१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

पीपीएल : ज्ञानेन्द्रको सतकीय पारीसँगै काठमाडौंले धनगढीलाई १०६ रनले हरायो

पोखरा — कप्तान ज्ञानेन्द्र मल्लले विस्फोटक इनिङ खेल्दै सतक बनाएपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा काठमाडौं गोल्डेन वारियर्सले धनगढी ब्लुजलाई १ सय ६ रनले पराजित गरेको छ । विशाल लक्ष्य पछ्याउन आएको धनगढीको कुनै पनि ब्याट्स्म्यानले राम्रो प्रदर्शन गर्न नसकेपछि ७९ रनमै अलआउट भएको हो । हुस्सु र शीतका कारण १ घण्टा ढिला सुरु भएको खेल १७ ओभरमा छोट्याइएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल बनाउँदा कप्तान ज्ञानेन्द्र एक्लैले सतक प्रहार गरे ।

पीपीएल : ज्ञानेन्द्रको सतकीय पारीसँगै काठमाडौंले धनगढीलाई १०६ रनले हरायो

धनगढीका २ जनाबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन छुन सकेनन् । विदेशी ब्याट्सम्यानद्वय रोड्रिगो थोमसले १० र श्रीमान्था विजयरत्नेले १५ रन जोडेका थिए । काठमाडौंका बसन्त रेग्मीले ३ विकेट लिए । उनले ४ ओभरमा १ मेडन राख्दै १७ रन खर्चिए । पवन सर्राफ र सुबोध भाटीले २–२ तथा अमृत भट्टराई र सुशान भारीले १–१ विकेट लिए ।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले कप्तान ज्ञानेन्द्र मल्लको आक्रमक सतकको सहयोगमा निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८५ रनको योगफल खडा गरेको थियो ।

ज्ञानेन्द्रले फ्रेन्चाइज क्रिकेटमा आफ्नो पहिलो सतक हो भने नेपाली फ्रेन्चाइजमा तेस्रो हो । यसअघि सन् २०१६ को एभरेष्ट प्रिमियर लिग (इपीएल)मा आसिफ शेखले पन्चकन्या तेजका लागि तथा गत संस्करणको इपीएलमा रवि इन्दर सिंहले भैरहवा ग्ल्याडिएटर्सका लागि शतकीय पारी खेलेका थिए ।

पोखरा प्रिमियर लिग इतिहासमा भने यो पहिलो ;तक हो । यसअघि पहिलो संस्करणमा काठमाडौं रोयल्सका लागि गौरव तोमले प्रहार गरेको ९५ रन नै सर्बाधिक थियो । ज्ञानेन्द्र म्यान अफ द म्याचसमेत चुनिए ।

चौथो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्रले कमल सिंह ऐरीको बलमा आउट हुनुअघि ३९ बल खेलेर ९ छक्का र ८ चौकाको सहयोगमा १ सय रन बनाए । उनले ३७ बलमा शतक प्रहार गरेका थिए ।

उनले जयकिसन कोल्सावालासँग मिलेर तेस्रो विकेटका लागि १ सय ३१ रनको सानदार शतकीय साझेदारी गरे । ओपनिङ गरेका कोल्सावालाले पनि ३७ बलमा ४६ रन बनाए ।

पहिलो ओभरमै ओपनर गौरव तोमर खाता नखोली आउट भएपछि आएका अमित श्रेष्ठसँग मिलेर कोल्सावालाले ५० रनको साझेदारी गरेका थिए । अमितले २१ बलमा ६ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए ।

धनगढीका कमल सिंह ऐरीले ४ विकेट झारे । उनले ४ ओभरमा ३९ रन खर्चिए । उनले अन्तिम ओभरमा कोल्सावाला, ज्ञानेन्द्र र सुवोध भाटीलाई आउट गरेका हुन् । सागर ढकालले १ विकेट लिए ।


प्रकाशित : पुस २, २०७६ ११:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?