२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २९७

दशकभित्र फेरिएको फुटबल

पछिल्लो १० वर्षमा फुटबल चिन्नै नसकिने गरेर परिवर्तन भएको छ । यो परिवर्तन मैदानबाहिर पनि छ, मैदानभित्र पनि ।
रोरी स्मिथ

लन्डन — विश्व फुटबलको आधुनिक युग कहिले सुरु भयो भनेर ठ्याक्कै भन्न सकिन्छ । त्यो हो, सन् २०११ को जनवरी ९ । यो कहाँबाट सुरु भयो, त्यो पनि ठ्याक्कै भन्न सकिन्छ, रायन बाबेलको ट्वीटरबाट । त्यति बेला यी डच फरवार्ड लिभरपुलका लागि खेलिरहेका थिए ।

दशकभित्र फेरिएको फुटबल

त्यही एक ट्वीटबाट विश्व फुटबल सधैंका लागि परिवर्तनबाट गुज्रियो । पुरानो ढाँचाको फुटबल एकैछिनमा नयाँ जस्तो भइदियो । त्यो दिन के भएको थियो, पहिले त्यसलाई सम्झौं । लिभरपुल एफए कपमा म्यानचेस्टर युनाइटेडसँग पराजित रह्यो । त्यतिबेला लिभरपुल प्रायः यस्ता खेलमा पराजित भइरहन्थ्यो । तर त्यो खेलमा रेफ्री होवार्ड वेबका निर्णय साह्रै विवादास्पद रहे ।

वेबले खेलको पहिलो मिनेटमै म्यानचेस्टरलाई पेनाल्टीको अवसर दिए । पछि लिभरपुलका कप्तान स्टेफन जेरार्डलाई रातो कार्ड देखाए । लिभरपुललाई वेबको निर्णय पटक्कै चित्त बुझेको थिएन । व्यवस्थापक रहेका केनी डग्लसले भनिहाले, ‘पेनाल्टीको निर्णय त खाली ‘जोक’ मात्र हो ।’


बाबेलले आफ्नो रिस फरक तरिकाले पोखे । उनले आफ्नो ट्वीटरमा त्यस्तो तस्बिर पोस्ट गरे, जसमा वेबले म्यानचेस्टरको जर्सी लगाइरहेका थिए । हेर्दा यो सामान्य जस्तो हुनसक्छ, तर विश्व फुटबल फेरिएको त्यही बेलादेखि हो । वास्तवमै यो एक दशकमा विश्व फुटबल निकै तीव्र गतिमा परिवर्तन भएको छ । स्न २०१० मा जस्तो थियो, अब २०२० पुग्दा त्यस्तो रहेन । ‘नोस्टालजिक’ हुने हो भने फुटबल कसरी फेरियो भने जति पनि लेख्न सकिन्छ ।


यो दशक सुरु हुन्छ, विश्व फुटबलमा स्पेनको विश्वकप जितबाट । निकै लामो समयको व्यग्र प्रतीक्षा र लगातारको असफलतापछि स्पेनले ठूलो सफलता चुम्यो । त्यो पनि ‘टिकी–टाका’ शैलीको फुटबल मदतले । तर अहिले फुटबल निकै आक्रामक शैलीमा खेलिन्छ । जर्मनी र अर्जेन्टिनाका फुटबल स्कुलबाट निस्केका यी शैली खुबै द्वन्द्वमय छ । २०१० मा फुटबलमा सकेसम्म बल आफ्नो नियन्त्रणमा राख्ने रणनीति हुन्थ्यो, विपक्षी टिमलाई बल दिन नपाए राम्रो ।



अनि यो दशक रह्यो, ठूल्ठूला क्लबको पनि । यी क्लब झन्झन् धनी हुँदै गए । तिनले केसम्म सोच्न थाले भने अब गरिब क्लब आवश्यक छनै । यो समयमा बार्सिलोना, रियल म्याड्रिड र बायर्न म्युनिखले प्रत्येक २–२ वर्षको अन्तरमा युरोपेली च्याम्पियन्स लिग जित्यो । इंग्ल्यान्डलाई छाडेर युरोपमा अरू प्रमुख लिगमा लिग उपाधि जित्ने हक उनीहरूकै जस्तो मात्र देखियो । अयाक्स जस्तो समृद्ध इतिहास भएको क्लबलाई पनि च्याम्पियन्स लिगमा बाहिरिया टिम मान्न सुरु भयो ।


