कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

पोखरा प्रिमियर लिगको उपाधि चितवनले जित्यो, फाइनलमा विराटनगर ३२ रनले पराजित

पोखरा — पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट दोस्रो संस्करणको उपाधि चितवन राइनोजले जितेको छ । गत संस्करणमा उपविजेता बनेको चितवनले शनिबार पोखरा रंगशालामा सम्पन्न फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हरायो ।

पोखरा प्रिमियर लिगको उपाधि चितवनले जित्यो, फाइनलमा विराटनगर ३२ रनले पराजित

२ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमात्र बनाउन सक्यो । उसका लागि ओपनर मोहम्मद जायद खानले अर्धशतकीय पारी खेले ।

तर अर्का ओपनर सुनील धमलाले ४ रनमात्र बनाउन सके । उनलाई सन्नी पटेलले बोल्ड गरेका हुन् । तेस्रो ओभरमा लोकेस बम पनि करण केसीको बलमा लङअन क्षेत्रमा बाबर हायतबाट क्याचआउट भएपछि विराटनगर सुरुमै समस्यामा परेको थियो ।


तेस्रो विकेटका लागि जायदले नोमन खानसँग मिलेर ५३ रनको साझेदारी गर्दै पारी उकास्ने प्रयास गरे । ओभरथ्रोमा रन लिने प्रयास गर्दा रनआउट भएका नोमनले १८ रन जोडे । त्यसपछि आएका कप्तान प्रदीप ऐरीसँग मिलेर जायदले चौथो विकेटका लागि ४१ रनको साझेदारी गरे । १४.१ ओभरमा जाइद ५७ रनको स्कोरमा आउट भए । उनले ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे ।


पाँचौं विकेटका लागि पुनित मेहरा र कप्तान प्रदीपले ४७ रनको साझेदारी गरेका थिए । १७.५ ओभरमा पुनित मेहरा ३२ रनको स्कोरमा आउट भएपछि विराटनगरको हार निश्चित बन्यो । त्यसपछि लगातार विकेट झरिरहृयो । १९ औं ओभरमा करण केसीले दिलिप नाथलाई खाता नखोली आउट गराए । कप्तान प्रदीपलाई पनि ३६ रनको स्कोरमा आउट गराए । प्रदीपले २५ बलमा ३ चौका र १ छक्का प्रहार गरे । बलिङमा करण केसीले ३, सन्नी पटेलले २ र रोहन मुस्तफाले १ विकेट झारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनका लागि रोहन मुस्तफा र अनिलकुमार साहले अर्धशतकीय योगदान गरे । करण केसीले अन्तिम ओभरमा विस्फोटक ब्याटिङ गरी ८ बलमा २६ रन प्रहार गरे ।


पहिलो विकेटका लागि कप्तान पारस खड्का र रोहनले ३६ रनको साझेदारी गरी राम्रो सुरुआत दिलाएका थिए । ३.२ ओभरमा किशोर महतोको बलमा आउट हुनुअघि पारसले ११ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए । तेस्रो नम्बरमा आएका बाबर हायत अर्को ओभरमा ५ रनमै आउट भए ।


तर तेस्रो विकेटका लागि रोहनले अनिलकुमार साहसँग मिलेर ९५ रनको साझेदारी गरेपछि चितवन विशाल योगफलतर्फ अघि बढेको थियो । १६ औं ओभरमा दुवै ब्याट्सम्यान पुनित मेहराको बलमा आउट भएका हुन् । अनिलले ३४ बलमा ३ चौका र ३ छक्का तथा रोहनले ४३ बलमा ३ चौका र १ छक्कासहित समान ५०/५० रन जोडेका थिए । आरिफ शेखले ११ बलमा १९ रन जोडेर आउट भए ।


छैटौं विकेटका लागि सन्नी पटेल र करण केसीले ११ बलमा ३२ रनको साझेदारी गरेपछि चितवनले २ सय रनको स्कोर पार गरेको हो । समान ८/८ बल खेलेका सन्नी र करणले क्रमशः १६ र २६ रन प्रहार गरे । करण केसीले विराटनगरका किशोर महतोको अन्तिम ओभरमा २ चौका र २ छक्कासहित २४ रन जोडेका थिए ।


बलिङमा विराटनगरका मोहम्मद जाइद आलम र पुनित मेहराले २/२ विकेट लिए । किशोरले १ विकेट झारे ।

हामी ट्विटर मार्फत निरन्तर अपडेटमा छौं ।

प्रकाशित : पुस १२, २०७६ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?