कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वर्णधारी सरुलाई चिदीपानीमा सम्मान

माधव अर्याल

(पाल्पा) — जिल्लाकै पछाडि परेको गाउँका रूपमा चिनिन्छ, बल्ढेङगढीको चिदीपानी । यही गाउँकी सरु कार्कीको टिमले काठमाडौंमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) को करातेतर्फ महिला टिम कातामा स्वर्ण पदक जित्यो । उनलाई चिने/जानेका आफन्तहरू हर्षित भए ।

स्वर्णधारी सरुलाई चिदीपानीमा सम्मान

सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो नै लाग्यो । दुर्गम गाउँमा पढेलेखी हुर्केकी सरुको स्वर्ण जितेसँगै थप चर्चा बढेको बल्ढेङगढीका स्थानीय कमल रायमाझीले बताए । ‘सरुले गाउँटोल, जिल्ला सबैलाई खुसी तुल्याइन्,’ उनले भने, ‘हामी गाउँका बासिन्दालाई विशेष खुसी बनाइन् ।’


सरुलाई अहिले वडा कार्यालय, गाउँपालिका, स्थानीय विद्यालय र संघसंस्थाले सम्मान गरेका छन् । पछिल्लो पटक रैनादेवी छहरा गाउँपालिकाले उनलाई सम्मान गरेको हो । यसअघि गाउँमै समेत सम्मान गरिसकेको वडाध्यक्ष देवेन्द्र पुन मगरले बताए । उनका अनुसार गाउँका बासिन्दा उनको प्रतिभा देखेर धेरै खुसी भएका छन् । गाउँको नाम राख्न बनाउन सफल भएको भन्दै सबैले बधाई दिएका छन् ।


पदक विजेता सरुलाई गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, उपाध्यक्ष चेतकुमारी थापा, प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले पाल्पाली करुवासहित सम्मानपत्र प्रदान गरे । सरुले स्वर्ण पदक जितेर गाउँठाउँमात्रै नभएर पाल्पा र गाउँपालिकाकै नाम उँचो राखेको अध्यक्ष कार्कीले बताए । ‘गाउँपालिका खेल र खेलाडीको विकासमा सदैव लाग्नेछ,’ अध्यक्षले भने ।


स्वर्णधारी सरुको जितसँगै जन्मस्थान चिदीपानीमा खुसीयाली छाएको थियो । विकट र अशिक्षाका कारण पछाडि परेको गाउँकी छोरीले देशका लागि स्वर्ण दिलाएको खबर सुनेसँगै गाउँभरिका मानिस एकै ठाउँमा जम्मा भएर खुसी साटासाट गरेका थिए । ‘राज्यले हाम्रो गाउँलाई विकासमा पछाडि पारे पनि हाम्री चेलीले स्वर्ण पदक दिलाएकी छन्,’ वडाध्यक्ष पुनले भने, ‘यो सफलताले हामी सबैलाई हर्षित बनायो ।’


ओमबहादुर र टुमकलीका ६ छोराछोरीमध्येकी माहिली छोरी हुन्, सरु । उनी नेपाल प्रहरीमा आवद्ध छिन् । प्रहरीले दिएको अवसरलाई उनले दु:ख र संघर्षले बिताएको बाल्यकाल सम्झिइन् । उनले १ देखि ८ कक्षासम्म गहते माध्यमिक विद्यालयमा अध्ययन गरेकी हुन् । कक्षा ९ र १० सत्यवती माविमा पढिन् । उनको खुसीयालीमा उनका गुरु र स्कुलमा पढिरहेका विद्यार्थीसमेत खुसी छन् । सरल र हक्की स्वभावकी सरुकाममा इमानदार र मिहिनेत गर्ने बानी भएको छिमेकी अस्मिता कुँवरले बताइन् । ‘अरूलाई सहयोग गर्ने र दु:खसँग नआत्तिने बानी उनको थियो,’ उनले भनिन्, ‘त्यसैले अहिले सफलता पाए हो जस्तो लाग्छ ।’ उनी दैनिक चार घण्टा पैदल हिँडेर स्कुल जान्थिन् ।


१३ औं सागमा कराते तर्फको टिम कातामा पाकिस्तानलाई पछि पार्दै सरुको टिमले स्वर्ण जितेको हो । पाकिस्तानलाई २३ दशमलब ३ अंकमा सीमित राख्दै नेपाललाई २४ दशमलब ८८ अंकसाथ स्वर्ण दिलाउन उनको टिम सफल भयो । टिम कातामा नेपालबाट सरु कार्कीसँगै संगीता मगर र निर्मला तामाङ रहेका थिए ।




प्रकाशित : पुस ६, २०७६ ०७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?