खेलले मात्रै पछाडि छौं । शीर्ष टिमहरूसँग खेल्न (मछिन्द्र, मनाङलगायत) बाँकी नै छ । त्यसैले एकदमै पछाडि धकेलिसकेको छैन । मिहिनेत गर्‍यो, एकदम राम्रो गर्‍यो भने हामी अझै उपाधि होडबाट छुटिसकेका छैनौं ।’

कुनै पनि क्लबको प्रदर्शन एकरुपको छैन । निरन्तर सुधार कुनै पनि टिममा देखिएको छैन । उनी पनि डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी र थ्रीस्टारबाट नाम चलेका खेलाडीहरू लिएको मछिन्द्र र आर्मीलाई बलियो मान्छन् । उपाधि होडबारे उनी भन्छन्, ‘खेलाडीको हिसाबले मछिन्द्र राम्रो छ, उसको बेन्च पनि बलियो छ । प्रदर्शनको हिसाबले आर्मी बलियो देखिएको छ ।’

‘नेपालमा यो टिमले यसै गर्छ भन्ने अवस्था छैन किनभने अघिल्लो खेलको तुलनामा अर्को खेलमा ३० प्रतिशत पनि नखेल्ने देखिरहेका छौं,’ प्रशिक्षक केसीले भने, ‘हाम्रोमात्रै होइन, अरु क्लबको अवस्था पनि उस्तै हो । त्यसैले अहिले नै यो क्लब यही स्थितिमा हुन्छ भन्न सक्दैनौं । यहाँ सिजनमा कस्तो र कसरी परिवर्तन हुन्छ भनेर थाह पाइँदैन ।’


चर्चितहरूको बिदाइ

२०५४, ०६१ र ०६९ सालको च्याम्पियन थ्रीस्टार ८ जित, २ बराबरी र ३ हारसँगै ए डिभिजन लिग २०७५ मा तेस्रो भएको थियो । खेलाडीको नाम र बजेट हिसाबले थ्रीस्टार ठूलै टिम थियो । नतिजालाई लिएर केही खेलाडीले ‘धोका’ दिएको भन्दै क्लबमा ठूलै चर्चा भयो । त्यसैले हुनसक्छ, उसले यसपालि चर्चित खेलाडीहरूलाई राख्न बजारमा चलखेल नै गरेन, मिहिनेत नै गरेन, भाउ लगाएन ।

गोलकिपर एलन नेउपाने, मिडफिल्डर सुनील बल र तेस्रो रोजाइका किपर अभिषेक बराल ललितपुरकै अर्को क्लब च्यासलमा पुगे । गत वर्षका उत्कृष्ट डिफेन्डर रन्जित धिमालसहित विजय धिमाल, बुद्ध चेम्जोङ र पिटर सेगुनले मछिन्द्र रोजे । फरवार्ड अजयी मार्टिन्स संकटा गए । थ्रीस्टारले उनीहरूलाई पाटनमै राख्न खासै प्रयास गरेन । फरवार्ड हामजाट वासिउ (नाइजेरिया), मिडफिल्डर एइलिउलेडिरन एरिनोसो (नाइजेरिया) र क्यामरुनी गोलकिपर येभेस प्रिसोलाई भित्र्याएको थ्रीस्टारले अनन्त, कप्तान विक्रम, मिक्चेन, अनुभवी मिडफिल्डर रुपेश केसीलाई राख्यो । हालका २५ खेलाडीमध्ये अरु सबै जुनियर हुन् ।


जुनियरमा विश्वास

२०७१ देखि ०७४ सम्म ए डिभिजन लिग नहुँदा खेलाडी उत्पादनमा असर परेको उल्लेख गर्दै प्रशिक्षक मेघराज केसीले भने, ‘लामो समय फुटबल निरन्तर नहुँदा खेलाडीको एकदमै अभाव भयो । एउटा स्तरका ३५–४० खेलाडी छन् । हामीले त्यसलाई छाडेर नयाँ खेलाडीहरूलाई विश्वास गरेको हो । किनभने एएफसी कप (महादेशीय प्रतियोगिता) छैन, विजेताले पुरस्कार पनि ५० लाखमात्रै पाइन्छ । उपाधिको लक्ष्य बनाउन क्लबले करोडौं खर्च गर्नुपर्ने र लिगपछि के भन्ने नभएपछि युवा खेलाडीलाई लिइएको हो ।’

