कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पीपीएल फाइनल : अनुभवीविरुद्ध युवा जोस

चितवन राइनोज र विराटनगर टाइटन्स शनिबार पीपीएल उपाधिका लागि भिड्दै

पोखरा — पोखरा प्रिमियर लिग क्रिकेट (नमस्ते पीपीएल) को दोस्रो संस्करणको उपाधिका लागि चितवन राइनोज र विराटनगर टाइटन्सबीच शनिबार पोखरा रंगशालामा प्रतिस्पर्धा हुँदै छ । खेल बिहान ११:३० मा सुरु हुनेछ ।

पीपीएल फाइनल : अनुभवीविरुद्ध युवा जोस

चिवतन गत संस्करणको उपविजेता हो । चितवनका कप्तान पारस खड्का र विराटनगरका कप्तान प्रदीप ऐरी दुवैले फाइनलमा राम्रो र सकारात्मक क्रिकेट खेल्ने बताए ।


चितवन अनुभवी खेलाडीले भरिएको टिम छ । राष्ट्रिय टोलीका पूर्व कप्तान पारससँग नै धेरै घरेलु फ्रेन्चाइज प्रतियोगितामा फाइनल खेलेको अनुभव छ । राष्ट्रिय टोलीका करण केसी, आरिफ शेखलगायतले एकरुपको प्रदर्शन गरिरहेका छन् । नेपाली लिगमा छुट्टै पहिचान बनाउन सफल विदेशी खेलाडी भारतका सन्नी पटेल, हङकङका पूर्व कप्तान बाबर हायत, यूएईका पूर्वकप्तान रोहन मुस्तफा टिमका मुख्य हतियार हुन् । लिग चरणमा शतप्रतिशत जित पाउने क्रममा यी तीन खेलाडीको प्रदर्शन नै निर्णायक रह्यो ।


त्यस विपरीत विराटनगरमा युवा र कम अनुभवी खेलाडीको जमघट छ । उनीहरू निकै कठिन गरी प्लेअफ हुँदै फाइनलमा पुगेका हुन् । लिग चरणमा ५ मध्ये २ खेल जितेर सनसनीपूर्ण सफलता पाएको विराटनगरका कप्तान प्रदीप आफैं फ्रेन्चाइज क्रिकेट पहिलोपल्ट नेतृत्व गरिरहेका छन् । विराटनगरले उपाधि जित्नका लागि शाहब आलम, लेकेश बम, किशोर महतो, मिनास थापालगायतका युवा खेलाडीबाट राम्रो नतिजाको आशा गर्नुपर्नेछ । पुनीत मेहराबाहेक अन्य दुई विदेशी खेलाडी पाकिस्तानका मोहम्मद जाइद आलम र नोमन खान नेपाली लिगका नयाँ अनुहार हुन् । अलराउन्डरको रूपमा आलमले राम्रो गरिरहेका छन् । नोमनको प्रदर्शन औसत छ ।


फाइनलमा प्रवेश गरेलगत्तै विराटनगरका कप्तान प्रदीपले आफ्नो टिममा युवा खेलाडी बाहुल्य रहेकाले उनीहरूलाई बेला–बेलामा झक्झक्याउनुपर्ने अवस्था रहेको बताएका थिए । त्यो भनेको उनीहरूलाई पटक–पटक जिम्मेवारीबोध गराउनु हो । लिग चरणको अन्तिम खेल तथा इलिमिनेटर चरणमा बुटवल ब्लास्टर्सलाई पराजित गर्दा विराटनगरका युवा खेलाडीको जोशले धेरै भूमिका खेलेको थियो । कप्तान प्रदीप यही लयलाई निरन्तरता दिन चाहन्छन् ।


