पीपीएल : काठमाडौंको लगातार दोस्रो जित, प्लेअफ सम्भावना कायमै
पोखरा — पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा शनिबार काठमाडौं गोल्डेन वारियर्सले विराटनगर टाइटन्सलाई ३६ रनले पराजित गरेको छ । यो जित काठमाडौंका लागि प्लेअफ यात्रामा महत्वपूर्ण छ । सुरुआती २ खेल हारेर काठमाडौंले २ जित निकालेको हो ।
विराटनगरका लागि भने यो तेस्रो खेलमा दोस्रो हार हो । यसअघि पहिलो खेलमा धनगढी ब्लुजसँग पराजित भएको विराटनगरले दोस्रो खेलमा पोखरा पल्टनलाई हराएको थियो । १ सय ६० रनको लक्ष्य पछ्याएको विराटनगरले इनिङको २ बल बाँकी छँदा १ सय २३ रनमै समेटियो ।
सुरुआती ब्याट्सम्यानले अपेक्षाकृत प्रदर्शन गर्न नसक्नु नै विराटनगरको हारको मुख्य कारण हो । ओपनर मुहम्मद जियाद खान र सुनील धमला १/१ रनको स्कोरमा आउट भएका थिए । कप्तान प्रदीप ऐरीले २७ बलाम ४ चौका र १ छक्काको सहयोगमा २९ रन बनाउँदा अर्को एन्डबाट लगातार विकेट झरिरहेको थियो । राजु रिजाल १, राजेश पुलामी २ र दिलिप नाथ १ रनको स्कोरमै आउट हुँदा विराटनगर ९.१ ओभरमा ४१/६ को नाजुक स्थितिमा थियो ।
सातौं विकेटका लागि पुनित मेहरा र नोमन खानले ७९ रनको अर्धशतकीय साझेदारी गरेपछि विराटनगर सम्मानजनक स्थितिमा पुगेको थियो । विराटनगरलाई जितका लागि अन्तिम २ ओभरमा ४१ रनको आवश्यक थियो ।
तर १९ औं ओभरको पहिलो बलमा नोमन खान २५ रनको व्यक्तिगत स्कोरमा रनआउटको शिकार भए । लगत्तै अर्को बलमा पुनित मेहरा एलबीडब्लू धरापमा परे । मेहराले ३१ ब्लमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए ।
बलिङमा सुबोध भाटीले ३ विकेट लिए । बसन्त रेग्मी र अमरसिंह रौटेलाले २/२ तथा अमृत भट्टराई र अमरसिंह रौटेलाले १/१ विकेट लिए ।
यसअघि पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित ओभरमा ५ विकेट गुमाएर १ सय ५९ रनको योगफल खडा गर्ने क्रममा ओपनर जयकिसन कोल्सावालाले अर्धशतकीय योगदान गरे ।
खराव लयबाट गुज्रिरहेका काठमाडौंका अर्का ओपनर गौरव तोमर शनिबारको खेलमा पनि खाता नखोली आउट भए । त्यसपछि आएका अमित श्रेष्ठसँग मिलेर कोल्सावालाले दोस्रो विकेटका लागि ४३ रनको साझेदारी गरे । अमित १५ बलमा १७ रन बनाएर आउट भए ।
त्यसपछि आएका कप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर कोल्सावालाले तेस्रो विकेटका लागि ६६ रनको साझेदारी गरेका थिए । ४३ बलमा ५ चौका र २ छक्का प्रहार गरेका कोल्सावाला ५५ रनको व्यक्तिगत स्कोरमा पुनित मेहराको बलमा आउट भए ।
१७ औं ओभरको पाँचौं बलमा कप्तान ज्ञानेन्द्र स्वीच हिटको प्रयासमा सर्ट फाइन लेगमा क्याचआउट भए । उनलाई पनि मेहराले आउट भएका हुन् । अघिल्लो खेलमा धनगढी ब्लुजबिरुद्ध शतक प्रहार गरेका उनले ३३ बलमा ३ चौका र २ छक्काको सहयोगमा ४५ रन जोडे ।
सुबोध भाटी ८ बलमा १४ रन बनाएर आउट भए । आदिल खान १३ र पवन सर्राफ ५ रनमा अविजित रहे । विराटनगरका मेहराले २ विकेट लिए । किशोर महतो, जितेन्द्र मुखिया र नोमन खानले १/१ विकेट झारे ।
प्रकाशित : पुस ५, २०७६ ११:१३