१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

गुमनाम सागर

विनाेद पाण्डे

काठमाडौँ — बुटवल ब्लास्टर्सले तीन खेलमा दोस्रो जित हात पारेपछि पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल पुग्ने आशा कायमै राखेको छ । बुटवलले पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रबार गत वर्षको विजेता पोखरा पल्टनलाई ८ विकेटले माथ दिएको थियो ।

गुमनाम सागर

पोखराको यो चमकधमकले सागर पुनलाई केही आकर्षित गरेको छैन । उनलाई कसले कोसँग खेलिरहेको पनि थाहा छैन ।


पीपीएलमात्र होइन, फ्रेन्चाइज क्रिकेटका अन्य प्रतियोगिता एभरेस्ट प्रिमियर लिग (ईपीएल) र धनगढी प्रिमियर लिगमा पनि एक वर्षयता उनको ध्यान गएन ।


गत वर्षको डिसेम्बर १८ । ईपीएलको क्वालिफायर्समा काठमाडौं किंग्स ११ बाट ललितपुर प्याट्रियट्सविरुद्ध चम्किलो प्रदर्शनको आशामा थिए सागर । ब्याटिङमा २९ रन बनाइसकेका सागर आफ्नो पहिलो ओभर बलिङ गर्दै थिए । उनको तेस्रो बलमा ब्याट्सम्यानले गरेको प्रहार फाइन लेगमा गयो । ब्याकअप गएर बल समात्न खोजेका थिए । ज्यानलाई टर्न गरेर स्टम्प पछाडि उभिन खोज्दा दाहिने खुट्टाबाट ‘च्याट्ट’ आवाज आयो । उनको दिमागमा करेन्ट हाने जस्तै अनुभूति भयो ।


त्यसपछि केही थाहा भएन । सकी नसकी उनले अर्को बल फाले । त्यसपछि उनी उभिनै सकेनन् । ‘च्याट्ट’ आवाज आउँदा उनलाई एङ्कल दोब्रिएजस्तो मात्र लागेको थियो । मैदानबाहिर निस्किए । खेल सकिएपछि मेडिसिटी अस्पताल गए । स्क्यान गर्दा एसिलिस टेन्डोन र्‍यापचर (कुर्कुच्चा र गोलिगाँठोको छेउको भागको मासु) दुई सेन्टिमिटर च्यातिएको देखियो । शल्यक्रिया गरेपछि डाक्टर शिशिर लाखेले धेरै नै च्यातिएकाले एक वर्ष निको हुनैलाग्ने जनाए । रिह्याब कसरी हुन्छ, त्यसमा बाँकी निर्भर हुने चिकित्सकले बताएका थिए ।


यस घटनापछि तीन महिना सागरको सहारा वैशाखी बन्यो । चौथो महिनामा चोटग्रस्त दाहिने खुट्टा उभ्याउन देव्रे वैशाखीको सहारा छँदै थियो । त्यसयता उनले विस्तारै दुवै खुट्टा टेक्न लागेका हुन् । सुरुमा सातामा एकपल्ट अस्पताल जानुपर्थ्यो । त्यसैले एक महिना काठमाडौंमा आफन्तकोमा बसे । त्यसपछि गृहनगर भैरहवा लागे । घरमा बुवाआमा, भाइबैनीको साथ थियो । तर उनले त्यो समय कैदीजस्तै बिताउनुपरेको अनुभव भोगे ।


‘पागलजस्तै भएको थिएँ म । जे गर्दा पनि अरुको सहयोग चाहिने । सबैले माया गरेर सहयोग गर्दा पनि लाचार भएजस्तो लाग्ने,’ सागर ती कष्टकर दिन सम्झिए, ‘मैदानमा पुनरागमन गर्न सक्छु कि सक्दिनँ भन्ने मात्र मनमा खेलिरहन्थ्यो । आफूसँग भएका र आफूले खेलेका भिडियो हेरेर, परिवारसँग बसेर समय बिताउने गर्थें । घरपरिवारले नै मलाई धेरै सम्झाउनुहुन्थ्यो ।’ यही समयमा उनले आईटीको ट्रेनिङ पनि लिए । यो मन भुलाउने उनको बहानामात्र थियो ।


चार महिना भयो अहिले उनी जिमखाना जान थालेको । साँझको समय उनी चाबहिलको प्लाटिनम फिटनेस सेन्टरमा साढे दुई घण्टा बिताउँछन् । घाइते दाहिने खुट्टामा प्लास्टर लगाएकाले तौल कम भएको थियो । त्यसलाई दाहिने खुट्टाको तौल बराबर बनाउन डाक्टरको सल्लाहबमोजिम जिम गरिरहेका छन् । घरमा बस्दा उनी ५ केजी तौल बढेका थिए ।


जिमपछि उनले ६ केजी तौल घटाइसकेका छन् । मनमैंजुको एन्जल स्पोर्टस एकेडेमीमा दुई महिनायता बिहान नेट्समा ब्याटिङ अभ्यास पनि जारी राखेका छन् ।


बलिङ एकै स्थानमा उभिएर मात्र गर्छन् । अझै राम्रोसँग दायाँबायाँ फर्कन उनलाई अप्ठ्यारो हुन्छ । स्टेप लिएर बलिङ गर्न सक्दैनन् । एकै ठाउँमा उभिएरमात्र फिल्डिङ गरिरहेकाले उनी स्लिपबाहिर जान सकेका छैनन् । डाक्टरसँग परामर्श गरेपछि मात्र उनी दौडिन सुरु गर्ने सुरमा छन् ।


