२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

‘ए’ डिभिजन लिग : गोलविहीन निरस खेल

कुशल तिमल्सिना

काठमाडौँ — कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा दर्शकको उपस्थिति निराशाजनक रहँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) विभिन्न प्याकेज सार्वजनिक गर्दै दर्शक तान्ने प्रयासमा छ । लिगको रौनक कमजोर हुनुका धेरै कारणमध्ये एउटा हो, निरस खेल ।

‘ए’ डिभिजन लिग : गोलविहीन निरस खेल

१५ हजार दर्शक क्षमताको दशरथ रंगशालास्थित प्यारापिटजस्तै मैदानमा पनि दुई टिमबीचको खेल ‘सुनसान’ सकिने गरेको छ ।

लिगमा जितविहीन रहेका तीनमध्ये दुई टिम हिमालयन शेर्पा र फ्रेन्ड्स क्लबबीच मंगलबारको खेल पनि यसअघिका थुप्रै त्यस्ता खेलजस्तै रह्यो, जहाँ फुटबलको रौनक नै छैन । दुवै टिमको खेल हेर्दा यस्तो लाग्थ्यो कि उनीहरूलाई जित्नु नै छैन । दुवै टोलीका खेलाडी केवल अन्तिम सिठी कुरिरहेका छन् ।

आधुनिक फुटबलमा लामो पासको शृंखलालाई टिमको लयका लागि महत्त्वपूर्ण कडी मानिन्छ । फ्रेन्ड्स न हिमालयन शेर्पा, दुवैका खेलाडीले बल नियन्त्रण र सटिक पासको धैर्य गुमाएका थिए । पाएका अवसरमा हतारिएका देखिए । इन्ज्युरी समयमा शेर्पाका त्रिदेव गुरुङले फ्रेन्ड्सका गोलरक्षक सोजित गुरुङ बिट भइसकेको अवस्थामा पनि गोल गर्न सकेनन् । समग्र खेल अवधिमा दुवै टिमको दर्शनीय आक्रमण त्यहीमात्र थियो ।

एयर बलमा हेड गर्दै शेर्पाका त्रिदेव गुरुङ, पछाडि फ्रेन्डसका सरोज योन्जन

फ्रेन्ड्स क्लबका लागि यो नतिजा अधिक निराशाजनक किन छ भने लिगमा राम्रो प्रदर्शनको अपेक्षासहित ब्राजिलका प्रशिक्षक र तीन खेलाडी अनुबन्ध गरेको छ । ५ चरणको खेल सकिँदासम्म फ्रेन्ड्सले जित निकाल्न सकेको छैन । साबिक विजेता मनाङविरुद्ध साहसिक बराबरी खेलेको फ्रेन्ड्सले शेर्पालाई हराउने लक्ष्य लिएको थियो ।

फेरि अर्को झड्का बेहोर्नुपर्दाको पीडा टिम म्यानेजर रविन व्यन्जनकारको भनाइले पनि स्पष्ट पार्छ ।पूर्व राष्ट्रिय खेलाडीसमेत रहेका व्यन्जनकारले भने, ‘आजको खेलमा हाम्रा ११ खेलाडीले हरेक पोजिसनमा आफूलाई सुधार्नु आवश्यक छ । यसअघि हामीले मनाङ, आर्मी, मछिन्द्रलाई कडा टक्कर दिएका हौं तर आज जित्नुपर्ने खेलमा चुक्यौं,’ उनले थपे, ‘लगातार खराब नतिजापछि धेरै कुरा आउँछन् । मलाई अझै पनि के विश्वास छ भने हामीसँग क्षमतावान् खेलाडीको जमघट छ र उत्कृष्ट छौं । हामी यो स्तरको टिम होइनौं ।’


फ्रेन्ड्सका निसेन सुब्बा (१३) शेर्पाका कमल मगरको प्रहार रोक्ने प्रयासमा

चिसो मौसममा मैदानभित्र खेलाडीहरूको जोश कम देखिए पनि फ्रेन्ड्सका ब्राजिली प्रशिक्षक टचलाइनमा जोसिइरहेका थिए । खेलपछि पत्रकार सम्मेलनमा प्रशिक्षक मार्कस डान्टनले शारीरिक र प्राविधिक रूपमा कमजोर प्रदर्शन भएको स्विकारे । ‘मैदानमा खेलाडीहरूले आफ्नो क्षमताको प्रयोग गर्न जानेनन् । अधिक प्रतिस्पर्धात्मक खेलको अपेक्षा गरेको थिएँ । हाम्रा लागि यो निराशाजनक नतिजा हो । मेरो टिममा क्षमतावान खेलाडीहरू छन्, जसले भविष्यमा राष्ट्रिय टिमबाट खेल्न सक्छन्,’ उनले थपे, ‘बराबरीबाट चित्त बुझाउनैपर्छ किनभने १ अंक ल्याएका छौं ।’ एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतको स्वामित्वमा रहेको हिमालयन शेर्पा टिमको आफ्नै दुःख छ । दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको शेर्पाको समस्या फिनिसिङमै छ । जुन खेलपछि प्रशिक्षक सन्जीव बुढाथोकीले स्विकारे । टिमको अर्को चिन्ता खेलाडीको चोट पनि हो ।

‘हामीले विश्वास (श्रेष्ठ) लाई हेरेर टिम बनाएका थियौं । मनाङसँगको खेलमा घाइते भएका उनको घुँडाको शल्यक्रिया भएको छ । उनले लिग गुमाएका छन् । अर्का एक विदेशी खेलाडी पनि घाइते छन्,’ प्रशिक्षक बुढाथोकीले भने, ‘अपेक्षा गरिएका खेलाडीहरू चोटग्रस्त बनेपछि हाम्रो खेल खस्किएको छ । आजको खेलमा हामी जितको लक्ष्यसहित रणनीति परिवर्तन गरेका थियौं । केही अवसर पनि पाएका हौं । तर गोल हुन सकेन ’

दोस्रो हाफमा शेर्पाले गोलका अन्य दुई अवसर पाएको थियो । ७५ औं मिनेटमा सुरज हमालको क्रसमा विजय श्रेष्ठले दोस्रो बार च्यापेर गरेको प्रहार आकासियो । त्यसको ८ मिनेटपछि त्रिदेवको हेड क्रसबारमा लागेर बाहिरियो ।

यसअघि पहिलो हापमा फ्रेन्ड्सले पनि दुई अवसर पाएको थियो । ४३ औं मिनेटमा प्रिजेन तामाङको पासमा सिक्सयार्ड बक्समा अनमार्क रहेका उत्तम राईको प्रहार क्रसबार नजिकैबाट बाहिरियो । पहिलो हाफको इन्ज्युरी समयमा निशेन सुब्बाले दिएको पासमा सन्जोग महर्जनले पेनाल्टी एरियाबाट गोल गर्न सकेनन् । जारी लिगमा शेर्पाको तेस्रो र फ्रेन्ड्सको दोस्रो बराबरी नतिजा हो । दुवैले अहिलेसम्म ३ अंक जोड्न सकेका छैनन् । ३ अंक जोडेको शेर्पा र २ अंक जोडेको फ्रेन्ड्स क्रमसः १२ औं र १३ औं स्थानमा छन् ।


आजका खेल

बीबीसीविरुद्ध थ्रीस्टार– १२ः०० बजे

च्यासलविरुद्ध पुलिस– १५ः०० बजे

दशरथ रंगशाला

प्रकाशित : पुस २३, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?