कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

चितवन र बुटवल प्लेअफमा

पोखरा — चितवन राइनोज र बुटवल ब्लास्टर्स नमस्ते पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेका छन् । चितवनले विराटनगर टाइटन्सलाई १८ रन र बुटवलले धनगढी ब्लुजलाई ७ विकेटले पराजित गर्‍यो । 

चितवन र बुटवल प्लेअफमा

लिगको शीर्ष स्थानमा रहेको चितवनको ८ र दोस्रो स्थानमा रहेको बुटवलको ६ अंक छ । हारपछि विराटनगर र धनगढीले लिग चरणबाटै बाहिरिनुपर्ने सम्भावना प्रवल बनेको छ । लिगको अन्तिम खेलमा विराटगरले बुटवल तथा धनगढीले साविक विजेता पोखरा पल्टनसँग खेल्दै छन् । यी दुवै टोलीले ४ खेलबाट २ अंक मात्र जोड्न सकेका छन् ।


लोकेश बमको आकर्षक इनिङ्स पन्छाउँदै चितवनले लगातार विजयक्रमलाई निरन्तरता दिएको हो । जितपछि चितवनका कप्तान पारस खड्काले एक रूपको प्रदर्शन कायम राख्न सकेकोमा आफ्ना खेलाडीको प्रशंसा गरे ।


‘१० ओभरसम्म हाम्रो ब्याटिङ निकै राम्रो भइरहेको थियो । तर त्यसपछिको ५ ओभर हामीले लय गुमायौं । अन्तिम ५ ओभरमा सन्नी र आरिफले जस्तो ब्याटिङ गरे त्यसले हामी बलियो देखियौं । अझै १५ रन जति कम भएजस्तो लागेको थियो,’ जवाफमा विपक्षीको प्रदर्शनबारे पारसले भने, ‘लोकेशले निकै राम्रो ब्याटिङ गरेको थियो । एक्लैले खेल जिताउन लागिसकेको थियो । हामी दबाबमा आइसकेका थियौं । करणले उनको विकेट लिएपछि हामीलाई सहज भयो ।’


‘हाम्रो टिमका लागि पछिल्ला चारै खेलमा फरक–फरक अवस्थामा खेलको अन्त्य भएको छ । सबै खेलाडीले जिम्मेवारी लिँदा हामी खुसी छौं,’ पारसले थपे । चितवनले गत संस्करणमा सुरुआती २ खेल हारे पनि त्यसपछिका सबै खेल जितेर इलिमिनेटर हुँदै फाइनल खेलेको थियो । पारसले बाँकी खेलहरूमा पनि यही लय निरन्तरता दिने बताए । प्रतियोगितामा विराटनगरका ब्याट्सम्यानहरूको खराव लय नै हारको मुख्य कारण बनिरहेको छ । पहिलोपल्ट फ्रेन्चाइज टिमको कप्तानी गरिहरेका कप्तान प्रदीप ऐरी आफैं लयमा छैनन् । पुनीत मेहराले पुछारक्रममा उत्कृष्ट खेलिरहेका छन् । चितवनविरुद्ध लोकेशले विस्फोटक ब्याटिङ गरे ।


‘समग्र प्रतियोगितामै सुरुआती र मध्यक्रम लगातार असफल भइरहेका छन् । फिनिसरको रूपमा पुनीत र आजको खेलमा लोकेशले निकै राम्रो खेलेको थियो । बलिङ पनि कमजोर हो । मुख्य ब्याट्सम्यानहरूले राम्रो गर्न नसक्नु नै हाम्रो हारको कारण हो,’ हारको कमजोरी केलाउँदै कप्तान प्रदीपले भने ।


१ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा १ सय २८ रनमै समेटियो । ८.२ ओभरमा टिमको स्कोर ३७ हुँदा विराटनगरले महत्त्वपूर्ण ६ विकेट गुमाइसकेको थियो । सातौं विकेटमा लोकेश बम र पुनीत मेहराले ७७ रनको साझेदारी गरे पनि टिमलाई जिताउन सकेनन् । १८ औं ओभरमा पुनीत २४ रनमा आउट भए । ३६ बलमा ५ चौका र ५ छक्कासहित ६२ रनको स्कोरमा खेलिरहेका लोकेश बम १९ औं ओभरको तेस्रो बलमा आउट भएपछि विराटनगरको हार निश्चित बनेको हो । त्यसपछिका ब्याट्सम्यान लगातार आउट भए ।


