कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

आर्मी महिला फुटबल च्याम्पियन

धनकुटा — त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई टाइब्रेकरमा हराएर सहिद रिदामाहाङ–रामलिहाङ महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आर्मी महिला फुटबल च्याम्पियन

किरात आठपहरिया समाजको आयोजनामा तल्लो टुँडिखेलमा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा आर्मी पेनाल्टी शुटआउटमा ३–१ ले विजयी भयो ।

आर्मीले पाँच वर्षपछि एपीएफलाई हराएर उपाधि जितेको हो । वर्षाका कारण प्रभावित खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टी शुटआउटमा आर्मीका रश्मिकुमारी घिसिङ, पूजा राना मगर र निशा बोहराले गोल गरे । एपीएफबाट मञ्जु दोङले मात्र गोल गरिन् । एपीएफका प्रभावशाली खेलाडी सावित्रा भण्डारी र गीता रानाको प्रहार बाहिरियो भने अनिता बस्नेतको प्रहार पोलमा लागेर फर्किएको थियो ।


पहिलो हाफमा एपीएफले अधिकांस समय बल कब्जा गरे पनि गोल गर्न चुक्यो । दोस्रो हाफपछि भने आर्मीले विपक्षीलाई दबाबमा राख्यो । पटक–पटक आर्मी र एपीएफले गोल गर्ने मौका खेर फाले ।

विजेता आर्मीमा प्रशिक्षक चक्र तामाङले खेलाडीको लगनशीलताका कारण उपाधि जित्न सहज भएको बताए । उनले २०७१ सालपछि पहिलो पटक एपीएफलाई पराजित गर्न सक्नु आफ्नो टिमको सफलता भएका बताए । एपीएफका प्रशिक्षक जनक सिंहले खेलमा वर्षाका कारण मात्र पराजित हुनुपरेको भन्दै आफ्नो टिम पहिलेकै अवस्थामा बलिलो रहेको दाबी गरे ।

आर्मीले २ लाखसहित ट्रंफी जित्यो भने उपविजेता एपीएफले १ लाख पुरस्कार पायो । फाइनल वुमन अफ द म्याच आर्मीकी पूजा राना मगर घोषित भइन् । एपीएफकी सावित्रा भण्डारी सर्वोकृष्ट खेलाडी भइन् ।

फरवार्डमा आर्मीकी रश्मिकुमारी घिसिङ, मिडफिल्डरमा एपीएफकी रेनुका नगरकोटे, डिफेन्समा एपीएफकी गीता राना, गोलकिपरमा आर्मीकी अञ्जना रानामगर, सर्वाधिक गोलकर्तामा आर्मीकी शर्मिला थापा मगर र उदीयमान खेलाडीमा आयोजक धनकुटाकी सुस्मिता राई उत्कृष्ट घोषित भए । प्रशिक्षकमा आर्मीका चक्र तामाङ उत्कृष्ट भए ।


विजेतालाई धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङ, उपप्रमुख शकुन्तला बस्नेतलगायतले पुरस्कार तथा ट्रफी प्रदान गरे । पुस १३ देखि भएको प्रतियोगितामा तीन विभागीयसहित ८ टोलीको सहभागिता थियो ।

प्रकाशित : पुस १९, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?