कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पीपीएल : विराटनगर फाइनलमा, उपाधिका लागि चितवनसँग खेल्ने

पोखरा — बुटवल ब्लास्टर्समाथि २१ रनको जित रच्दै विराटनगर टाइटन्सले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को फाइनलमा स्थान बनाएको छ । विराटनगरले उपाधिका लागि चितवन राइनोजसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । 

पीपीएल : विराटनगर फाइनलमा, उपाधिका लागि चितवनसँग खेल्ने


१ सय ६६ रनको लक्ष्य पछ्याएको बुटवलले इनिङको अन्तिम बलमा १ सय ४४ रनमै समेटियो । पहिलो विकेटका लागि अफ्ताबुद्दिन अहमदले शंकर रानासँग मिलेर ५३ रनको साझेदारी गर्दै राम्रो सुरुआत दिलाएका थिए । अफ्ताबुद्दिनले २२ बलमा ४ चौका र २ छक्काको सहयोगमा ४३ रन जोडे । अर्का ओपनर शंकर राना पनि ४ रनको स्कोरमा आउट भउ । बिदेशी ब्याट्सम्यान हर्ष टंक २ रनमै आउट हुँदा बुटवलको स्कोर ६.४ ओभरमा ५८/३ को स्थितिमा पुग्यो ।


चौथो विकेटका लागि भीम सार्की र शिवम् सिंहले ३६ रनको साझेदारी गरी पारी उकास्ने प्रयास गरे । शिवम्ले १४ रन बनाएर आउट भएपछि आएका पुरन बिकेसँग भीमले पाँचौं विकेटका लागि ३३ रनको साझेदारी गरेका थिए । १५ रनको स्कोरमा खेलिरहेका पुरन बिक १५.२ ओभरमा दुर्भाग्यशाली रनआउट भएपछि बुटवलको पारी धर्मराएको थियो ।

अर्को ओभरमा भीम पनि ४४ रन बनाएर पेविलियन फर्किए । उनले ३४ बलमा ३ चौका र २ छक्का प्रहार गरे । त्यसपछिका ब्याट्सम्यानहरुले दोहोरो अंकको रान छुन सकेनन् । अन्तिम २ ओभरमा बुटवललाई २६ रनको आवश्यकता थियो । १९ औं ओभर जितेन्द्र मुखियाले रन नदिएपछि विराटनगरको जित निश्चित बनेको हो ।


बलिङतर्फ साहव आलमले ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चिए । अन्तिम ओभरमा पुनित मेहराले ३ विकेट लिए । जितेन्द्र मुखिया, किशोर महतो र मुहम्मद जाइद आलमले १/१ विकेट झारे ।


यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले ओपनर सुनील धमलाको अर्धशतकीय योगदानमा ५ विकेटको क्षतिमा १ सय ६५ रनको योगफल खडा गरेको थियो ।

सुनील र मोहम्मद जायद आलमले पहिलो विकेटका लागि ३९ रनको साझेदारी गरेका थिए । भीम सार्कीबाट रनआउट हुनुअघि आलमले २० रन जोडे । त्यसपछि आएका लोकेश बम पनि १९ रनको स्कोरमा हर्ष टंकको बलमा कप्तान सोमपाल कामीको हालबाट आउट भए ।


तेस्रो विकेटका लागि सुनीलले पुनित मेहरासँग मिलेर ६१ रनको साझेदारी गरेपछि विराटनगर सम्मानित योगफलतर्फ अघि बढेको थियो । १६.३ ओभरमा हर्ष टंकको बलमा सुनील धमला ६१ रनको स्कोरमा आउट भए । उनले ५४ बलमा ६ चौका र २ छक्का प्रहार गरे ।


यसअघि २ खेलमा अर्धशतक प्रहार गरेका पुनित मेहरालाई १९ रनको स्कोरमा अविनाश बोहोराले बोल्ड गरे । तर कप्तान प्रदीप ऐरीले विस्फोटक पारी खेलेपछि विराटनगरले उच्च योगफल बनाएको हो । प्रदीपले १३ बलमा १ चौका र ४ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।


लिग चरणमा २ खेल जितेर नेट रनरेटमा अग्रता हासिल गरी प्लेअफमा पुगेको विराटनगरका लागि पीपीएलमा फाइनल यात्रा निकै रोमान्चक रह्यो । यसअघि लिग चरणको अन्तिम खेलमा उसले बुटवललाई नै हराएर प्लेअफमा स्थान सुरक्षित गरेको हो ।

प्रकाशित : पुस १०, २०७६ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?