टालटुले टिम

राजु घिसिङ

काठमाडौँ — मेघराज केसीले प्रशिक्षकको जिम्मेवारी पाएका थिए, खेल हुनुभन्दा ठीक दुई दिनअघि रातको सवा नौ बजे । उनी तयार भए । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्णपदक विजेता नेपाली टिमको ‘बेन्च’ मा रहेका केही खेलाडीलाई समावेश गर्दै २० जनाको सूची बनाएर उनले अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिवलाई दिए । 

टालटुले टिम

गत शुक्रबारको त्यो खेल थियो जापान फुटबल लिगको टिमविरुद्ध । एमेच्योर फुटबल लिगका वैकिल्पक खेलाडीहरूलाई लिएर आएको जापानी टिम दशरथ रंगशालामा आइसकेको थियो, जहाँ नेपाल नीलो टिमका प्रशिक्षक केसी पनि १२:४५ बजे आइपुगे । तर, उनी रंगशाला पुग्दा आफ्नो टिमका एक जना पनि खेलाडी थिएनन् ।


‘महासचिवलाई खेलाडीको सूची पठाइसकेका थिए । त्यसअनुसार सबैलाई खबर गर्‍या होला भनेको त आफ्नै क्लब (संकटा) का खेलाडीलाई पनि भनेका रहेनछन्,’ प्रशिक्षक केसीले भने, ‘सवा २ बजेसम्म हाम्रो टिमका खेलाडी नै थिएनन् । आपतै पर्‍यो । त्यो बेला दसथरी कुरा गर्नुभन्दा पनि कसरी हुन्छ टार्नेतिर लाग्यौं ।’ मैदानमा जापानी टिमवरुद्ध तयार हुनुपर्ने बेला भीआईपी प्यारापिटभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिगको पत्रकार सम्मेलन भइरहेको थियो, जहाँ लिगमा सहभागी हुने क्लबहरूका प्रशिक्षक, कप्तान र व्यवस्थापक बोलिरहेका थिए । थ्रीस्टारको प्रशिक्षकसमेत रहेका केसी त्यो पत्रकार सम्मेलनमा अनुपस्थित रहे । त्यही सम्मेलनले उनलाई ठूलो राहत दियो । किनभने एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले नेपाल नीलोका लागि एक–दुई जना खेलाडी बोलाइदिए । एन्फा अध्यक्ष आफैंले २–४ जना खेलाडीलाई फोन गरेर बोलाइदिएको पनि केसीले बताए । ‘त्यसरी एक–दुई, एक–दुई गरेर १६ जना खेलाडी बटुल्यौं,’ उनले भने ।


लिगको पत्रकार सम्मेलनमा आएका खेलाडीलाई पनि बुट लिन कुदाइएको थियो, जो फर्केर झरीमा मैदानमा उत्रिए । दक्षिण एसियाली खेलकुदको ३५ वर्षे इतिहासमै सबभन्दा धेरै ५१ स्वर्ण ६० रजत र ९५ कांस्यपदक हात पारेको नेपाली टिमको सम्मानार्थ र्‍याली पनि शुक्रबारै आयोजना गरिएको थियो । सागको स्वर्ण विजेता फुटबल खेलाडीहरूसँग र्‍यालीबाट फर्किंदा फुटबल बुट थिएन । खेल्नै भनेर आएका केही खेलाडीले दुई जोर बुट बोकेका थिए र त्यही बुट लगाएर पनि केही खेलाडी मैदानमा उत्रिए ।


घरेलु टिमका लागि खेलाडी नपुगेपछि त्रिपुरेश्वरमै रहेका एनआरट र मछिन्द्र क्लबका खेलाडीलाई पनि बुट लिएर हतारमा रंगशाला प्रवेश गराइएको थियो, जुन खेलाडीहरू भर्खरै भात खाएर आराम गरिरहेका थिए । यसपालि च्याम्पियन बन्ने योजनामा स्टार खेलाडीहरूलाई अनुबन्ध गरेको मछिन्द्रले त्यो खेलको भोलिपल्ट शनिबार लिगको पहिलो खेलमा ब्रिगेड ब्वाइजविरुद्ध प्रतिस्पर्धा तय भइसकेको थियो । त्यसैले आफ्ना चार खेलाडीलाई मैत्रीपूर्ण खेलमा सहभागी गराइएको भन्दै मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवाल चिन्तित थिए ।


