मस्तीको स्वर्ण

विनाेद पाण्डे

काठमाडौँ — विप्लवलाल श्रेष्ठ सातामा एक दिन स्कुल पुगेर विद्यार्थीलाई कराते सिकाउँछन् । शुक्रबार उनको यही दैनिकी थियो । उनी आफू आबद्ध आइजे पायोनियर स्कुलमा गएर सिकाउनुपर्थ्यो । एक महिना बितेको छैन यी युवा खेलाडीले घरेलु भूमिमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा करातेबाट स्वर्ण जितेको । 

मस्तीको स्वर्ण

स्कुल पुग्दा आफूले स्वर्ण जितेको बारे धेरै बेखबर जस्तै थिए । स्कुलमा पढाउने धेरै शिक्षकहरू विप्लवको स्वर्णबारे जानकार थिएनन् । उनको सफलताबारे स्कुलमा धेरैले शुक्रबार (हिजो) मात्रै थाहा पाएका थिए । अब भने स्कुलले उनको स्वर्ण पदकको बहादुरीमा सम्मान गर्ने कार्यक्रम बनाइरहेको छ ।


विप्लव खासमा सागको सफलताले ‘सेलिब्रेटी’ भइन्छ कि भन्नेमा थिए । तर अझै खेलकुद धेरैको पहिलो प्राथमिकतामा नरहेको पाए । सानोतिनो सम्मान र बधाईको ओइरो पाइरहेका छन् । उनले भने त्यो भन्दा ठूलै सोचेका थिए । त्यसैले होला सागपछि पनि जुन रौनक आउनुपर्ने हो त्यो उनले देखेका छैनन् । अनुभूति गर्न पाएका छैनन् ।

‘कतै केही प्रतिक्रिया आएको छैन, सागअघि सामान्य जीवन जसरी चलेको थियो, त्यस्तै चलिरहेछ,’ पुसको चिसोजस्तै सागपछिको माहोलले उनलाई आश्चर्य पारेको छ । लोकप्रियता बढ्ला, क्रमशः सम्मानका कार्यक्रम आउला भन्ने थियो उनलाई । त्यस्तो केही महसुस नै गर्न पाएनन् । स्वर्ण पदकले उनमा सोचेजस्तो केही परिवर्तन ल्याएको छैन । नेपालले १३ औं सागमा पदकको ओइरो लगाएकाले पनि पदक विजेताको सम्मानमा कमी आएको हुनसक्ने उनको आँकलन छ ।


जबकि १३ औं सागसम्म विप्लवको यात्रा आफैंमा अनौठो थियो । चैत–वैशाखमा नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदका विजेता खेलाडीलाई मात्र बन्द प्रशिक्षणमा राखिएको थियो । विप्लवले भने आठौं राष्ट्रिय खेलकुद खेलेकै थिएनन् । अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिप खेल्न गएका बेला उतै मस्ती गरिरहेका थिए । त्यही मस्ती उनको साग स्वर्ण यात्राको एउटा कारण बन्यो ।


अस्ट्रेलियन ओपनमा उनले ७४ केजी तौलमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता सकिएपछि उनी तीन महिना थप अस्ट्रेलियामै बसे । सिड्नी, क्यानबेरा सबैतिर घुमे । अस्ट्रेलियामा मस्तीका क्रममा कमाएको उनको तौल थियो । उनको ज्यान बढेर ८६ केजी पुगेको थियो । नेपाल फर्किएपछि उनमा खेल्न छाडेर व्यवसाय गर्छु भन्ने सोच थियो । अल्लारे निर्णयमा उनको खेल्ने मन मरिसकेको थियोभन्दा हुन्छ ।


