कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कृत्रिम घाँसेमैदान निर्माण सुरु

हरिराम उप्रेती

(गोरखा) — गोरखा नगरपालिका–९ दलभञ्ज्याङमा फुटबल प्रशिक्षण केन्द्रका लागि कृत्रिम घाँसेमैदान निर्माण सुरु भएको छ । ४६ मिटर लम्बाइ र २३ मिटर चौडाइको मैदान बन्न लागेको हो ।

कृत्रिम घाँसेमैदान निर्माण सुरु

स्थानीय द ओसन क्लबले करिब ३१ लाख रुपैयाँको लागतमा मैदान बनाउन लागेको हो । क्लबका अध्यक्ष अमित खत्रीले चीनबाट घाँस ल्याएर बिछ्यााइने बताए । अहिले संचालनमा रहेको खेलमैदान स्तरोन्नति गरी सुविधासम्पन्न बनाउन लागीएको क्लबले जनाएको छ ।


बाह्रै महिना फुटबल प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न मैदान आवश्यक देखिएको उनले बताए । ‘सानो पानी परे अहिलेको खेल मैदान हिलाम्मे बन्छ,’ उनले भने, ‘वर्षमा ६ महिना पनि फुटबलको प्रशिक्षण दिन पाएका छैनौं ।’ मैदानमा हाल ४० बालबालिका र युवाले फुटबल प्रशिक्षण लिँदै आएका छन् । ‘अबको ४ महिनाभित्रै घाँसेमैदान निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ,’ उनले भने, ‘घाँस फिफाको मापदण्डअनुसारको राख्छौं ।’


मैदानमा २३ लाख रुपैयाँ घाँस बिछ्याउन मात्र लाग्नेछ । ‘घासँबाहेकका संरचनाका लागि सकेसम्म स्थानीय स्तरमा पाइने निर्माण सामग्रीलाई प्राथमिकता दिन्छौं,’ उनले भने, ‘८ लाख रुपैयाँ नगद संकलन गर्नुपर्नेछ । विभिन्न संघसंस्थालाई भनिसकेका छौं । बाकी रकम जुटाइसक्यौँ ।’ मैदानका लागि प्रदेश सासंद कोषको ८ लाख र गोरखा नगरपालिकाले ७ लाख छुट्याएका छन् । वडा कार्यालयले १ लाख र पालुङटार नगरपालिकाले १ लाख सहयोग गर्ने आश्वासन दिएका छन् । मैदान व्यवस्थित बनाउन नवीन पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाइएको छ ।


गोरखा नगरपालिकाका मेयर राजनराज पन्त र प्रदेश सांसद हरिशरण आचार्यले संयुक्त रूपमा खेल मैदानको शिलान्यास गरेका छन् । दलभञ्ज्याङको करिब ९० रोपनी सार्वजनिक जग्गामध्ये सात रोपनी क्षेत्रफलमा मैदान निर्माण गर्न लागिएको हो । क्लबका अध्यक्ष खत्रीले स्विमिङ पुल, जिम हललगायतका संरचना पनि क्रमश: बन्दै जाने बताए ।

प्रकाशित : मंसिर २९, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?