पीपीएल : लगातार चौथो जितपछि चितवन प्लेअफमा

पोखरा — चितवन राइनोज टिम पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) को प्लेअफमा पुगेको छ । लिग चरणमा लगातार चौथो जित निकाल्ने क्रममा चितवनले आइतबार विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेको हो ।

पीपीएल : लगातार चौथो जितपछि चितवन प्लेअफमा



यो हारले विराटनगरका लागि भने भारी पर्ने निश्चित छ । उसले ४ खेलमा एउटामात्र जित हासिल गरेको छ । लिगको अन्तिम खेलमा जित निकाले पनि प्लेअफमा पुग्न उसले अन्य टिमको नतिजामा भर पनुपर्छ ।


१ सय ४७ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभरमा १ सय २८ रनमै समेटियो । यसअघिका खेलहरुमा जस्तै चितवनविरुद्ध पनि विराटनगरका सुरुआती ब्याट्सम्यानको कमजोर प्रदर्शननै हारको कारण बन्यो ।


८.२ ओभरमा ६ विकेट गुमाउँदा विराटनगरले ३७ रनमात्र बनाएको थियो । यसबीचमा तेस्रो नम्बरमा आएका नोमन खानले मात्र दोहोरो अंकको रन बनाए । उनले १ रन जोडेका थिए ।


तर सातौं विकेटका लागि लोकेस बम र पुनित मेहराले ७७ रनको साझेदारी गरेर पारी उकासे पनि टिमलाई जिताउन सकेनन् । १८ औं ओभरमा पुनित मेहरा २४ रनको स्कोरमा आउट भए । त्यही ओभरमा जितेन्द्र मुखिया पनि आउट भए ।


३६ बलमा ५ चौका र ५ छक्कासहित ६२ रनको स्कोरमा खेलिरहेका लोकेश बम १९ औं ओभरको तेस्रो बलमा आउट भएपछि विराटनगरको हार निश्चित बनेको हो । त्यही ओभरमा बाँकी ब्याट्सम्यान पनि आउट हुदा विराटनगर १ सय २८ रनमा अलआउट भयो ।


पोखरा रंगशालामा पाँचौं विकेटका लागि आरिफ शेख र सन्नी पटेलले ५४ रनको अविजित अर्धशतकीय साझेदारी गरेपछि टस हारेर व्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ४ विकेटको क्षतिमा १ सय ४६ रनको योगफल बनाएको हो ।


१७.२ ओभरमा क्रिजमा आएका सन्नी पटेलले आरिफसँग मिलेर १६ बलमा ५४ रन बनाएपछि चितवनले सम्मानित योगफल बनाउन सफल रह्यो । आरिफले २२ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ३९ रन बनाउँदा सन्नीले ८ बलमा ३ छक्का र १ चौकासहित २७ रन जोडे । सन्नीले १९ औं ओभरमा जितेन्द्र मुखियाको बलमा ३ छक्का र १ चौका प्रहार गरेका थिए ।


इसअघि ओपनर रोहन मुस्तफालाई जितेन्द्र मुखियाले ७ रनको स्कोरमा आउट गरेपछि आएका बाबर हायतसँग मिलेर अर्का ओपनर तथा कप्तान पारस खड्काले ४७ रनको साझेदारी गरेका थिए । पारस ३८ बलमा ५ चौकासहित ३५ रन बनाएर आउट भए । बाबर हायतले २५ रन जोड्दा अनिलकुमार साह ३ रनमा आउट भए ।

बलिङमा जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मुहम्मद जाइद आलमले १/१ विकेट लिए ।

प्रकाशित : पुस ६, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?