कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

इंग्ल्यान्डद्वारा शृंखला बराबर

एएफपी

सिड्नी — बेन स्टोक्सले सानदार बलिङ प्रदर्शन गरेपछि इंग्ल्यान्डले मंगलबार दक्षिण अफ्रिकालाई दोस्रो टेस्टमा १ सय ८९ रनले पराजित गरेको छ । पाँचौं तथा अन्तिम दिन खेलको अन्तिम समयमा जित हात पारेपछि इंग्ल्यान्डले विश्व टेस्ट च्याम्पियनसिपको चार टेस्ट शृंखला १–१ को बराबरीमा ल्याएको छ ।

इंग्ल्यान्डद्वारा शृंखला बराबर

४ सय ३८ रनको कठिन विजय लक्ष्य लिएर आएको दक्षिण अफ्रिका २ सय ४८ रनमा अलआउट भएको थियो । दक्षिण अफ्रिकाको अन्तिम विकेट झर्दा टेस्टमा ८.२ ओभरको खेलमात्र बाँकी थियो । स्टोक्सले १४ बल अन्तरमा ३ विकेट लिई इंग्ल्यान्डलाई नाटकीय विजय दिलाएका थिए ।


दक्षिण अफ्रिकी ब्याट्सम्यानले अधिकांस दिनको खेलमा इंग्ल्यान्डका बलरका प्रतिरोध गरेका थिए । दक्षिण अफ्रिकाले १२६–२ बाट दिनको खेल सुरु गरेको थियो । चियाअगाडि पनि टोलीले ३ विकेटमात्र गुमाएको थियो । आफ्नो पहिलो टेस्ट खेलिरहेका ओपनिङ ब्याट्सम्यान पिटर मालनले ३ सय ६९ मिनेट क्रिजमा बिताउने क्रममा २ सय ८८ बल खेलेर ८४ रन बनाए । उनले ४ चौका प्रहार गरेका थिए । साम कुरानले नयाँ बल लिएपछि उनलाई आउट गरेका हुन् । भोजन र चियाअघि दक्षिण अफ्रिकाले गुमाएको यही विकेटमात्र थियो ।

अन्तिम सत्रमा इंग्ल्यान्डलाई विजयनिम्ति ५ विकेट आवश्यक थियो, जहाँ दक्षिण अफ्रिकाले कम्तीमा ३१ ओभर खेल्नुपर्ने थियो । क्विन्टन डी कक कमै मात्र लुज बल खेल्नेक्रममा आउट भए । उनी र रसी भान डेर डुसेनले दुई घण्टाभन्दा बढी ब्याटिङ गरे । ५० रन बनाएका डी ककलाई जो डेन्लीले आफ्नो लेग स्पिनबाट अप्ठ्यारोमा पारिरहेका थिए । तर शर्ट बल पुल गर्न लाग्दा उनी मिडविकेटमा समातिए ।

भान डेर डुसेनले १ सय ९४ मिनेट क्रिजमा बिताए । १ सय ४० बल खेली उनले मात्र १७ रन बनाए । इंग्ल्यान्डको चतुर रणनीतिमा उनी आउट भए । उनले स्टुवार्ट ब्रोड र जेम्स एन्डरसनलाई मजाले खेलिरहेका थिए । लेग स्लिप राखेको अर्को बल खेल्दा उनी ब्रोडको बलिङमा एन्डरसनबाट समातिए । स्टोक्सले तीव्र गतिको बलिङ र शर्ट पिच बलबाट ड्वाइने प्रेटोरिउस र एनरिच नोर्टजेलाई लगातार बलमा आउट गरे । अन्तिम ब्याट्सम्यान भेर्नोन फिलान्डरलाई म्यान अफ द म्याच स्टोक्सले ओले पोपेबाट गलीमा क्याच गराए ।

इंग्ल्यान्डले पहिलो इनिङ्समा २ सय ६९ रन बनाएको थियो । जवाफमा आएको घरेलु टोली दक्षिण अफ्रिकाले २ सय २३ रनमात्र बनाउन सकेको थियो । ओपनर डम सिब्लीको १ सय ३३ र स्टोक्सको ७२ रनमा इंग्ल्यान्डले ३९१–८ मा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै दक्षिण अफ्रिकालाई विशाल चुनौती तेर्स्याएको थियो ।

प्रकाशित : पुस २३, २०७६ १०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?