आक्रामक मछिन्द्र

काठमाडौँ — गत वर्षको सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७५ मा रेलिगेसन हुने व्यवस्था भइदिएको भए मछिन्द्र क्लबलाई समस्या पर्न सक्थ्यो । मछिन्द्रले लिगको खास तयारी गरेको थिएन र खेलाडीमा खासै भाउ लगाएको थिएन । करिब ६० लाख रुपैयाँ लगानीको टिम मछिन्द्र सहभागी १४ क्लबमध्ये १३ औं भयो । त्यसैले उसले माइनस १ अंकबाट नयाँ सिजन सुरु गर्दै छ ।

आक्रामक मछिन्द्र

ए डिभिजन लिग २०७६ को पहिलो दिन शनिबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध प्रतिस्पर्धा गर्न लागेको मछिन्द्रले यसपालि खेलाडीमा ठूलै लगानी गरेको छ । ‘पौने दुई करोड (१ करोड ७५ लाख रुपैयाँ) को बजेट बनाएका छौं,’ प्रबोधवीरसिं कंसाकारले भने, ‘खेलाडीमा मात्रै करिब १ करोड खर्च हुन्छ । स्टार खेलाडीलाई लिएका छौं ।’ क्लबले शुक्रबारै सानमिगेलसँग मुख्य प्रायोजन सम्झौता गर्‍यो ।


मछिन्द्रले पहिलोपल्ट लिग च्याम्पियन बन्ने योजना बुन्दै डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङदी र थ्रीस्टारका मुख्य खेलाडीलाई भित्र्याएको छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण विजेता नेपाली टिमका कप्तान सुजल श्रेष्ठ, राष्ट्रिय टिमका पूर्वकप्तान विराज महर्जन, मिडफिल्डर विशाल राई, गोलकिपर विशाल श्रेष्ठ, गत सिजनका उत्कृष्ट मिडफिल्डर हेमन गुरुङ, दीपक राई, अफ्रिकी मूलका एडेलेजा सोमिडे मनाङ छाडेर मछिन्द्रमा आबद्ध भएका छन् । मछिन्द्रका लागि पिटर सेगुन, विजय धिमाल, रन्जित धिमाल, बुद्ध चेम्जोङले पनि थ्रीस्टार छाडे ।


मनाङबाट एएफसी कप २०१९ खेलेका देवेन्द्र तामाङ र अभिषेक रिजाल तथा च्यासलका योगेश गुरुङलाई पनि मछिन्द्रले भित्र्यायो । सूर्य अधिकारी, आन्द्रेस निया पनि मछिन्द्रमा आबद्ध भइसकेका छन् । खेलाडीको नामको हिसाबले मछिन्द्रको यो टिम लिगको उपाधिको दाबेदार बनेको छ ।


मछिन्द्रले पूर्वमिडफिल्डर प्रवेश कटुवाललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । उनले लिगमा पहिलोपल्ट पाएको अवसरमा च्याम्पियन बन्ने योजना बनाएका छन् ।


‘टिम राम्रो छ । खेलाडी राम्रा छन्, उत्कृष्ट खेलका लागि योग्य छन् । त्यसैले लिग च्याम्पियन बन्ने लक्ष्य बनाएका छौं,’ प्रशिक्षक कटुवालले भने, ‘हामीले दुई साता तयारी गरेका छौं । सागको टिममा रहेका खेलाडी उपलब्ध नहुँदा भने एकसाथ ट्रेनिङ गर्ने समय अभाव भयो । तर, सबैले एउटा टिमको रूपमा राम्रो खेल्ने विश्वास गरेको छु ।’


जापानी फुटबल लिगको टिमविरुद्ध शुक्रबार दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा मछिन्द्रका केही खेलाडी पनि मैदान ओर्लिएका थिए । हिउँदे झरीमा भएको उक्त खेलले आफ्ना खेलाडीलाई असर पर्नसक्ने भन्दै कटुवाल चिन्तित थिए ।



‘उपाधि रक्षा गर्न तयार’

राजधानीको शीर्ष लिगमा सबैभन्दा बढी आठपल्टको च्याम्पियन हो मनाङ । गत वर्षको च्याम्पियन यात्रामा मनाङ मर्स्याङदीका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ भए पनि खेलको रणनीति बनाउने र ट्रेनिङ सम्हाल्ने काम नाइजेरियाली तोपे फुजाले गरेका थिए । यसपालि प्रशिक्षकको जिम्मेवारी उनलाई दिइएको छ ।


फुजाले ‘ए’ डिभिजन लिगको उपाधि रक्षा गर्न आफ्नो टिम तयार रहेको बताए । दुई साताअघिमात्रै मनाङको टिम सम्हाल्ने जिम्मेवारी पाएका फुजाले भने, ‘लगभग खेलाडीहरू निश्चित भइसकेपछि म आइपुगेको हो । खेलाडीहरू प्रतिभावान छन् । उपाधि रक्षा गर्ने विश्वास छ र यसैको लागि प्रयास गर्नेछौं ।’ क्लबका सिनियर र स्टार खेलाडीहरू बाहिरिदा पर्ने असरबारे उनले भने, ‘भएका खेलाडीलाई उपयोग गर्ने हो । उनीहरू त्यस्तो खासै फरक पर्छ जस्तो लाग्दैन ।’


पछिल्लोपल्ट उपाधिको दाबेदार मानिए पनि चौथो स्थानमा खुम्चिएको थियो आर्मी क्लब । यो विभागीय टिमका प्रशिक्षक नवीन न्यौपानेले भने, ‘हामी गत वर्ष पनि लिगमै केन्द्रित भएर पनि उपाधि जित्न सकेनौं । यसपालिको लिगलाई पनि लामो समयदेखि राम्रो तयारी गरेका छौं । उपाधि जित्नकै लागि लिग खेल्नेछौं ।’


एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले भने एक महिनायता तयारी गरेर पनि टिमसेट हुन नसकेको बताए । ‘शीर्ष ६ को लक्ष्य बनाएका छौं र त्यसको लागि प्रतिस्पर्धा गर्न तयार छौं,’ उनले भने । च्यासल युवा क्लबका प्रशिक्षक बालगोपाल साहुखलले पनि साग र यू–१९ छनोटले टिमको तयारी प्रभावित पारेको भए पनि लिगमा उच्च स्थानका लागि प्रयास गर्ने बताए ।


एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले साउन दोस्रो सातादेखि तयार गरेको उल्लेख गर्दै भने, ‘हामीसँग राष्ट्रिय खेलाडीहरू छैनन् । पुरानै खेलाडी छन् । मोफसलका प्र्रतियोगिता खेलेको अनुभवले लिगलाई राम्रो गर्न सक्छन् । बिना दबाब राम्रो गर्ने प्रयास गर्नेछौं ।’ हिमालयन शेर्पा, ब्रिगेड ब्वाइज, पुलिसले लिगमा राम्रो गर्ने प्रयासमा रहेको जनाएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा लिगअघि आयोजित पत्रकार सम्मेलनमा चारपल्टको विजेता थ्रीस्टार, गत वर्षको उपविजेता संकटा, सरस्वती, जावलाखेल र फ्रेन्ड्स क्लबका प्रतिनिधि भने उपस्थित भएनन् ।

प्रकाशित : मंसिर २८, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?