२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

पीपीएलको दोस्रो संस्करण आजबाट सुरु

काठमाडौँ — पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको दोस्रो संस्करण आइतबारबाट सुरु भएको छ। प्रतियोगिता शनिबारदेखि सुरु हुने भनिए पनि वर्षाका कारण एकदिन सारिएको थियो। लिगको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ब्याटिङ तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले बलिङ गरेर शुभारम्भ गरेका थिए ।

पीपीएलको दोस्रो संस्करण आजबाट सुरु

पहिलो दिनको पहिलो खेलमा साबिक विजेता पोखरा पल्टन र नवप्रवेशी काठमाडौं गोल्डेन्स वारियर्सबीच प्रतिस्पर्धा गर्दै छ।


पुस १२ सम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा ६ सहरको नामबाट निर्मित फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा गर्नेछन्। हरेक टिमले तीनजनासम्म विदेशी खेलाडी अनुबन्ध गर्न सक्नेछन्। अघिल्लो संस्करणभन्दा विदेशी खेलाडीको कोटा बढाइएको हो। लिग चरणमा शीर्षस्थानमा रहने टोलीले सिधै फाइनलमा स्थान बनाउने छ। दोस्रो र तेस्रो हुने टिमबीच इलिमिनेटर खेल हुने प्रावधान छ।


विजेताले पाउने प्लेट आकारको ट्रफी शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सार्वजनिक गरेका थिए । क्विन्स इभेन्ट म्यानेजमेन्टले प्रतियोगिता आयोजना गरेको हो।


पोखरा पल्टन, चितवन राइनोज, धनगढी ब्लुज, बुटवल ब्लास्टर्स, काठमाडौं गोल्डेन्स र विराटनगर टाइटन्स टिम प्रतियोगितामा सहभागी छन्। पोखराको कप्तानी शरद भेषावकर, चितवनको पारस खड्का, धनगढीको दीपेन्द्रसिंह ऐरी, बुटवलको सोमपाल कामी, काठमाडौंको ज्ञानेन्द्र मल्ल र विराटनगरको कप्तानी प्रदीप ऐरीले सम्हालेका छन्।


अघिल्लो संस्करणमा जस्तै यस संस्करणमा पनि उपाधि विजेताले २७ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन्। मोस्ट भ्यालुएबल खेलाडीले १ लाख र इमर्जिङ खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। हरेक खेलको 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ प्रदान गरिनेछ।

प्रकाशित : मंसिर २९, २०७६ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?