१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

चारदिने टेस्टको विरोधमा कोहली

(एएफपी)

(गुवाहाटी, भारत) — भारतीय राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टेस्ट क्रिकेटको समयावधि ५ दिनबाट ४ दिनमा झार्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को प्रस्तावप्रति कटाक्ष गरेका छन् । वार्षिक क्यालेन्डरको व्यस्तता कारण देखाएर टेस्ट अवधि घटाउने प्रस्तावबारे विश्व क्रिकेट अहिले दुई भागमा विभाजित भएको छ । 

चारदिने टेस्टको विरोधमा कोहली

आईसीसीले सन् २०२३ देखि टेस्ट क्रिकेटको समयावधि छोट्याउने तयारी गरिरहेको समाचारहरूमा जनाइएको छ । यस प्रस्तावमा खेलाडी र आबद्ध देशका क्रिकेट संघहरूबाट मिश्रित प्रतिक्रिया आइरहेको छ । टेस्ट ब्याट्सम्यानको शीर्षस्थानमा रहेका तथा शीर्ष वरीयताको टोली कप्तान कोहलीले टेस्टको प्रारूपमा परिवर्तन गर्न आवश्यक नभएको बताए ।


‘मेरो विचारमा टेस्ट क्रिकेटमा अधिकतम परिवर्तनको रूपमा डे–नाइटसम्म बनाउन सकिन्छ,’ आइतबारदेखि श्रीलंकासँग गुवाहाटीमा हुन लागेको ट्वान्टी–२० खेलअघि पत्रकार सम्मेलनमा कोहलीले आईसीसीतर्फ लक्षित गर्दै भने, ‘तपाईहरूले चारदिवसीय टेस्टले अधिक मनोरन्जनको आस गर्नुहुन्छ भने यो राम्रो सोच हो जस्तो मलाई लाग्दैन ।’


‘यसपछि तपाईंहरू तीनदिवसीय टेस्टको अवधारणा ल्याउनुहोला । मेरो मतलब यस्ता प्रस्ताव कहाँ गएर समाप्त हुने हो त ?’ उनले थपे, ‘म यस्ता परिवर्तनको समर्थन गर्न सक्दिनँ । यो खेलको वास्तविक सुरुआत जसरी भयो त्यसैलाई परिवर्तन गर्नु मलाई उचित लाग्दैन । टेस्टको व्यावसायीकरणका लागि डे–नाइट फर्म्याटमा जान सकिन्छ । तर, यो भन्दा बढी राम्रो हुँदैन ।’


दिवा/रात्रि टेस्टको अवधारणा पहिलोपल्ट सार्वजनिक हुँदा पनि खेलाडीहरूले उल्लेख्य विरोध गरेका थिए । तर विस्तारै उनीहरूले स्विकार्दै आएका हुन् । आईसीसीले सन् २०१७ मा चारदिने टेस्टका लागि अनुमति दिएको थियो । जसलाई आयरल्यान्ड र दक्षिण अफ्रिका तथा जिम्बावे र इंग्ल्यान्डबीचको खेलमा परीक्षण पनि गरिएको थियो । तर, आईसीसीले विश्व टेस्ट च्याम्पियनसिपमा भने त्यसलाई मान्यता दिएको छैन । च्याम्पियनसिपमा अहिले कोहलीको टिम भारत शीर्षस्थानमा छ ।


इंग्लिस, अस्ट्रेलियाली र न्युजिल्यान्डका राष्ट्रिय संघहरूले भने आफूहरू परिवर्तन हुनसक्ने संकेत गरेका छन् । इंग्लिस कप्तान जो रुटसहित केही खेलाडीहरूले भने योजनाबारे पुनर्विचार गर्नुपर्ने बताएका छन् । तर आईसीसीको मुख्य सरोकारवाला संघ भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । कोहलीलगायत केही मुख्य खेलाडी सार्वजनिक रूपमै विरोधमा देखिएका छन् ।


अस्ट्रेलियाका टेस्ट कप्तान टिम पेन यसबारे फरक मत राख्नेमा पर्छन् । उनका अनुसार केही टेस्टहरूलाई चारदिने बनाइए पनि पाँचदिने टेस्ट नै आधिकारिक हुनुपर्छ । अस्ट्रेलियाका सबैभन्दा सफल अफ स्पिनर नाथन लियोनले यस प्रस्तावलाई ‘हास्यास्पद’ भनेका छन् । ‘मेरो विचारमा त्यस्तो भयो भने धेरै खेलहरू बराबरीमा सकिने छन् । किनभने पाँचौं दिन निकै महत्त्वपूर्ण हुन्छ । म यस्तो प्रस्तावको विपक्षमा छु । आशा गर्छु कि आईसीसीले पनि यस विषयमा छलफल बन्द गरोस्,’ हालै न्युजिल्यान्डविरुद्धको टेस्टअघि लियोनले भनेका थिए ।


आईसीसी र उसको प्रस्तावको पक्षमा रहेका राष्ट्रिय संघहरूको भनाइ यो छ कि क्रिकेटको वार्षिक क्यालेन्डर सहज बनाउन पनि चारदिने टेस्ट आवश्यक छ । किनभने टेस्ट, एकदिवसीय र ट्वान्टी–२० अन्तर्राष्ट्रिय र प्रिमियर लिगहरूको संख्या बढ्दो क्रममा छ ।


प्रकाशित : पुस २०, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?