‘हनिमुन’ मै व्यस्त क्यान

‘संघलाई कसरी व्यवस्थित गर्ने भनेर क्यालेन्डर तयार गरेका छौं । यसलाई कसरी प्रयोग गर्ने भनेर प्रायोजककहाँ दौडधुप गरिरहेका छौं । एकमहिना जति त सागमै बित्यो ।’
विनोद पाण्डे

काठमाडौँ — झन्डै चार वर्ष नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय निलम्बनमै बितायो । नेपाललाई अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने वातावरण अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बनाइदिए पनि संघमाथि प्रतिबन्ध लगाइएको थियो । क्यान आईसीसीको नियन्त्रणमा थियो र नेपाली क्रिकेट उसैले हाँकिरहेको थियो ।

‘हनिमुन’ मै व्यस्त क्यान

आन्तरिक विवाद, भ्रष्टाचारको आरोप हुँदै निष्पक्ष निर्वाचन नगराएको र संघमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै आईसीसीले सन् २०१६ को अप्रिलमा क्यानलाई निलम्बन गरेको थियो । संघ यतिसम्म निकम्मा भइसकेको थियो कि आईसीसीले निलम्बन लगाउँदा धेरैले यसलाई राम्रो भन्दै अब नेपाली क्रिकेटको निकास हुने सम्भावनासमेत देखेका थिए ।

झन्डै चार वर्षको निलम्बनमा नेपाली क्रिकेटको विकास किन भएन भन्दा सरोकारवालाको एउटै जस्तो उत्तर आउँथ्यो, ‘क्यान निलम्बनका कारण’ । आईसीसीको नियन्त्रण र संघ निलम्बनको अवस्थामा नेपालले चाहेजस्तो केही गर्न सक्दैनथ्यो । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि क्याम्प राख्न पनि आईसीसीको स्वीकृति चाहिन्थ्यो । संघले राष्ट्रिय प्रतियोगिताहरू गर्न छाडेको थियो । यसले ग्रासरुटमा ठूलो असर पुग्यो । ट्र्यालबाटै युवा खेलाडी छनोट गर्नुपर्थ्यो । यसको असर नेपाली क्रिकेटमा गहिरो देखियो । नयाँ प्रतिभाहरू देखिन छाडेका छन् । भएका खेलाडीबाट नेपालको प्रतिनिधित्व गराउनुपरेको छ ।

आईसीसीको मध्यस्थतामा विभिन्न चरण पार गर्दै विशेष साधारणसभामार्फत असोज ११ मा गरिएको निर्वाचनबाट क्यानमा नयाँ कार्यसमिति आयो । यसै साता क्यानको नयाँ कार्यसमितिले ‘१०० दिन (हनिमुन अवधि) पूरा गरेको छ । यसबीचमा भएका क्यान गतिविधि हेर्ने हो भने नेपाली क्रिकेटले नयाँ कार्यसमितिबाट जुन अपेक्षा गरेको थियो, त्यसको छेउछाउसम्म पुगेको देखिँदैन र पाइँदैन पनि । नेपाली राष्ट्रिय टोली छनोट गर्न मात्र नयाँ कार्यसमितिको बैठक बसेको जस्तो देखिन्छ ।

क्यान अध्यक्ष चतुरबहादुर चन्द त्यो मान्न तयार छैनन् । ‘झट्ट हेर्दा देखिने कार्य केही भएजस्तो लाग्दैन । निर्वाचनलगत्तै चाडपर्वहरू पर्‍यो, नियमित कामहरू पहिलाजस्तै भइरहेका थिए, तर व्यवस्थित थिएन । क्यान बैठक दुईपल्ट मात्र बसेको छ । कसरी जाने भन्ने योजना अनौपचारिक छलफलमै जिम्मेवारी लिएर अगाडि बढिरहेका छौं,’ उनले क्रिकेट विकासका लागि संघ लागिरहेको दाबी गर्दै भने, ‘संघलाई कसरी व्यवस्थित गर्ने भनेर क्यालेन्डर तयार गरेका छौं । यसलाई कसरी प्रयोग गर्ने भनेर प्रायोजककहाँ दौडधुप गरिरहेका छौं । १२–१५ कर्पोरेट हाउससँग कुरा भइरहेको छ । धेरै सकारात्मक प्रतिक्रिया आएको छ ।’

