कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोहोरो शतकमा अस्ट्रेलिया बलियो

(एएफपी)

सिड्नी — मार्नस लाबसच्यानको दोहोरो शतकको जवाफमा अस्ट्रेलियाले शनिबार तेस्रो टेस्टमा राम्रो सुरुआत गरेको छ । लाबसच्यानले २ सय १५ रन बनाउँदै टेस्ट क्रिकेटमा आफ्नो उच्च स्कोर बनाएपछि अस्ट्रेलियाले न्युजिल्यान्डविरुद्ध दोस्रो दिन ४ सय ५४ रन बनाएको थियो । 

दोहोरो शतकमा अस्ट्रेलिया बलियो

अस्ट्रेलियाको इनिङ्स चियाको ठीकअगाडि रोकिनु पहिले तेस्रो नम्बरमा ब्याटिङ गरेका लाबसच्यानले सानदार ब्याटिङ प्रदर्शन देखाएका थिए । १ सय ९९ रनमा पुगेपछि अर्को रन स्कोर गर्न उनलाई २० मिनेट लागेको थियो । कोलिन डी ग्रान्डहोमको बलमा एज लागि स्लिपबाट बल गएपछि लाबसच्यानले आफ्नो दोहोरो शतक पूरा गरेका थिए ।


उनले ३ सय ६३ बल खेल्दै दोहोरो शतक पूरा गर्नेक्रममा १९ चौका र एक छक्का प्रहार गरे । इनिङ्सका क्रममा लाबसच्यानले गत नोभेम्बरमा पाकिस्तानविरूद्ध ब्रिसवेनमा बनाएको आफ्नो १ सय ८५ रनको व्यक्तिगत स्कोर उछिनेका थिए । गत वर्ष उनले टेस्ट क्रिकेटमा सबैभन्दा बढी १ हजार १ सय ४ रन बनाएका थिए । सन् २०१९ लाई उनले जसरी बिदाइ गरेका थिए, त्यही फर्म उनले २०२० मा देखाउन सुरु गरेका हुन् ।


लेग स्पिनर टड एस्टलले उनलाई कट एन्ड बोल्ड गरेपछि न्युजिल्यान्डलाई राहत भएको थियो । कप्तान टिम पेन ३५ रनमा आउट भए । पेनले ९२ बलको सामना गर्दै लाबसच्यानसँग ७९ रनको साझेदारी गरेपछि अस्ट्रेलियाले कुल योगफलमा ४ सय रन कटाएको थियो । तल्लोक्रममा प्याट कुमिन्सले २१ बलमा २२ रन बनाई निल वाग्नरको बलमा बोल्ड भए । वाग्नरले ६६ रन खर्चेर ३ विकेट लिए । डी ग्रान्डहोमले पनि ३ विकेट लिए ।

जवाफमा २९ ओभर खेलेको न्युजिल्यान्डले विनाक्षति ६३ रन बनाएको छ । टम लाथम २६ र मेलबर्नको टेस्टमा शतक बनाएका टम ब्लुन्डेल ३४ रन बनाई क्रिजमा छन् ।


दक्षिण अफ्रिका दबाबमा

केपटाउन– दक्षिण अफ्रिकाले इंग्ल्यान्डविरूद्धको दोस्रो टेस्टमा कमजोर प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल समाप्त हुँदा घरेलु टोलीले ८ विकेट गुमाई २ सय १५ रन बनाएको छ । टोली इंग्ल्यान्डको पहिलो इनिङ्सभन्दा ५४ रनले पछाडि छ ।


तीव्र गतिका बलर जेम्स एन्डरसनले केशव महाराजलाई ४ रनमा आउट गरेपछि शनिबारको खेल सकिएको थियो । भेट्रान एन्डरसनले १६.४ ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए । अर्का भेट्रान स्टुवार्ट ब्रोड र साम कुरानले २–२ तथा डोमिनिक बेसले १ विकेट लिए । दक्षिण अफ्रिकाबाट ओपनर डिन एल्गरले ८८ र रसी भान डेर डुसानले ६८ रन बनाए । क्विन्टन डी कक २० र कप्तान फाफ डु प्लेसिस १ रनमा आउट भए । इंग्ल्यान्डका फिल्डर बेन स्टोक्सले ४ क्याच लिइसकेका छन् ।


यसअघि इंग्ल्यान्डको पहिलो इनिङ्स २ सय ६९ रनमा रोकिएको थियो । इंग्ल्यान्डबाट ओली पोप ६१ रन बनाई अविजित रहे । स्टोक्सले ४७, जो डेन्लीले ३८, कप्तान जो रुटले ३५, डम सिब्लीले ३४ र जोस बटलरले २९ रन बनाएका थिए । दक्षिण अफ्रिकाबाट कागिसो राबाडाले ३, भेर्नोन फिलान्डर, एनरिच नोर्टजे र ड्वाइन प्रेटोरिउसले २–२ विकेट लिए ।

प्रकाशित : पुस २०, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?