२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

लिग च्याम्पियन हर्क गुरुङ

त्यो समयका धेरै फुटबल नायक र घटनाक्रम समयसँगै बिलाएका छन् । त्यही लगभग बिलाएको इतिहासका एक नायक हुन् हर्क गुरूङ । 
हिमेश

काठमाडौँ — हर्क गुरुङ बाँचिरहेको भए, आज पुस २१ मा ८१ वर्षका हुन्थे । उनी ताप्लेजुङको घुन्सामा ०६३ मा भएको हेलिकप्टर दुर्घटनामा परे । त्यो दुर्घटनाले उनीसँगै २४ जनाको ज्यान गएको थियो । विकास योजनामा उनको ठूलो दखलता थियो नै, भूगोलबारे उनी जत्तिको थाहा हुने कमै थिए ।

उनको परिचय यत्तिमा मात्र सीमित हुन्न । उनी अब्बल दर्जाका खेलाडी पनि थिए । उनले के मात्र खेलेनन् र ? फुटबलदेखि हक्की, अनि टेनिस पनि । अहिले हाम्रोमा सहिद स्मारक लिग ‘ए’ डिभिजन चलिरहेको छ । यो त ४२ औं संस्करण भयो ।


नेपालमा लिग फुटबलको लामो इतिहास छ र यो सुरु हुन्छ, ०११ सालदेखि । ती सुरुआती दिनमा कसरी प्रतियोगिता भएका थिए, त्यसबारे हामीसँग खासै धेरै जानकारी छैन । अब त्यो इतिहास खोजेर पनि नपाइनेजस्तै छ । यस्तोमा त्यो समयका धेरै फुटबल नायक र घटनाक्रम समयसँगै बिलाएका छन् । त्यही लगभग बिलाएको इतिहासका एक नायक हुन्, यिनै हर्क गुरुङ ।


अझ भन्दा हुन्छ, उनी लिग च्याम्पियन हुन् । विद्या व्यायाम मन्दिरले ०२० मा लिग जितेको थियो र उनी त्यसका एक प्रमुख खेलाडी थिए । यो विद्या व्यायाम मन्दिरको इतिहास खोज्दा पनि धेरै पछाडि जानुपर्छ । राणा शासनतिर प्रत्येक दरबारको एउटा फुटबल टिम हुन्थ्यो । त्यसैअनुसार बागदरबारको टिम हो, यो । यसलाई अगाडि बढाउने काम गरेका थिए, सुशील राणाले । गुरुङ र सुशीलले कुनै समयसँगै पटनामा पढेका थिए ।


त्यसैले सुशीलले उनलाई पनि आफ्नो टिमबाट खेलाए र यही टिमले सातौं संस्करणको लिग जितेको थियो । ‘उहाँ फुटबलको निकै राम्रो खेलाडी हुनुहुन्थ्यो, म त प्रशंसक नै थिएँ,’ गुरुङसँग लामै संगत गरेका मनोज राणा सुनाउँछन् । उनी सुशीलका कान्छा भाइ हुन् । हर्क गुरुङ लेफ्ट आउटको भूमिकामा खेल्थे । उनी ‘नेचुरल लेफ्ट फुटेड’ थिए । शारीरिक रूपमा उनी निकै शक्तिशाली त थिए नै, उनको गति पनि राम्रो थियो ।


वरिष्ठ खेल पत्रकार श्याम चित्रकारले पनि गुरुङको खेल हेरेका छन् र भन्छन्, उनी वास्तवमै अब्बल दर्जाका खेलाडी थिए । त्यो लिग विजेता विद्या व्यायाम मन्दिरबाट खेलेका अन्य केही प्रमुख खेलाडी थिए, आरबी राजा, सुरेश आलेमगर र ज्ञानप्रसाद । हर्क गुरुङ ठीकठाक हक्की पनि खेले । आफ्नो जीवनको उत्तरार्द्धतिर उनी टेनिसतिर बढी व्यस्त रहे । निधनको एक साताअगाडिसम्म मनोज राणासँग पूरा दिन टेनिस खेलेका थिए । ‘निकै रमाइलो गर्नुपर्ने खालका थिए,’ अहिले राणा सम्झिन्छन् ।


हर्क गुरुङको परिचय यत्तिमा मात्र सकिन्न, उनी नेपालमा पहिलो पुस्ताका खेल पत्रकार पनि थिए । सके पहिलो नै हो कि ? नेपालमा खेल पत्रकारिता कसले सुरु गरेको हो, त्यसको पनि स्पष्ट इतिहास छैन । तर निश्चित छ, उनी पहिलो पुस्ताका त पक्कै हुन् । भर्खरै भैरव रिसालले उनीबारे लेखेका छन् । त्यसअनुसार ०२१ सालतिर उनीहरू राससमा सँगै काम गर्थे । गुरुङ खेलकुदमा रिपोर्टिङ गर्थे ।


अर्का वरिष्ठ पत्रकार श्याम केसीका अनुसार त उनको यो खेल पत्रकारिता अझ अगाडि सुरु भएको थियो । हर्क गुरुङ विद्यावारिधि गर्न इंग्ल्यान्ड जानुअगाडि फुटबल पनि खेल्थे, खेलकुदका समाचार पनि लेख्थे । ‘उहाँ मभन्दा सिनियर हुनुहुन्थ्यो,’ केसी भन्छन् । उनी भने संकटाका खेलाडी थिए । विद्या व्यायामबाट खेल्ने क्रममै उनी अंग्रेजी भाषाको कमनर पत्रिकामा लेख्थे । तर आफ्नो नाम भने प्रयोग गर्दैन थिए । उनी ‘चन्डन’ नामले लेख्थे ।


केसीलाई सुरुमै यसबारे जानकारी थिएन । पछि मात्र थाहा पाए र दंग परे । खेलाडीले नै लेख्न त कम हुन्छ । केसीलाई पनि के लाग्यो भने, ‘हर्क गुरुङले लेख्न सक्छन् भने मैले मात्र किन सक्दिनँ ?’ एक प्रकारले केसीले पत्रकारिता सुरु गर्नुपछाडिको एउटा कारण यिनै गुरुङ पनि थिए, अझ भनौं प्रेरणा । त्यसैले केसीले पनि फुटबल खेले र पत्रकारिता दुवै गरे । केसीले लेख्न थालेको मडरल्यान्डबाट थियो । सुरुआती दिनमा गुरुङको टिमको नाम थियो, हाइल्यान्डर । यसले कहाँ कसरी खेल्यो, त्यसबारे पनि जानकारी छैन ।


खालि यति मात्र जानकारी छ कि त्यसबाट बेलायती सेनामा भर्ती रहेकाको सन्तानले खेल्ने गरेको थियो । केसीको पनि हर्क गुरुङसँग राम्रै दोस्ती भयो । विद्यावारिधिका क्रममा इंग्ल्यान्ड रहँदा पनि उनको एउटा प्रमुख काम फुटबल हेर्ने नै थियो । पछि नेपाल फर्केर उनले केसीलाई सुनाएका रहेछन्, ‘नेपालीको उचाइ बराबर त विदेशी खेलाडी उफ्रिने नै गर्छन् ।’


अहिले लिगकै खेल चलिरहेकै बेला नेपाली फुटबलले हर्क गुरुङलाई एकपल्ट फेरि सम्झने कि ? अनि खेल पत्रकारले पनि ।

प्रकाशित : पुस २१, २०७६ १२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?