त्यति मात्र होइन । यो दशक रह्यो, दुई ठूला सुपर स्टार खेलाडी पनि । ती तिनै थिए लियोनल मेसी र क्रिस्टियानो रोनाल्डो । पक्कै पनि यी खेलाडी समग्र विश्व फुटबल इतिहासकै अहिलेसम्मका सबैभन्दा राम्रा खेलाडीमध्येका हुन् । आखिरमा त्यो समय थियो, जतिबेला मेसीले १२ महिनामा ९१ गोल गरेका थिए । त्यस्ता दिन पनि रहे, जहाँ रोनाल्डोले प्रत्येक साता कुनै न कुनै नयाँ कीर्तिमान बनाउन सक्थे । यी दुईले वास्तवमै विश्व फुटबलको रूप फेरेको मान्न सकिन्छ ।


अब मेसी र रोनाल्डो त्यो बिन्दुमा पुगेका छन्, जहाँ नयाँ पुस्ताका खेलाडीलाई पुग्न निकै गाह्रो हुनेछ । यस्तै यो दशकमा विश्व फुटबल विस्तारै विश्वकै सबैभन्दा धनाढ्यहरूको हातमा गयो । म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) जस्ता दुई क्लब यस्ता भए, जुन कुनै देशका लागि कूटनीतिकको एउटा पक्ष रह्यो । सबैभन्दा रमाइलो त के भने अब खेलाडीलाई चिनियाँ सरकारले के सोच्छ र के गर्छ, त्यसमा पनि ध्यान दिनुपर्ने भएको छ ।


यी रहे केही उल्लेखनीय परिवर्तन । तर विश्व फुटबललाई वास्तवमै परिवर्तन गरेको भने यही सामाजिक सञ्जालले पनि हो । सामाजिक सञ्जाल नहुँदो हो त विश्व फुटबल कस्तो हुँदो हो, कल्पना गर्न सकिन्न । बाबेलले गरेको त्यो ट्वीटपछि उनी कारबाहीमा परे, केही दिनको अन्तरमा । यसक्रममा उनी ट्वीटरमा केही लेखेवापत कारबाहीमा पर्ने पहिलो खेलाडी बने । अहिले यही ट्वीटर र अरू सामाजिक सञ्जाल क्लब र खेलाडीका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।


बाबेलकै प्रसंगमा इंग्लिस एफएले भनेको थियो, ट्वीटरमा लेखेको पनि कुनै ठूलो मिडियालाई अन्तर्वार्ता दिएजस्तै हो । त्यसको ९ वर्षपछि अब क्लबले आफ्ना समर्थकसँग दोहोरो कुराकानी गर्ने माध्यम नै भएको छ, यिनै सामाजिक सञ्जाल । खेलाडी समर्थकसँग सम्पर्कमा रहने यसैबाट हो । तर अहिले यही सामाजिक सञ्जाल गलत समाचारको स्रोत पनि भएको छ । यसैले दुई पक्षबीच घृणा फैलाउने र शत्रुको व्यवहार गर्ने माध्यम

पनि भएको छ ।


सन् २०२० को सुरुसँग फेरि पनि विश्व फुटबलमा परिर्वतन आउने छ । नयाँ पुस्ताका खेलाडीले मेसी र रोनाल्डोलाई उछिन्ने प्रयास गर्नेछन् । क्लब र देशको फुटबल समीकरण पनि फेरिनेछ । र, यी सबै देखिने त्यही सामाजिक सञ्जालमै त हो । २०१० पछिको फुटबलले दिएको सबैभन्दा ठूलो योगदान यही हो । दिन सम्झौं, २०११ को जनवरी ९ । र, बाबेलले पोस्ट गरेको त्यो तस्बिर, जसमा वेब म्यानचेस्टर जर्सीमा छन् । सबै परिवर्तन यही बाबेलको एक ट्वीटबाट भएको थियो ।


–न्युयोर्क टाइम्स

प्रकाशित : पुस १९, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?