उनी १३ औं दक्षिण एसियाली खेलकुदको महिला र पुरुष इभेन्टको दौडधुपमै एक महिना बितेको सुनाउँछन् । निलम्बनपछि क्यानको पहिलो इभेन्ट रहेकाले धेरै मिलाउन त्यसतर्फ समय खर्चिएको उनले बताए । राष्ट्रिय खेलकुद परिषद्को इभेन्ट भए पनि सागको क्रिकेट इभेन्ट क्यानले नै आयोजना गरेको उनी मान्छन् । उनले भने, ‘सागअघि कीर्तिपुर मैदान अव्यस्थित थियो, हामी सबैको ध्यान त्यसैमा केन्द्रित रह्यो । पोखराको महिला इभेन्टलाई पनि ध्यान दिनुपर्ने थियो । यो सबै क्यानले गरेकोमा दुईमत छैन । पैसा थोरै थियो, हामीले कहींकतै प्रश्न उठाउने ठाउँ दिएनौं । व्यवस्थित हिसाबमा साग सम्पन्न भयो भन्ने हाम्रो दाबा छ ।’

यसबीच क्यानको आईसीसीसँग बैठक भएको अध्यक्ष चन्दले सुनाए । आईसीसीले सन् २०२० को कार्यक्रम र बजेट बनाउन भनेको सुनाउँदै उनले जनवरी अन्तसम्म कार्यक्रम र बजेट बनाएर पठाइसक्ने बताए । नेपालले अबको २० दिनपछि क्रिकेट विश्वकप लिग २ मा अमेरिका र ओमानलाई आतिथ्यता प्रदान गर्दै छ । बाँकी समय त्यसैमा व्यस्त रहने उनको जिकिर छ । फेब्रुअरी ५ देखि कीर्तिपुरमा हुने लिग २ मा सहभागी तीन टोलीले एकअर्कासँग २–२ खेल खेल्नेछ । ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये नेपालले अमेरिका र ओमानसँग २–२ खेल खेल्नेछ । अगस्टबाट सुरु भएको २०२३ को विश्वकप छनोटको शृंखला २०२२ सम्म चल्नेछ । नेपालले दुई वर्षभित्र यो प्रतियोगितामा ३२ खेल खेल्नेछ ।

‘आईसीसीले जनवरी १५ सम्म कार्यक्रम र बजेट पठाउनू भनेको छ, तर हामी त्रिकोणात्मक एकदिवसीय शृंखलामा अहिले व्यस्त छौं । यो नेपालमा हुन लागेको सबैभन्दा ठूलो इभेन्ट हो । निलम्बन फुकुवापछि पहिलो ठूलो इभेन्ट गर्दैछौं,’ अध्यक्ष चन्दले भने, ‘यसलाई राम्रोसँग सम्पन्न गर्न हामी कुनै कसर बाँकी राख्नेछैनौं । मुलपानीमा अभ्यासका लागि मैदानको काम तथा कीर्तिपुरमा खेल्न लागि मैदानभित्र र बाहिरको सबैको कार्य भइरहेको छ । काम नै नभएको होइन, हामी नियमित खटेकै छौं । अहिले नै काम भएको छैन भन्नु हतार हुन्छ ।’

तर भएका कार्य पनि क्यानले व्यवस्थित गर्न सकिरहेको छैन । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएपछि सबैभन्दा ठूलो प्रतियोगिता खेल्नेक्रममा रहेको नेपालसँग तीन साताको मात्र प्रशिक्षण अवधि छ । क्यानले शुक्रबारदेखि पोखरामा नेपाली राष्ट्रिय टोलीको बन्द प्रशिक्षण डाकेको छ । त्यहाँ मलेसियासँग तीन एकदिवसीय अभ्यास म्याच खेल्नेछ । सुनसरीको इनरुवामा भइरहेको मनमोहन मेमोरियल राष्ट्रिय क्रिकेट प्रतियोगितामा भाग लिन आएको मलेसिया विश्वकप च्यालेन्ज लिग टिम हो । जबकि अमेरिका र ओमान लिग २ मा पहिलो र तेस्रो स्थानमा छन् ।

तीन साताको प्रशिक्षण लिग २ खेल्न पर्याप्त छ त ? अध्यक्ष चन्द स्वीकार्छन् यो समय अपुग हो । उनी यसको केही दोष प्रशिक्षक उमेश पटुवाललाई दिन्छन् । ‘२० दिनको तयारीमा खेल्नु सही त होइन । तर हामीसँग प्रशिक्षक (उमेश पटवाल) नै उपलब्ध थिएनन् । पासपोर्टको पाना सकियो भनेर उहाँ भारत जानुभयो । पूरा खेलाडी पनि प्रशिक्षणलाई छैनन् । भूमिका लिइसकेपछि सबै जिम्मेवार हुनुपर्छ,’ समस्या देखाउँदै उनी आशावादी पनि छन्, ‘प्रशिक्षण सुरु गर्न काठमाडौंमा सम्भव भएन । धेरै खेलाडी एमएम कप खेल्न गएका छन् । तीन साताको प्रशिक्षण कम हो तर राम्रो प्रशिक्षण गर्न नपाए पनि खेलाडीहरू टचमा छन् ।’