बल्लतल्ल खेलाडी भेला पारेपछि प्रशिक्षक केसीले ‘वार्मअप’ का लागि भन्दै ३ बजे सुरु हुने तय गरिएको खेल ३० मिनेट ढिला सार्न अनुरोध गरे । जापानी प्रशिक्षक हिरोयासु इबाताले अस्वीकार गरिदिए । त्यही पनि खेल १५ मिनेट ढिला सुरु गरियो । राष्ट्रिय टिमको कप्तानी गरिसकेका विराज महर्जनलाई उक्त खेलमा सहभागी हुन आग्रह गरे पनि उनले अस्वीकार गरिदिए । त्यसैले चार वर्षयता राष्ट्रिय टिमबाट बाहिरै रहेका पुलिसका मिडफिल्डर भोलानाथ सिलवालले कप्तानी गर्ने मौका पाएका थिए ।


हिउँदे झरीले पनि रंगशालाको माहोल बिथोलेको थियो । दसौं वर्ष टिक्ने भनिएको भीआईपी प्यारापिटको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भीआईपीहरू ओर्लिएर प्यारापिटमुनिबाट खेल चियाइरहेका थिए । सागका लागि बनाइएको भौतिक पूर्वाधारको स्तर एकदिने हिउँदे झरीले उदांगो पारिदियो । रंगशालामा दर्शकभन्दा धेरै प्रहरी तैनाथ गरिएको थियो । त्यो खेल जापानी टिमले ४–० ले जित्यो । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको आर्टिफिसियल टर्फमा ‘ए’ डभिजन लिग च्याम्पियन मनाङमर्स्याङ्दीविरुद्ध भएको खेल पनि जापानी टिमले ३–० ले जित्यो ।


दुवै खेलमा जापानी टिम हावी भयो । कस्तो टिम हो त्यो ? ‘जापानमा व्यावसायिक फुटबल लिगको तीन डिभिजन छ । त्योभन्दा पछाडि चौथो डिभिजनको एमेच्योर लिग (जापान फुटबल लिग) को टिम हो यो,’ जापानी टिमका प्रशक्षिक इबाताले भने, ‘हाल जापानको चौथो डिभिजनको लिग चलिरहेको छ । त्यसैले चार महिनाअघिको योजनाअनुसार ६–७ वटा क्लबका वैकल्पिक १६ खेलाडीलाई लिएर यहाँ खेल्न आएका हौं ।’ आफ्नो प्रतिद्वन्द्वीले खेलकै बेला खेलाडी बटुलेको भने थाहा नभएको उनले बताए ।


जापानी फुटबल लिगको खेलका लागि एन्फाले ए डिभिजन लिगको कार्यक्रम नै परिवर्तन गर्‍यो । मनाङका प्रशिक्षक तोपे फुजाले भने, ‘लिगमा हाम्रो खेल चार दिन पछि सारिदिन्छु भनेको थियो तर बुधबारै राखिएको छ । यस्तो नुहनुपर्ने हो । हामी बाध्यताले खेलेका हौं ।’ लिगलाई देशकै फुटबलको मेरुदण्ड मानिन्छ । यसबारे नेपाली नीलोका प्रशिक्षक मेघराज केसीले भने, ‘यस्तो बेला गर्नु (खेल) पटक्कै ठीक होइन । टेक्निकल्ली, फिजिकल्ली, मेन्टल्ली कुनै पनि हिसाबले ठीक होइन । सबै कुरा फिट नभए पनि देशको इज्जतका लागि उत्रिनुपर्‍यो । मैले प्रशिक्षकको नजरले भन्दा एउटा नेपालीको रूपले उपस्थिति जनाएको हुँ ।’

प्रकाशित : मंसिर ३०, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?