सागरले यसक्रममा घरेलु क्रिकेटको त कुनै मतलब नै राखेनन् । शुक्रबार पोखरामा बुटवल ब्लास्टर्सले खेलिरहेको बारे पनि उनलाई पत्तो थिएन । ‘जित होस् या हार, सधैं टिमसँगै हुन्थे । तर टिमसँग नहुँदा चित्त बुझाउनै सकिएन । स्कोर पनि हेर्न मनलागेन,’ उनले भने, ‘यसबीचमा मैले सबैभन्दा बढी नेपाली टोलीलाई मिस गरें । नेपालले जित हात पारेपछिको भिक्ट्री सङ पनि खुब मिस भयो ।’ नेपालले खेलेको खेलको अपडेट त लिन्थे, तर नेपाल हार्न लागेपछि त्यहाँबाट पनि मन हटाउँथे ।


सन् २०१३ को काठमाडौंमा भएको एसीसी ट्वान्टी–२० मा अनिल मण्डलको स्थानमा उनी वैकल्पिक खेलाडीका रूपमा पहिलो पटक राष्ट्रिय टोलीमा परेका थिए । गत वर्ष मलेसियामा एसिया कप छनोटमा उनले पछिल्लोपल्ट राष्ट्रिय टोलीबाट खेलेका थिए । त्यही ओमानविरूद्ध बनाएको ८३ रन उनको उच्च स्कोर हो । उनी अलराउन्डर हुन् । ओपनिङमा ब्याटिङ गर्थे र अफ स्पिन बलिङ । आफूले पाएको मौकामा प्रभाव देखाउन नसकेको आरोप उनीमाथि छ । धेरैले बलिङ अलराउन्डरमा नराख्दा धेरै अपेक्षा राखिएकाले पनि सागरको प्रदर्शन सोचेजस्तो जम्न नसकेको गुनासो गर्छन् ।


सागरको बल र ब्याट नजमे पनि उनलाई लिएर सामाजिक सञ्जाल जम्ने गरेको थियो । त्यसको प्रमुख कारण उनले राष्ट्रिय टोलीबाट धेरै अवसर पाएर पनि प्रदर्शन देखाउन नसकेको आरोप नै प्रमुख हो । ह्यासट्याग सागर पुन फ्याक्ट्समा उनलाई लिएर अनेक किस्सा बनाइएको छ ।


आफूले त्यतातिर कहिल्यै ध्यान नदिएको र आफूप्रति गरिएको प्रतिक्रियालाई लिएर गम्भीर पनि नभएको उनी बताउँछन् । ‘देशका लागि प्रतिनिधित्व गरिसकेपछि राम्रो गर्‍यो भने वाहावाही र नराम्रो गर्‍यो भने गाली पाइन्छ भन्ने थाहै छ । मलाई के गर्नुपर्छ भन्ने थाहा छ, मैदानमा उत्रिएपछि जस्तोसुकै खेल होस् राम्रै गर्न खेल्ने हो तर प्रदर्शन सधैं एकरुप हुँदैन,’ सागर भन्छन्, ‘कति खेलाडीले सामाजिक सञ्जालमा आएको विषय गम्भीर रूपमा लिएर आफ्नो खेल बिगारेको पनि देखेको छु ।’


१० मा ४ जनाले प्रशंसकको रूपमा मन नपराए पनि ६ जनाले मन पराएको हिसाबमा लिने गरेको सागर बताउँछन् । उनी घरेलु प्रतियोगिता नै भए पनि सामाजिक सञ्जाल बन्द गरेर बस्छन् । अरु बेला पनि खासै फुर्सदिला देखिँदैनन् यस क्षेत्रमा । उनले भने, ‘हाम्रा केही साथीले नकारात्मक टिप्पणी सहनै नसकेको पनि देखेको छु । खेलमा केन्द्रित हुन पाउने भएकाले म चाहिँ सामाजिक सञ्जालभन्दा टिमका साथीहरूसँग बस्छु ।’


शल्यक्रिया गरेको र त्यसपछिको एक सातासम्म अस्पताल बसेको खर्च किंग्स काठमाडौं ११ ले बेहोरिदियो । उनले थप उपचारका लागि तीन लाख खर्च गरिसकेका छन् । ‘क्रिकेटले अलि–अलि दिएको थियो, त्यही खर्च भएको हो,’ उनी आफैंलाई चित्त बुझाउने उत्तर दिन्छन् । तत्कालीन कप्तान पारस खड्काले उनलाई चोट लागेपछि अवस्थाबारे फोन गरेर सोधेका थिए । त्यसबाहेक उनी गुमनाम जस्तै छन् यो एक वर्ष । अन्य कोही खेलाडीसँग खासै भेटेका पनि छैनन् । राजेश पुलामीसँग भने उनको भेट भइरहन्छ । उनी आफ्नो निजी जीवनमै रमाउँछन् । बाहिर देखिन पनि खासै मन पराउँदैनन् ।


सागर त्रिभुवन आर्मी क्लबमा आवद्ध छन् । कहिले मैदानमा फर्किने उनले नै ठ्याक्क भन्न सकिरहेका छैनन् । अझै ३ महिना लाग्नसक्ने अड्कल उनको छ । ईपीएल मार्चमा छ । तर उनी ५० ओभरको घरेलु क्रिकेटबाट राम्रै हिसाबमा पुनरागमन गर्न चाहन्छन् । घरेलु क्रिकेटमा ५० ओभरको अर्को क्रिकेट प्रतियोगिता कहिले हुने भन्ने नेपाली क्रिकेटसँग त्यस्तो कुनै क्यालेन्डर नै छैन ।

प्रकाशित : पुस ५, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?