ए डिभिजन लिग : आर्मीको ‘मीठो’ खेल
काठमाडौँ — सबैभन्दा पहिले प्रश्न । कसले भन्छ, लिगका खेल रोमाञ्चक हुन्न ? जतिले बुधबार सहिद स्मारक लिग ए डिभिजनमा आर्मी र थ्री स्टारबीचको खेल टिकट काटेर हेरे, तिनले महसुस गर्दो हो, त्यसको मूल्य त सस्तो पो रहेछ ।
जति नेपाली फुटबल पारखीले सातदोबाटोको एन्फा कम्प्लेक्समा भएको खेल हेर्न पाएनन्, तिनले पनि महसुस गर्दो हो, यो खेल हेर्न पाएको भए, कति राम्रो हुने थियो ।
आर्मीले पस्केको खेल नै यस्तै ‘मीठो’ थियो । त्यो खेलमा ‘पेस’ त गज्जब थियो नै, त्यसलाई सुहाउँदा ‘टेकनिक’ पनि । अनि यो खेलमा यति धेरै कथा र पटकथा रहे कि यसलाई नेपाली घरेलु फुटबलले धेरैपछिसम्म सम्झिनेछ । केही वर्ष अगाडिसम्म पनि आर्मीको खेलमा गति त धेरै हुन्थ्यो, तर त्यसमा प्रविधि भने हुँदैन थियो । आर्मीका खेलाडीले सय मिटर दौड जस्तो गरेर खेल्थे, बलमाथिको नियन्त्रण र रणनीति हुँदैन थियो । अब आर्मीको खेलमा यो दुवै हुन थालेको छ र त्यसैले बनेको छ, यो लिग उपाधिको सबैभन्दा राम्रो दाबेदार ।
पूरा खेलको दुई पक्ष रहे । पहिले थ्री स्टारको प्रसंग । आर्मीको सामना गरेको टिममा नियमित कप्तान विक्रम लामा थिएनन् । उनी दुई पहेँलोको कार्ड खाएर दर्शकदीर्घातिर थिए । पहिलो तीन चरणको खेलमा कुनै गोल नखर्चेको थ्री स्टारको डिफेन्सलाई यसले वास्तवमै कमजोर बनाएको थियो । त्यसमाथि विक्रमको अनुपस्थितिमा नेतृत्व गरिरहेका अनन्त तामाङले आफ्नो प्रतिष्ठा अनुसार खेल्न नै सकेनन् । नत्र उनी एउटै खेलमा एकभन्दा बढी समय ‘बिट’ हुने डिफेन्डर नै होइनन् ।
सन्तोषको पुनरागमन
अब खेलको योभन्दा पनि महत्त्वपूर्ण पक्ष । आर्मीका लागि यो खेलबाट सन्तोष तामाङले पुनरागमन गरे । आर्मीले सबैभन्दा ‘मिस’ गरिरहेको खेलाडी उनी नै थिए, तर उनी आफै भने प्रतिबन्धबाट गुज्रिरहेका थिए । विश्वकप छनोटमा कुवेतविरुद्ध खेल्न भुटान जान अगाडि उनी ‘डिस्को काण्ड’ फसे र प्रतिबन्धमा परे । जति समय प्रतिबन्धमा परे, त्यो उनको पूरा जीवनकै सबैभन्दा बिर्सनलायक क्षण रह्यो, उनले भने पनि, ‘त्यस्तो कुनै दिन रहेन, जुन दिनम म नरोई बसेको ।’ उनले भुटान जानको ठीक अघिल्लो दिन रातभरि बाहिर डिस्कोमै बिताएका थिए र त्यसको फल पनि भोगे ।
‘त्यो मैले आफ्नो खेल जीवनमा गरेको सबैभन्दा ठूलो भूल हो, म माफी माग्न चाहन्छु,’ उनले पछि भने, ‘म कुन दिन खेलमा फर्कने हो भने पर्खिरहेको थिएँ । आज मैदानमा फर्कन पाएकोमा निकै खुसी छु ।’ उनी खेलमा मात्र फर्केनन्, खेलको ७९ औं मिनेटमा फ्रि–किकबाट सुन्दर गोल पनि गरे । उनले ४० यार्डबाट गरेको प्रहारले सुरुमा सिधा दिशा लिएको थियो ।
तर अन्तिम क्षणमा त्यसले घुमाउरो बाटो तय गर्यो र बलले पोस्टको दिशा लियो । थ्री स्टारका गोलरक्षक प्रिसो निन्गा आफ्नो स्वाभाविक ‘पोजिसन’ मा थिएनन् । सन्तोषले बल प्रहार गर्न अगाडि नै त्यसबारे छनक पाइसकेका थिए । गोल के मात्र भएको थियो, उनले आफ्ना समर्थकतिर फर्केर दुवै कान थुने । पछि उनले भने, ‘मलाई सबैभन्दा मन पर्ने खेलाडी बार्सिलोनाका (बायर्न म्युनिख) फिलिप कोउटिन्हो हुन् । उनले जस्तै मैले पनि गोलको खुसियाली मनाएँ ।’