थ्रीस्टारबाट बाहिरिएका खेलाडीहरूबारे उनी भन्छन्, ‘मछिन्द्र र च्यासलमा उनीहरूले गरिरहेको प्रदर्शनलाई हेरेका छौं, त्यस्तो उत्कृष्ट छैन । तैपनि अनुभवको हिसाबले केही असर त पर्छ नै, देखिरहेको छ । त्यो स्तरका खेलाडीहरूलाई राख्न करोडौं लगानी गरेर क्लबलाई रिटर्न के त ? त्यसैले नयाँलाई विश्वास गरिएको हो ।’ आफ्नो टिमका थुप्रै खेलाडीले ‘ए’ डिभिजन यसैपालि खेलिरहेको उल्लेख गर्दै उनले भने, ‘कति खेलाडी त पोहोरसम्म सी डिभिजन खेल्दै थिए । उनीहरूमा सम्भावना छ तर समय लाग्छ । यी खेलाडीहरूलाई १–२ साल जोगाउनुपर्छ ।’

थ्रीस्टारका अध्यक्ष अरुणमान जोशीका अनुसार यो लिगमा ८० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च हुनेछ । त्यस्तो बलियो टिम नभए पनि थ्रीस्टारले लिगअघि च्याम्पियन बन्ने लक्ष्य राखेको थियो । तर, झण्डै आधा खेल सकिँदा धर्मराएको छ । ‘राम्रो टिम राखेर राम्रो नतिजा आउने निश्चित छैन, तनाव किन लिने ?,’ प्रशिक्षक केसीले भने, ‘थ्रीस्टार उपाधि होडमा नजाने, टिक्नेमात्रै पक्कै होइन तर नयाँ खेलाडीलाई लिएर राम्रो अवस्थामा पुग्ने भन्ने लक्ष्य हो । जतिसक्दो राम्रो नतिजा ल्याउने छौं ।’

अहिलेको टिमबाट अपेक्षिकत प्रदर्शन नहुँदा उनी चिन्तित छन् । भन्छन्, ‘नयाँ सुसान श्रेष्ठ, विजय भुजेलले एकदमै राम्रो गर्नुपर्ने हो, भइरहेको छैन । मिक्चेन सोचेअनुरुप छैनन् । विक्रम र अनन्त पनि कुनै खेलमा एकदमै राम्रो कुनैमा नयाँ खेलाडीलेजस्तै गल्ती गरिरहेका छन् । यो लिग सकिने बेला ८–१० जना खेलाडी परिपक्व हुन्छन्, जो नेपालमा राम्रो खेलाडी बन्न सक्छन् जस्तो लाग्छ ।’


विदेशीको चिठ्ठा’

‘हाम्रो लागि राम्रो विदेशी खेलाडी पाउनु भनेको चिठ्ठा परेजस्तो हो,’ प्रशिक्षक केसीले भने, ‘विदेशमा व्यावसायिक फुटबल खेलिरहेको राम्रो खेलाडी नेपालमा क्लबहरूले धान्न सक्दैनन् । बरु यहाँ आएर उदय भएर जालान् ।’

स्वदेशीमात्रै होइन, थ्रीस्टारमा विदेशी खेलाडीले पनि खासै गतिलो खेल देखाउन सकेका छैनन् । ‘गोलकिपर (प्रिसो) राम्रो छ, प्रभावशाली देखिएका छन् । मिडफिल्डर एरिनोसो) पनि उत्कृष्ट थियो तर चोट लागेपछि रिकोभरी हुन सकेका छैनन् । उनी फिट हुँदा स्ट्राइकर (वासिउ) पनि राम्रो थियो । तर, एरनोसो नहुँदाको असर वासिउमा पनि देखिएको छ ।’

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाली यू–२३ टिमले भुटानलाई २–१ ले हराएर स्वर्ण पदक जितेको थियो । १५ मंसिरमा सकिएको उक्त प्रतियोगिताले पनि लिगको तयारीलाई प्रभावित पारेको उल्लेख गर्दै प्रशिक्षक केसीले भने, ‘झन्डै एक महिना तयारी गरे पनि नेपालमा समस्या राष्ट्रिय टिमका खेलाडी क्लबले धेरैजसो पाउँदैन । १३ औं सागपछि हाम्रो तीन खेलाडी (विक्रम, अनन्त, मिक्चेन) सिधै खेलमा आइपुगेका हुन् । जुनियर खेलाडीले मात्रै ट्रेनिङ गर्न पाए ।’


ए डिभिजन लिग २०७६ - थ्रीस्टारको प्रदर्शन

०–० जावलाखेल

१–० पुलिस

१–० एपीएफ

०–२ आर्मी

३–१ ब्रिगेड ब्वाइज

०–१ फ्रेन्ड्स

प्रकाशित : पुस २९, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?