‘पछिल्ला खेलहरूमा हामीले जस्तो क्रिकेट खेलिरहेका छौं, त्यसलाई निरन्तरता दिन चाहन्छौं । फाइनलमा विपक्षी टिम निकै बलियो छ, अनुभवी खेलाडी छन् र सबै खेल जितेर आएको छ । फाइनलको नतिजा भोलिको अवस्थामा भरपर्ने कुरा हो । कस्तो अवस्थामा कस्तो प्रदर्शन आवश्यक पर्छ त्यहीअनुसार मैदानभित्रै योजना बनाएर खेल्नेछौं,’ कप्तानको रूपमा पहिलोपल्ट फ्रेन्चाइज प्रतियोगिताको फाइनल खेल्न पाउँदा उत्साही रहेको बताएका प्रदीपले शुक्रबार भने, ‘राम्रो क्रिकेट खेल्न कमभन्दा कम गल्ती गर्नुपर्छ । भोलिको खेलमा हामी त्यही गल्ती कम गर्ने प्रयास हुनेछौं । ब्याटिङमा पछिल्ला दुई खेलको लय निरन्तरता दिने प्रयास गर्नेछौं । बलिङका लागि विशेष योजना बनाउनुपर्छ । विपक्षी ब्याट्सम्यान हेरेर बलर प्रयोग गर्नेछौं ।’


चितवनका कप्तान पारस भने टिमको अहिलेसम्मको प्रदर्शनबाट सन्तुष्ट हुने ठाउँ रहे पनि फाइनलमा विपक्षीलाई कमजोर रूपमा लिन नहुनेमा दृढ छन् । ‘हामीले पछिल्ला ५ खेलमा निकै राम्रो क्रिकेट खेल्यौं । विपक्षीलाई अवसर दिएनौं । सबैले आ–आफ्नो जिम्मेवारीअनुसार खेलेका थिए । हिजो के भयो भन्दा पनि भोलि के गर्ने भन्नेमा चिन्तित हुनुपर्छ । लिग चरणमा हामीलाई विराटनगरले नै कठिन पारेको थियो,’ कप्तान पारसले थपे, ‘विराटनगर टाइटन्स फाइनलमा किन छ भने उनीहरूले राम्रो र सकारात्मक क्रिकेट खेलिरहेका छन् । हामीले पनि त्यस्तै खेलेका छौं । त्यसैले फाइनलमा छौं । यसको अर्थ दुवै टिमको सम्भावना बराबर छ ।’


लिग चरणमा चितवनले विराटनगरलाई १८ रनले पराजित गरेको थियो । चितवनले दिएको १ सय ४७ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लोकेश बमले ६१ रनको सानदार इनिङ्स खेलेका थिए । जसको इनिङ्स विपक्षी कप्तानले पारसले पनि तारिफ गरे ।


‘दुवै टिममा म्याच फिनिसरहरू छन् । सबैले आफ्नो जिम्मेवारी सही ढंगले बहन गरेर खेल्नुपर्छ । क्रिकेटमा एकजनाले नै खेलको नतिजा फरक पारेका धेरै उदाहरण छन् । हामी ढुक्क छैनौं, किनभने दुवै टिम उत्कृष्ट छन् र दुवैले जुनसुकै बेला एकअर्कालाई हराउन सक्ने सामर्थ्य राख्छन्,’ पारसले थपे । अपराजित नतिजा निकाल्ने क्रममा चितवनका शीर्षक्रमका ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय छ । उनीहरूको मध्यक्रम परीक्षण भइसकेको छैन । कप्तान पारसले टिमका सबै खेलाडीले आफ्नो जिम्मेवारी लिएमात्र सफलता हासिल गर्न सकिने बताए ।


‘टिमका सबै खेलाडीले आफ्नो जिम्मेवारी लिनुपर्छ । ब्याट, बल र फिल्डमा समग्र राम्रो भएमात्र राम्रो नतिजा आउने हो । रन स्कोर र जितको हिसाबमा हामी अलिकति माथि छौं । भोलि पनि त्यस्तै होस् । टप वा मिडिलअर्डर भन्ने हुँदैन । किनभने सबै खेलाडीलाई जे जिम्मेवारी दिइएको हो त्यो पूरा गर्ने हो,’ कप्तान पारसले भने, ‘अघिल्लो संस्करणमा हामी फाइनलमा हारेका कारण हामी अहिले उपाधि जित्न चाहन्छौं । तर सजिलो चाहिँ हुने छैन । विराटनगरले निकै राम्रो क्रिकेट खेलेको छ । क्रिकेट भनेको यस्तो खेल हो कि पेपरमा भन्दा पनि मैदानमा तपाईले गर्ने प्रदर्शनबाट नतिजामा असर पर्छ ।’

प्रकाशित : पुस १२, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?