विकास कार्की उनका मिल्ने साथी हुन् । दुवै एकअर्कालाई ‘राजा’ भनेर सम्बोधन गर्छन् । विप्लवलाई राष्ट्रिय खेलाडी हुनुको अर्थ विकासले बुझाइरहेका हुन्थे । त्यसैले विप्लवको मन बदलिएको थियो । उनमा फेरि कराते खेल्ने भोक जाग्न थाग्यो । सागका यसअघिका स्वर्णधारी विनोद शाक्यदेखि विनोद महर्जन, मीनकृष्ण महर्जनले विप्लवलाई हौसला भरिरहन्थे । उनलाई घरबाट करातेमा लाग्न ठूलै हौसला छ । आठौं साफमा करातेमा स्वर्ण जितेका सुरेन्द्रलाल श्रेष्ठ उनका काका हुन् । उनैले विप्लवलाई रंगशालाको केन्द्रीय डोजोसम्म पुर्‍याए । अनि दसौं सागका स्वर्ण विजेता विनोद शाक्यमार्फत प्रशिक्षण गराए । बुवा, आमा, दिदीहरू पनि उनले कराते खेलेकामा रमाउँछन् ।


आठौं राष्ट्रिय नखेलेकाले उनलाई सागमा नेपाली टोलीमा पर्छु भन्ने मनमै लागेको थिएन । तर करातेमा धेरै विवाद हुने भएकाले छनोटका लागि एउटा मौका आउँछ भन्ने उनलाई भित्रैदेखि लागिरहेको थियो । आखिर त्यो मौका आयो । अर्थात उनले सागमा नेपाली टोलीमा पर्न छनोट खेल्न पाउने भए । अस्ट्रेलियामा फर्मबाहिर रहेकाले उनी लयमै थिएनन् । त्यहाँबाट फर्केपछि व्यक्तिगत प्रशिक्षण भने गरिरहेका थिए ।

नेपाली राष्ट्रिय कराते टोलीका अर्का खेलाडी दिवस श्रेष्ठ र विप्लवको एउटै तौल समूह थियो । यी दुईबीचमा भद्र सहमति थियो । एउटा माथिल्लो तौल र अर्को त्यही तौल समूहबाट खेल्ने । अस्ट्रेलियाको मस्तीले गर्दा विप्लव यसपल्ट तौल घटाएर खेल्ने स्थितिमा थिएनन् । उनले ८४ केजीमाथि अर्थात हेभीवेटमा खेल्नुपर्ने भयो । प्रतिभावन खेलाडीका लागि मौका भनेर आठौं राष्ट्रिय खेलकुद नखेलेका खेलाडीलाई छनोटको अवसर दिइएको थियो ।


विप्लव नेपाल पुलिस क्लबबाट खेल्छन् । उनले फाइनलमा आर्मीका खेलाडीलाई हराएर सागमा छनोट भए । उनीसँगै १६ खेलाडी छनोट भएपछि सागको बन्द प्रशिक्षणका लागि नेपाली खेलाडीसंख्या १ सय २ पुगेको थियो । बन्द प्रशिक्षणको बिहान र बेलुकी २–२ घण्टाको अभ्यासले विप्लवलाई लयमा ल्याइसकेको थियो । सागको क्याम्प सुरु भए पनि अरु धेरै खेलजस्तै कराते टोली पनि अन्योलमा थियो । खेल सामग्री आइपुगेको थिएन, साग हुने नहुने अन्योल थियो । करातेको प्रशिक्षक विवाद उत्कर्षमा थियो । अन्य खेलाडी यस्तै विषयमा कानेखुसी हुने गरेको विप्लव स्मरण गर्छन् ।


खेलाडीलाई राम्रोसँग निखार्ने कार्य नेपाली प्रशिक्षकले नै गरेको उनी जनाउँछन् । निकै उपयोगी मानिएको डाइट, न्युट्रिसियन नेपाली टोलीसँग थिएन । ‘बिहान र बेलुकै दालरोटी खाएर ज्यान घटाउने पनि हाम्रो टोलीमा थिए,’ उनी नेपालको कमजोर पक्ष उप्काउँछन् ।


