कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

घोषणाको एक महिनामा पनि साग विजेताले पाएनन् पुरस्कार

कार्यविधि संशोधन भइसक्यो, अर्थबाट स्वीकृति पाउनासाथ वितरण : सहसचिव
नमिता दाहाल

काठमाडौँ — १३ औं सागमा नेपालले अहिलेसम्मकै ठूलो सफलता पाएपछि सरकारले विजेतालाई पुरस्कार घोषणा गर्‍यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाएर सगौरव गरेको घोषणा एक महिनासम्म कार्यान्वयनमा नआउँदा खेलाडीहरु भने निराश हुन थालेका छन् । 

घोषणाको एक महिनामा पनि साग विजेताले पाएनन् पुरस्कार

मंसिर २५ गतेको प्रधानमन्त्रीको घोषणामा स्वर्ण जित्नेलाई ९ लाख, रजतलाई ६ र कास्य जित्नेलाई ३ लाख घोषणा गरिएको थियो । यस्तै, एकभन्दा बढी स्वर्ण जित्नेलाई प्रति स्वर्ण ११ लाख दिने भनिएको थियो । टिमतर्फ स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ५ लाखका दरले पुरस्कार दिने जनही पुरस्कारको व्यवस्था गरेको थियो तर सोही टिममा रजत र कास्य जित्नेलाई भने हालसम्म पनि केही व्यवस्था भएको छैन ।


यस विषयलाई लिएर कतिपय खेलाडी तथा प्रशिक्षक घोषणालगत्तै असन्तुष्ट थिए । घोषणा भएको महिना दिन बित्दा पनि घोषित पुरस्कार रकम नपाएपछि खेलाडी झनै रुष्ट देखिएका हुन् ।


करातेमा स्वर्ण पदक जितेकी कुसुम खड्का भन्छिन्, ‘खोई पाउने हो कि होइन ? सरकारले पुरस्कार घोषणा गरेको एक महिना भईसक्दा पनि अझै केही अत्तोपत्तो छैन ।’


त्यस्तै कातामा स्वर्ण जितेको महिला टोलीकी सदस्य संगीता मगर भन्छिन्, ‘सरकारले टिमबाट पनि स्वर्ण जित्नेलाई पनि ५/५ लाख दिने भनेको थियो तर अहिलेसम्म हामीले केही पाएका छैनौं ।’


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाल खेलाडीलाई घोषित पुरस्कार दिने प्रक्रिया भइरहेको बताउँछन् । उनले भने, ‘पुरस्कार वितरणको पनि आफ्नै प्रक्रिया छ । हामीले मन्त्रालयमा पठाएका छौं । अर्थ मन्त्रालयले स्वीकृत गरेपछि वितरण हुन्छ ।’ त्यसभन्दा माथि गए नगएको आफूलाई थाहा नभएको उनले बताए ।


युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपाने खेलाडीलाई रकम दिने प्रक्रियामा रहेको बताउँछन् । ‘मन्त्रिपरिषद्बाट पूरानो कार्यविधि संशोधन भएर आइसकेको छ । पारीत कार्यविधी अब अर्थ मन्त्रालय पठाउने तयारीमा छौं । अर्थ मन्त्रालयबाट पारित हुने बित्तिकै हामी खेलाडीलाई पुरस्कार रकम उपलब्ध गराउँछौ ।’ उनले यसमा धेरै समय नलाग्ने पनि बताए ।


मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले हालसम्मकै उच्च पदक हात पारेको थियो । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक जितेको थियो ।

प्रकाशित : पुस २५, २०७६ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?