जनज्योतिलाई क्विक्स कप

काठमाडौँ — महिला फुटबलमा रौतहटको वर्चस्व रहँदै आएको छ । बाँकेको जनज्योति पब्लिक हाइस्कुलले केही हदसम्म त्यो वर्चस्वलाई तोडेको छ । जनज्योतिले रौतहटको दुर्गा माविलाई आइतबार फाइनलमा २–१ ले पराजित गरी क्विक्स अन्तरविद्यालय छात्रा फुटबल प्रतियोगिता जितेको छ । 

जनज्योतिलाई क्विक्स कप

देशभरका ३ सय विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए । जिल्ला, प्रदेश हुँदै राजधानीमा फाइनल चरणको खेलमा दुर्गा माविले समूह चरणमा जनज्योतिमाथि १–० को विजय हात पारेका थिए । सुनीता ब्लोनले २६ औं मिनेटमा गरेको गोलमा दुर्गा माविले इतिहास दोहोर्‍याउने सम्भावना देखाएको थियो ।

तर कप्तान दीक्षा खाँणले मध्यान्तर हुनु ठीकअघि गरेको गोलमा बराबरीमा आएको जनज्योतिबाट एलिशा थापामगरले ५१ औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । निर्धारित ७० मिनेटको खेलमा दुर्गा माविलाई नियन्त्रणमा राखेको जनज्योतिले उल्टो दबाबहरू बनाई गोलको नजिक पुगेको थियो ।


उपाधिसँगैं जनज्योतिलाई ३ लाख र दुर्गा माविलाई १ लाख ५० हजार प्रदान गरिएको थियो । तेस्रो स्थान हात पारेको कैलालीको महादेव सेकेन्डरी स्कुलले सुनसरीको ज्वालामुखी सेकेन्डरी स्कुललाई १–० ले पराजित गरी तेस्रो स्थान हात पारेको छ । प्रतीक्षा चौधरीले ४८ औं मिनेटमा खेलको एक मात्र गोल गरेकी थिइन् । महादेवले ७५ हजार र ज्वालामुखीले ५० हजार नगद पायो ।


युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा भएको प्रतियोगितामा विजेता जनज्योतिकी विनिशा सुनार उत्कृष्ट गोलरक्षक, कप्तान दीक्षा खाँण उत्कृष्ट फरर्वाड तथा अमित केसी उत्कृष्ट प्रशिक्षक बने । महादेवकी प्रतीक्षा चौधरी उत्कृष्ट रक्षक र दुर्गा माविकी सुनीता सुनुवार उत्कृष्ट मिडफिल्ड भइन् ।


विजयी खेलाडीलाई सीजी ग्रुपका वरिष्ठ महाप्रबन्धक विश्वास राई, कार्यबाहक महाप्रबन्धक लालबाबु प्रसाद, अखिल नेपाल फुटबल संघको कार्यबाहक उपाध्यक्ष पंकज नेम्बाङ, सहयाक महासचिव एवं प्रतियोगिता समितिका संयोजक अरुणमान जोशी, महिला फुटलबका प्रमुख हरि खड्का, महिला फुटबल संघका अध्यक्ष विन्द्रा देवान र एन्फा महिला समितिका अध्यक्ष पेमा लामालगायतले पुरस्कार वितरण गरे ।


प्रकाशित : पुस २८, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?