३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

लिगको ‘विज्ञान’

अहिले लिग जसरी भइरहेको छ, त्यसमा सुधार आवश्यक छ । यसमा नपुगेका, नआँटिएका, गर्न नसकिएकादेखि गर्न नखोजिएका धेरै पक्ष छन् ।
निचोडमा भन्दा लिगको ‘विज्ञान’ मिलिरहेको छैन, अझभन्दा लिगको ‘केमेस्ट्री’ फिक्का छ । त्यो ‘विज्ञान’ लाई मिलाउने काम उनै विज्ञानराज शर्माको काँधमा छ ।
हिमेश

काठमाडौँ — नेपाली फुटबल इतिहासको एउटा बाक्लै अध्याय हो, ब्वाइज युनियन क्लब । त्रिपुरेश्वरको दशरथ रंगशाला छेउकै ब्वाइज युनियनबारे उल्लेख भएन भने नेपाली फुटबल इतिहास पूरा हुँदैन । यसको पारम्परिक जर्सी कस्तो छ, कसैलाई याद छ ? यसले पहेँलो जर्सी लगाउने गर्छ ।

लिगको ‘विज्ञान’

जस्तो, ब्राजिली टिमले लगाउने गर्छ । विज्ञानराज शर्माले ब्वाइज युनियनबाट खेल्दा अहिले जस्तो बहुराष्ट्रिय कम्पनी ‘केल्मे’ को जर्सी थिएन, न त एडिडासकै ।


यो समय हो, ०३६ सालवरिपरिको । उनलाई एउटा घटना राम्रोसँग याद छ । त्यो हो, बाहुलाको भित्री गञ्जीलाई बेसार पानीमा डुबाएर पहेँलो जर्सी बनाएको । के त्यतिबेला सोचिएको थियो होला र कुनै दिन खेलाडीले राम्रा र महँगा जर्सी पनि लगाउने छन् भनेर ? अहिले त धेरैका लागि उनी ‘विज्ञान दाइ’ भए । नत्र यी विज्ञानराजले सानो छँदा आठ संस्करणको लिग खेले । कहिल्यै पनि पारिश्रमिक लिएनन् । लिएनन् भन्दा पनि पाएनन् । किनभने दिने चलन नै थिएन ।


बरु उल्टै उनले नै खर्च गरे होलान् । त्यतिबेला न सुविधा थियो, न त अवसर । तर एउटा तथ्य भने गज्जब थियो । त्यो थियो क्लबप्रतिको माया, समर्पण र समर्थन । जुन दिन ब्वाइज युनियनको खेल हुन्थ्यो, त्यतिबेला पूरा त्रिपुरेश्वर टोलको माहोल नै बेग्लै हुन्थ्यो । चहलपहल खुबै हुन्थ्यो । फुटबललाई माया गर्ने कसैले पनि सुँघेर अनुभव गर्नसक्थे, हावामा यो खेलको मोहकता । ‘ओहो, ती दिन पनि थिए र आज पनि छ,’ भावुक हुँदै सम्झन्छन् उनी ।


विज्ञान त्यतिबेला भर्खरको अल्लारे थिए । उनले २०३६ देखि ०४३ सालसम्म लगातार सहिद स्मारक लिग ‘ए’ डिभिजन खेले । सुरुमा खेल्दा उनी १६ वर्षका मात्र थिए । उनले पुलिसमा प्रवेश गर्नुअगाडि अन्तिम पटक लिग खेल्दाको वर्ष नेपाली फुटबलमा मनाङ मर्स्याङ्दीको उदय भएको समय थियो । त्यही संस्करणमा त हो, मनाङले पहिलोपल्ट ‘ए’ डिभिजन खेलेको । र, जितेको पनि । ब्वाइज युनियनले जम्माजम्मी एकपल्टै मात्र ‘ए’ डिभिजन जितेको छ । त्यो वर्ष हो, ०३२ साल । यसै वर्षदेखि लिग फुटबलको आधुनिक समय सुरु हुन्छ 

मनाङको उदयपछि भने लिगको नवआधुनिक समय सुरु भएको मानिन्छ । विज्ञानराजलाई अन्तिम पटक लिग खेल्दा मनाङका मणि शाहविरुद्ध बराबरको टक्कर लिएको राम्रै सम्झना छ । मणि रहे अगाडि खेल्ने खेलाडी । विज्ञान भने पछाडि । त्यसो भनेको उनी ‘राइटब्याक’ को भूमिकामा खेल्ने खेलाडी हुन् । धिरेन्द्र प्रधानले यही ‘पोजिसन’ मा खेलेर नाम कमाए । उनको खेलजीवन ओरालो लाग्दालाग्दैको बेला विज्ञानराजले त्यही ‘पोजिसन’ मा आफ्नो परिचय बनाए ।


ब्वाइज युनियनले ०४० सालमा शुभजन्मोत्सव कप पनि जित्यो । अझै पनि ती दिन सम्झँदा भावुक हुने धेरै पाइन्छ नेपाली फुटबलमा । ब्वाइज युनियनबाट त्यो समय श्याम थापा खेल्थे । उनले भारतको पश्चिम बंगालबाट ल्याउँथे व्यावसायिक खेलाडी पनि । तर ब्वाइज युनियनले ०४० सालअगाडि कहिले पनि शुभजन्मोत्सव कपको प्रतिष्ठित उपाधि जित्न सकेन । यति बलियो टिमले किन उपाधि जित्न सक्दैन भन्ने कसैसँगै ठ्याक्कै उत्तर थिएन ।