कराते टोलीलाई १० दिन मलेसियामा सागको बन्द प्रशिक्षणमा राखिएको थियो । त्यसपछि बंगलादेशमा दक्षिण एसियाली कराते च्याम्पियनसिप खेल्न गयो नेपाली टोली । १३ औं सागको स्वर्ण पदकको संकेत विप्लवले त्यहींबाट दिएका थिए । भारत नभएकाले नेपालले १३ औं सागमा स्वर्ण पदकको ओइरो लगाएको आरोपहरू आइरहेका छन् । बंगलादेशमा विप्लवले पहिलो खेलमै भारतीय खेलाडीलाई ढालेका थिए । उनलाई नेपाली टोलीले स्पष्ट भनेको थियो, ‘भारतलाई हराऊ, स्वर्ण तिम्रै हुनेछ ।’ भयो पनि त्यस्तै । उनले फाइनलमा पराजित गर्न बंगलादेशी खेलाडीलाई खासै गाह्रो भएन ।


१३ औं सागअघि बंगलादेशको सफलताले उनको मनोबल उच्च बनाएको थियो । सागमा पहिलो खेलमा उनले श्रीलंकाका म्यागोना विमलासिरीलाई टेक्निकलका आधारमा पराजित गरे । विप्लवका अगाडि श्रीलंकाली प्रतिद्वन्द्वी १ मिनेट १० सेकेन्ड पनि टिक्न सकेनन् । ८–० ले खेल जिते । पाकिस्तानबाट सागमा नेपालले करातेमा निकै ठूलो चुनौती पाउने अनुमान गरिएकै थियो । विप्लवले त्यो फाइनलमा भोगे । विप्लव पाकिस्तानी खेलाडी मोहम्मद बाजसँग ०–२ ले पछाडि परिसकेका थिए ।


अर्को एकपटक ३–४ ले पछाडि परे । दुवै पटक उनले बाजारी प्रहार गर्दै २–२ अंक जोडेर खेल ६–५ ले आफ्नो पक्षमा पल्टाएका थिए । सागमा उनको बाजारी किक राम्रैसँग चल्नु एउटा संयोग बन्यो । सेमिफाइनलमा पनि उनले यही हानेका थिए । उनको विशेषता ग्याकुचुकी (पञ्चले हान्ने) हो । कुरेर खेल्ने उनको शैली छ । यो पनि चल्यो तर बाजारीले स्कोर बढाइदियो । यसले उनलाई आफ्नो खेलमा एउटा नयाँ आयाम दिएजस्तो लाग्छ । उनको खेलमा नयाँ टेक्निकको विकास भएको उनी मान्छन् ।


सागलगत्तै सरकारले स्वर्ण विजेतालाई ९ लाख रुपैयाँ दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिसकेका छन् । त्यो रकम विजेताहरूले अझै पाएका छैनन् । अहिलेसम्म आफूले अरु काम केही नगरेकाले त्यो रकम घरमा दिने उनको योजना छ । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने मौका आएमा त्यो रकम त्यसमा खर्च गरेर खेल्न जाने उनको अर्को योजना पनि छ ।


विप्लवलाई उछिन्न सकेको भए पाकिस्तानी खेलाडी बाजले साग स्वर्णमा ह्याट्रिक गर्नेथिए । विप्लवले उनको अविजित यात्रामा ब्रेक लगाइदिए । विप्लवको टेक्निकमा उनको केही चलेन । ‘मेरो उमेर छ, साग निरन्तर भयो भने ह्याट्रिक स्वर्ण जित्ने मेरो पनि सुर छ,’ उनमा पनि नेपालबाट सागमा तीन वा सो भन्दा बढी स्वर्ण जितेका दीपक विष्ट, गौरिका सिंह, वैकुण्ठ मानन्धर, आयशा शाक्य जस्तै महान् खेलाडीको सूचीमा उभिने भोक छ । त्यसपछि आफू पनि ‘सेलिब्रेटी’ बन्ने उनको धोको छ ।

प्रकाशित : पुस १२, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?