यसअघि पोखरा रंगशालामा पाँचौं विकेटका लागि आरिफ शेख र सन्नी पटेलले ५४ रनको अविजित अर्धशतकीय साझेदारी गरेपछि चितवनले निर्धारित ओभरमा ४ विकेट गुमाई १ सय ४६ रन बनायो । १७.२ ओभरमा क्रिजमा आएका सन्नी पटेलले आरिफसँग मिलेर १६ बलमा ५४ रन जोडे । आरिफले २२ बलमा ३ चौका र ३ छक्कासहित ३९ र सन्नीले ८ बलमा ३ छक्का र १ चौकासहित २७ रन जोडे । सन्नीले जितेन्द्र मुखियाको १९ औं ओभरमा ३ छक्का र १ चौका प्रहार गरे ।


ओपनर रोहन मुस्तफालाई जितेन्द्र मुखियाले ७ रनमा आउट गरेपछि आएका बाबर हायतसँग मिलेर अर्का ओपनर तथा पारसले ४७ रनको साझेदारी गरे । पारस ३८ बलमा ५ चौकासहित ३५ रन बनाए । बाबर २५ र अनिलकुमार साह ३ रनमा आउट भए । जितेन्द्र, किशोर महतो, पुनीत र मुहम्मद आलमले १–१ विकेट लिए ।


धनगढीमाथि बुटवल हाबी

दोस्रो खेलमा धनगढीलाई ७ विकेटले पराजित गर्न बुटवललाई धेरै कसरत गर्नुपरेन । दुई विदेशी ब्याट्सम्यानले विस्फोटक पारी खेल्दा १ सय ४१ रनको लक्ष्य बुटवलले १६.४ ओभरमै पूरा गर्‍यो । पावरप्लेमा १ विकेट गुमाएर ६८ रन जोड्दै बुटवलले सानदार सुरुआत गरेको थियो । ४.४ ओभरमा दीपक पुनियाको बलमा आउट हुनुअघि अफ्तावउद्दिन अहमदले २३ बलमा १ चौका र ७ छक्कासहित ५२ रन प्रहार गरी आउट हुदा अर्का ओपनर शंकर रानाले खाता खोलेकै थिएनन् ।


हर्ष टंकले शंकर (२५) सँग दोस्रो विकेटमा ५२ रन जोडे । २१ बलमा ४० रन प्रहार गरी अनिल खरेलको बलमा आउट हुनुअघि हर्षले ३ चौका र ४ छक्का प्रहार गरे । शिवम सिंह १५ र भीम सार्की ७ रनमा अविजित रहे । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी १ बल बाँकी छँदा अलआउट भयो । कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएपछि धनगढीले सम्मानित योगफल बनायो । ओपनर सुवेन्दु पाण्डे र रोड्रिगो थामेस क्रमशः १ र ५ रनमा आउट भए । सन्दीप रजाली खाता नखोली आउट हुँदा धनगढी १३–३ को कठिन स्थितिमा पुग्यो ।


दीपेन्द्र र सन्दीप जोराले चौथो विकेटमा ८७ रनको साझेदारी गरे । २ रन लिने चक्करमा सन्दीप ३९ रनमा रनआउट भए । उनले ३२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । यही विकेट महँगो बन्यो । ‘हामीबीचको राम्रो साझेदारी भइरहेको थियो । ऊ आउट भएपछि हाम्रो लगातार विकेट झरिरहृयो । सायद निर्णायक नै भयो त्यो रनआउट,’ दीपेन्द्रले पनि स्वीकार गरे ।


अर्को ओभरमा दीपक पुनिया ४ रन बनाएर आउट भए । १७.३ ओभरमा अविनाश बोहोराको बलमा क्याचआउट हुनुअघि कप्तान दीपेन्द्रले ४५ बलमा ६ चौका र २ छक्काको सहयोगमा ६१ रन बनाए । त्यसपछि धनगढीको लगातार विकेट झरिरह्यो । शौरभ खनालले १० रन जोडे । अविनाशले ४ विकेट लिए । उनले ३.५ ओभरमा २६ रन खर्चिए । ललितसिंह भन्डारीले ३ तथा कप्तान सोमपाल कामीले १ विकेट लिए ।


‘यति स्कोर गर्दा पनि एकै छिनमा चेज भयो, दुर्भाग्य नै भन्नुपर्छ । यो लक्ष्यमा हामी जित्छौंजस्तो लागेको थियो । तर बुटवलका ब्याट्सम्यानले हामीलाई अवसर नै दिएनन्,’ आफ्नो पारीबारे दीपेन्द्रले भने, ‘सुरुमै विकेट झरेपछि मैले पनि दबाबमा खेलेको थिएँ । टिमलाई राम्रो लिड लिएर ठूलो स्कोर बनाउने योजना थियो ।’ दीपेन्द्रले प्लेअफको सम्भावना कमजोर बनेकाले लिगको अन्तिम खेल सकारात्मक बनेर खेल्ने बताएका छन् ।

प्रकाशित : पुस ७, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?