यस्तोमा ०४० सालमा क्लबका मुख्य हर्ताकर्ता बोधबहादुर राउतले के निर्णय गरे भने भर्खर २० वर्ष टेकेका यिनै विज्ञानराजलाई क्लबको कप्तान बनाउने । उनी टिमकै सबैभन्दा कान्छा खेलाडी थिए । त्यसैले विज्ञानलाई अचम्मसँग कप्तानी दिइयो । सोच थियो, कोही वरिष्ठलाई कप्तानी दिँदा जित्न नसकेको स्थितिमा किन सबैभन्दा कनिष्ठलाई कप्तानी दिएर नहेर्ने ? भाग्य पो लाग्ने हो कि ? नभन्दै, त्यो वर्ष ब्वाइज युनियनले शुभजन्मोत्सव कप जित्यो, उनैको नेतृत्वमा ।


उनले जुन टिमको कप्तानी गरेका थिए । त्यस टिमका अरू सदस्य थिए, उनै श्याम थापादेखि इस्ट बंगाल र मोहन बगानका केही खेलाडी । अनि रूपकराज शर्मा, सुरेश पन्थी, अशोक केसीदेखि विदुर विष्टसम्म । त्यो ऐतिहासिक उपलब्धिपछि उनी लगत्तै प्रहरी सेवातिर लागे । ठीक त्यही बेला पुसिलले आफ्नो फुटबल टिम हटायो । डीबी लामा र शरदचन्द्र शाहबीचको व्यक्तित्व टकरावले महेन्द्र पुलिस क्लबको अस्तित्व मेटियो । माछापुच्छ्रे क्लबको नामले केही सातातिना प्रतियोगिता भने पुलिसले खेल्यो ।


महेन्द्र पुलिस क्लबले ०५० साता फेरि जन्म लियो । त्यसको पहिलो कप्तान थिए यिनै विज्ञानराज । एक वर्षजति खेलेपछि उनले फुटबलबाट संन्यास जस्तै लिए । त्यसबीच नेपाली राष्ट्रिय टिमबाट दसपल्ट खेले । सन् १९८६ को एसियाली खेलकुदमा जापानविरुद्ध डेब्यु गरे । सोलले त्यो एसियाली खेलकुदको आतिथ्यता गरेको थियो । फुटबलका खेल भने डेजोन सहरमा भएको थियो । उनको अन्तिम खेल भने इस्लामावादमा भएको चौथो दक्षिण एसियाली खेलकुदमा थियो । त्यो भारतविरुद्ध । धेरैलाई लाग्दो हो, पुलिसबाट रिटायर्ड भएर आरामको जीवन बिताउन सक्ने यी बुढेसकालतर्फ अग्रसर ‘विज्ञान दाइ’ को चर्चा किन त ? अहिले सहिद स्मारक लिग ‘ए’ डिभिजनको ४२ औं संस्करण चलिरहेको छ ।

लगभग ५ वर्ष रोकिएपछि ०७५ सालमा फेरि लिग सुरु भएको थियो । त्यो रेलिगेसन नभएको लिग थियो, त्यसैले त्यो लिगको नाममा कलंक थियो । जे हो, त्यही संस्करणयता उनी लिग आयोजना कमिटीका प्रमुख हुन्, त्यो भनेको उनी अहिले चलिरहेको लिगका प्रमुख ।


नेपाली फुटबल सबैले भन्ने गरेका छन् । अहिले लिग जसरी भइरहेको छ, त्यसमा सुधार आवश्यक छ । यसमा नपुगेका, नआँटिएका, गर्न नसकिएकादेखि गर्न नखोजिएका धेरै पक्ष छन् । नेपाली फुटबललाई साँच्चै माथि उकास्ने हो भने लिग बलियो हुनैपर्छ । अब प्रश्न यो लिग बलियो बनाउने काम कस्को त ? उत्तर आउँछ, अखिल नेपाल फुटबल संघ (एन्फा) को । अनि त्यसको प्रतिनिधित्व गरिरहेका यिनै विज्ञान दाइको । अहिले स्थिति छ, उनले पहल सुरु नगरे, कसले गर्ने त ?


उनी आफैंलाई पनि अहिले लिग जसरी चलिरहेको, त्यसमा चित्त बुझेको छैन । उनलाई पनि लाग्दो हो, आरामले दिन नकाटेर किन लिगको तनाव बोक्ने ? तर त्यस्तो होइन, नेपाली फुटबललाई उनी जत्तिको व्यक्तित्व चाहिन्छ । अझ ठ्याक्कैभन्दा नेतृत्व । केही वर्षमा लिग राम्रो भएर समग्र नेपाली फुटबल नै राम्रो भयो भने त्यसको श्रेय पाउने पनि त उनैले हुन् । निचोडमा भन्दा लिगको ‘विज्ञान’ मिलिरहेको छैन, अझ भन्दा लिगको ‘केमेस्ट्री’ फिक्का छ ।


यसलाई मिलाउने काम फेरि यिनै विज्ञानराज शर्माको हो । एउटा कल्पना गरौं न । लिग फुटबलको खेल हेर्न मारामारको बनेको स्थिति । ब्वाइज युनियन फेरि ‘ए’ डिभिजनमा उक्लेको छ । फेरि एकपल्ट त्रिपुरेश्वरमा गज्जबको फुटबल माहौल छ । लिगमा आरसीटीले खेल्दा असन उठ्छ, महावीरले खेल्दा डिल्लीबजार । एनआरटी र संकटाले एकआपसमा खेल्दा नयाँसडक (न्युरोड) नै सुनसान । अनि थ्रीस्टार मैदान ओर्लिंदा दशरथ रंगशाला आइरहेका पाटने दर्शकको वाग्मती पुलमा भएको हुल । के चुनौती स्वीकार्य छ त ‘विज्ञान दाइ’ ?

प्रकाशित : पुस २६, २०७६ ०७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?