खासमा कोउटिन्होले बार्सिलोनामा रहँदा समर्थकको विरोधमा त्यसो गरेका हुन्, तर सन्तोषको आशय भने त्यस्तो थिएन । खालि त्यो नक्कल मात्र थियो । खेलपछि प्रशिक्षक नवीन न्यौपानेले पनि उनको खुलेर प्रशंसा गरे । उनले भने, ‘हाम्रो टिममा कोही एक जना खेलाडीको मात्र कमी महसुस भइरहेको थियो भने त्यो सन्तोषको मात्र थियो । उनी अब टिममा फर्केका छन्, हामी बलियो भएका छौं । अब लिग उपाधिका लागि चुनौती पेस गर्नेछौं ।’
कमजोर थ्री स्टार
अरू बेला ठूलठूला दाबी गर्न पछाडि नहट्ने थ्री स्टारा प्रशिक्षक मेघराज केसीले पनि माने, ‘आज त हामी आर्मी अगाडि निरीह नै सावित भयौं ।’ उनको यो भनाइ ठीक पनि थियो, किनभने थ्री स्टार घरेलु फुटबलमा यसरी कुनै प्रतिद्वन्द्वी टिमविरुद्ध यत्ति फिक्का सावित भएको पहिलो पल्ट हुन सक्छ । त्यसमाथि रूपेश केसीले खेलको अन्त्यतिर पेनाल्टीमा गोल गर्न पनि सकेनन् । प्रशिक्षक केसीले थपे, ‘थ्री स्टार आज आर्मीको खेल अगाडि धेरै पछाडि देखियो । हामीलाई एक पास खेल्न पनि गाह्रो भइरहेको थियो, किनभने आर्मीको खेलमा यति धेरै गति थियो ।’
प्रशिक्षक केसीको पनि निचोड थियो, आर्मीले यो खेल जित्नुको प्रमुख कारण हो, टिमको खेलमा तीव्र गतिको छ नै, त्यसमाथि प्राविधिक रूपमा पनि उत्कृष्ट छ ।
आर्मीका लागि पहिलो गोल भने ५४ औं मिनेटमा सम्भव भएको थियो र यो नवयुग श्रेष्ठको नाममा रह्यो । उनले कप्तान भरत खवासको सटिक पासमा भली प्रहार गर्दै उत्तिकै सुन्दर गोल गरे । यो लगभग तीन वर्ष अगाडि नवयुगले गुवाहटीमा भारतविरुद्ध दक्षिण एसियाली खेलकुदमा गरेको गोल जस्तै थियो ।
उनले भने, ‘मैले भारतविरुद्ध गरेको त्यो गोल नै उत्कृष्ट हो, तर आजको गोल पनि कम्तीको थिएन । घरेलु फुटबलमा मैले गरेका गोलमध्ये यो सम्भवतः सबैभन्दा राम्रो हुन सक्छ ।’ खेलपछि उनले जर्सी फुकालेर खुसियाली मनाए र पहेँलो कार्ड पनि खाए । सम्भवतः उनलाई यसले पुर्याउन सक्ने क्षतिको हेक्का नहुन सक्छ । यही खेलपछि दोहोरो पहेँलो कार्डको मारमा परेका विक्रम मैदान बाहिर गुनासो पोख्दै थिए । अनौपचारिक नै सही, उनको भनाइ थियो, ‘मैले यही दुई कार्ड नखाएको भए ?’
बिर्सनलायक खेल
अब अन्त्यमा पनि प्रश्न । कसले भन्छ, कसले भन्छ लिगका सबै खेल रोमाञ्चक हुन्छ भनेर । पुलिस र संकटाबीचको खेल यस्तै रह्यो, सर्वथा बिर्सनलायक । टिकट काटेर खेल हेरेका दर्शकलाई भने यसमा पछुताउ हुन सक्छ । पुलिसका लागि दुवै गोल सुमन लामाले गरे, १५ र ३३ मिनेटमा । संकटाका तर्फबाट अमित तामाङले १८ औं मिनेटमा एक गोल फर्काए । खेलपछि संकटा प्रशिक्षक विजय महर्जनले ठीकै भने, ‘संकटाले यति खराब खेल्छ भनेर मैले सोचेको पनि थिइनँ ।’
प्रकाशित : पुस १७, २०७६ ०८:५६