१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

पीपीएल : बुटवलले काठमाडौंलाई सुपर ओभरमा हरायो, काठमाडौंको प्लेअफ यात्रा कठिन

पोखरा — नवप्रवेशी टोली काठमाडौं गोल्डेन वारियर्सले पोखरा प्रिमियर लिग (पीपीएल)मा लगातार दोस्रो पराजय ब्यहारेको छ । सोमबार बुटवल ब्लास्टर्ससँग रोमाञ्चक सुपर ओभरमा पराजित भयो । यो हारले काठमाडौंको प्लेअफ यात्रामा गम्भीर धक्का लागेकको छ ।

पीपीएल : बुटवलले काठमाडौंलाई सुपर ओभरमा हरायो, काठमाडौंको प्लेअफ यात्रा कठिन

दुवै टोलीले १ सय ४० रनको बराबरी स्कोर बनाएपछि सुपर ओभरमा गएको खेलमा बुटवलले १३ रन जोडेको थियो । जवाफमा काठमाडौंले २ रनमात्र जोड्न सक्यो ।

यसअघि १ सय ४१ रनको लक्ष्य पछ्याएको बुटवलले २० ओभरमा ६ विकेट गुमाएको हो । उसका लागि हर्ष टंकले २९ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४५ रन बनाउँदा भीम सार्कीसँग तेस्रो विकेटका लागि ४० रनको साझेदारीसमेत गरे । भीमले १३ रनको योगदान गरे ।

यसअघि ओपनरहरु अफ्तावउद्धिनले १४ र शंकर रानाले २० रन जोडेका थिए । यी दुईले पहिलो विकेटका लागि २६ रनको साझेदारी गरेका थिए । कप्तान सोमपाल कामीले ११ रनमात्र बनाउन सके ।

अन्तिम २ ओभरमा बुटवललाई १० रन आवश्यक थियो । क्रिजमा थिए शुभम् सिंह र सोमपाल कामी । भाटीले त्यस ओभरमा १ रन खर्चेर सोमपाल र हरिबहादुर चौहानलाई आउट गरेपछि अन्तिम ओभरमा बुटवललाई ९ रन आवश्यक थियो ।


पवन सर्राफको सुरुआती ३ बलमा रन दिएनन् । अर्को बल वाइड भयो । चौथो बलमा शिवमले छक्का प्रहार गरे । पाँचौं बलमा १ रन लिएपछि स्कोर बराबर भयो । अन्तिम बलमा विपिन खत्री स्टम्पिङ आउट भएपछि खेल सुपर ओभरमा पुगेको हो । शिवमले २१ बलमा २ चौका र ३ छक्काको सहयोगमा अविजित ३३ रन बनाए ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४० रनको योगफल खडा गरेको थियो ।

पहिलो खेलमा पोखरा पल्टनसँग पराजित भएको काठमाडौंका सुरुआती ब्याट्सम्यानले राम्रो प्रदर्शन गरे पनि मध्यक्रम कमजोर देखियो । ओपनरहरु सुवास खकुरेल र जयकिसन कोल्सावालाले पहिलो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए ।

पावर प्लेको अन्तिम बलमा सुवास १५ रनमा आउट भए । तेस्रो नम्बरमा आएका गौरव तोमरले १ रनमात्र बनाउन सके । २४ बलमा ३ चौका र १ छक्कासहित २८ रन बनाएर कोल्सावाला आउट हुँदा काठमाडौंले ८.३ ओभरमा ५०/३ को स्थितिमा थियो ।

त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल र आदिल खानले चौथो विकेटका लागि ३५ रनको साझेदारी गरे । आदिलले १५ बलमा २३ र ज्ञानेन्द्र १५ बलमा १५ रन बनाएर आउट भए । अघिल्लो दिन ४५ रनको विष्फोटक पारी खेलेका सुबोध भाटी पहिलो बलमै आउट भए ।


पाँचौं विकेटका लागि अमरसिंह रौटेला र पवन सर्राफले ५१ रनको अविजित साझेदारी गरेपछि काठमाडौंले सम्मानित योगफल खडा गरेको हो । २१ बलको सामना गरेका पवनले ३ चौका र २ छक्काको सहयोगमा ३७ तथा रौटेलाले १४ रनको योगदान गरे ।

बलिङमा बुटवलका नितेश थापाले २ विकेट लिए । फ्रेन्चाइज क्रिकेटमा डेब्यू गरेका नितेशले ३ ओभरमा १७ रन खर्चिए । अभिनाश बोहोरा र हरिबहादुर चौहानले १–१ विकेट लिए ।


प्रकाशित : मंसिर ३०, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?