३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पीपीएल : बाबर हायतको अर्धसतकमा पोखरामाथि चितवनको सहज जित

पोखरा — बाबर हायतले विष्फोटक ब्याटिङ गर्दै अविजित ६६ रनको योगदान गरेपछि पोखरा प्रिमियर लिग (पीपीएल)मा चितवन राइनोजले पोखरा पल्टनमाथि ६ विकेटको सहज जित हासिल गरेको छ । १ सय ८ रनको सामान्य लक्ष्य चितवनले १४.५ ओभरमा पूरा गरेको हो ।

पीपीएल : बाबर हायतको अर्धसतकमा पोखरामाथि चितवनको सहज जित

लक्ष्य पुरा गर्ने क्रममा दुई तिहाईभन्दा बढी रन एक्लैले प्रहार गरेका बाबर तेस्रो नम्बरमा ब्याटिङमा आएका थिए । उनले ४२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे । ओपनर अनिल साह खाता नखोली आउट हुँदा रोहन मुस्तफाले ११ रन जोडेका थिए । दुवैलाई राशिद खानले आउट गरेका हुन् ।

कप्तान पारस खड्काले ४ र आरिफ शेखले १ रन बनाएर आउट भए । यी दुवैलाई शरवजीत लड्डाले आसिफ शेखको हातबाट क्याचआउट गराएका हुन् ।

छैटौं नम्बरमा ब्याटिङ आएका सन्नी पटेलले पनि अविजित २२ रन बनाए । १८ बल खेलेर १ चौका र २ छक्का प्रहार गरेका उनले बाबरसँग मिलेर पाँचौं विकेटका लागि ५० रनको अविजित साझेदारी पनि गरे ।

यसअघि पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले इनिङको अन्तिम बलमा अलआउट हुनुअघि १०७ रनको योगफल खडा गरेको हो ।

प्रतियोगिताको साविक विजेता पोखराले पहिलो खेलमा काठमाडौं गोल्डेन वारियर्समाथि ९ विकेटको सानदार जित हासिल गरेको थियो । तर चितवनबिरुद्धको खेलमा उसका कप्तान शरद भेषावकरबाहेक अन्य कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।

कप्तान भेषावकरले तेस्रो नम्बरमा आएर ३९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४५ रनको योगदान गरे । उनले कुशल मल्लसँग मिलेर पाँचौं विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए । कुशलले १२ बलमा २ छक्कासहित १३ रन बनाएर आउट भए ।

पहिलो खेलमा ६५ रनको सानदार पारी खेलेका ओपनर कुशल भुर्तेलले ५ रनमात्र बनाउन सके । अर्का ओपनर आसिफ शेख १० रनमा आउट भए । रवि इन्दर सिंहले १० रन बनाए । अन्तिम बलमा क्याचआउट हुनुअघि रशिद खानले १० रन जोडे । पोखराका ३ जना ब्याट्सम्यानले खाता खोल्नै सकेनन् ।

चितवनका लागि करण केसी, सन्नी पटेल, रोहन मुस्तफा र भुवन कार्कीले २–२ विकेट लिए । विक्रम शोब र कप्तान पारस खड्काले पनि १–१ विकेट झारे ।

प्रकाशित : पुस १, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?