वार्षिक क्यालेन्डर बनाए पनि ५ वर्षे रणनीतिक कार्यक्रमको खाका क्यानसँग देखिँदैन । अन्य कार्यक्रमहरू देखिएका छैनन् । अगाडि आएको कार्यक्रम कार्यन्वयन गर्नमै क्यान व्यस्त देखिन्छ । चन्द पनि लिग २ त्रिकोणात्मक शृंखलामा व्यस्त भएकाले अरुमा आफूहरूले ध्यान दिन नसकिरहेको मान्छन् । उनले भने, ‘वार्षिक क्यालेन्डर बनाइसक्यौं । क्यालेन्डरअनुसार चल्न खर्च चाहियो । त्यही खर्च हामी जुटाउँदै छौं । २०१९ सम्म खेलाडी, प्रशिक्षकको तलब आईसीसीले नै हेरोस्, त्यसपछि हामी हेर्छौं भनेका छौं । जनवरी १ देखि हाम्रो जिम्मेवारी सुरु भएको हो । त्यसयता पनि हामी नियमित काममा छौं । आईसीसीले तपाईहरूको वार्षिक बजेट यो हो, यसअनुसार चल्नु भनेको छ । त्यति बजेटले केही हुँदैन । बाँकीको बजेटका लागि हामी दौडिरहेका छौं ।’

जिल्लालाई १ लाख र प्रदेशलाई वार्षिक ३ लाख रुपैयाँ दिने निर्णय क्यान कार्यसमितिले गरिसकेको छ । यसले कार्यालय खोल्न मदत गर्ने क्यानको बुझाइ छ । यो बजेटसँगै कार्यालय र कर्मचारी संरचना के हो भनेर जानेछ भने खुला सूचनाबाट कर्मचारी नलिए मार्चसम्म पदाधिकारी नै दौडिनुपर्ने बाध्यता रहेको उनी सुनाउँछन् । ‘विधानअनुसार नै प्रवन्ध निर्देशक वा प्रमुख कार्यकारी अधिकृत तथा फाइनान्स म्यानेजर, प्रशासनमा कर्मचारी राख्छौं । अलि पछि सातै प्रदेशमा प्रशिक्षक राख्ने छौ । त्रिकोणात्मक शृंखलाअगाडि काम गर्न सजिलो होस् भनेर सिटी अफिस बनाउन खोजिरहेका छौं,’ उनी अहिले नै यो काम भयो भनेर भन्नलाई केही नभएको, तर नतिजा राम्रो हुने विश्वासमा छन् ।

एनपीएल तयारी

नेपालमा हाल एभरेस्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग गरी तीन फ्रेन्चाइज प्रतियोगिता छन् । यसलाई व्यवस्थित बनाएर नेपाल प्रिमियर लिग (एनपीएल) को भित्रभित्र तयारी भइरहेको चन्दले सुनाए । त्यसका लागि तयार भइरहेको र धेरै बोल्यो भने त्योअनुरुप नहोला भनेर उनी यसको विस्तृत खाका बनाउन चाहँदैन । तर उनी अन्य प्रिमियर लिग अब सबै क्यानको स्वीकृति र मातहतमा मात्र हुने बताउँछन् ।


‘अरु लिग समय मिल्यो भने, क्यान र आईसीसीको क्यालेन्डरमा अटायो भने गर्न दिन्छौं । रोक्ने कुरा भएन । तर ती लिगहरू व्यवस्थित हुनुपर्‍यो । नेपालको कानुनलाई मिचेर केही हुनुभएन,’ चन्दले भने, ‘करचुक्ता गरे नगरेको, विदेशी खेलाडीको श्रम स्वीकृति लिए नलिएको वा लिनुपर्ने नपर्ने भनेर संघलाई पत्र आइरहेको छ । २०१९ सम्मको इभेन्टमा हाम्रो केही भूमिका छैन, त्यसको जिम्मेवार हामी छैनौं । आउने लिगहरूबारे हामी सचेत छौं । २०२० देखि सबै क्यानमातहत हुनेछ ।’

हाल भइरहेको लिगबारे मन्त्रालयले पत्रचार गरी विस्तृत विवरण मागेको र त्यहीअनुसार पत्र मन्त्रालयमा बुझाउने प्रक्रियामा रहेको चन्दले बताए । उनले भने, ‘फ्रेन्चाइज लिगले कर तिरे नतिरेको, मालिक र खेलाडीको विवरण हामीलाई पत्र पठाई मागिएको छ । हामीले सम्बन्धित सबैसँग यसबारे जानकारी माग्ने छौं । क्यानलाई आधिकारिक हिसाबमा केही थाहा छैन, तपाईको पत्रिका र रेडियो, टिभीमा थाहा होला । एउटा लिगका ६ वटा फ्रेन्चाइज र एउटा आयोजकको कम्पनी दर्ता अब सबै चाहिन्छ । हामी लिग व्यवस्थित गर्न खोजिरहेका छौं ।’

प्रकाशित : पुस २५, २०७६ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?