बक्सिङमा नयाँ युग !

‘समग्र बक्सिङमा हाम्रो प्रदर्शन धेरै राम्रो भयो । त्यसैले त ९ बक्सर फाइनल पुगे, हालसम्मकै सबैभन्दा राम्रो नतिजाको रूपमा तीन स्वर्ण जित्यौं’
राजु घिसिङ

काठमाडौँ — भारतीय बक्सर मनीष कौशिकले विश्व च्याम्पियनसिप २०१९ मा कांस्यपदक जितेका थए । कमनवेल्थ गेम्स २०१८ मा रजत पनि हात पारेका हरियाणाका यी बक्सरलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ६४ केजीमुनिको स्पर्धामा स्वर्ण जित्न गाह्रो नहुने अनुमान गरिएको थियो ।

बक्सिङमा नयाँ युग !

तर, उनलाई नेपाली बक्सर भूपेन्द्र थापामगरले ५–० ले पारजित गर्दै स्वर्ण कब्जा गरे । लन्डन ओलम्पिक २०१२ खेलेका शिव थापालाई पराजित गर्दै पहिलोपल्ट २०१७ मा घरेलु प्रतियोगितामा स्वर्ण जितेका कौशिकको यो हारलाई भारतीय मिडियाले १३ औं सागकै आश्चर्य मानेका छन् ।


भूपेन्द्रले मात्र होइन, मीनु गुरुङ र सनिल शाहीले पनि यो सागको बक्सिङमा स्वर्ण जिते । सागमा ३५ वर्षे इतिहासमा नेपालले बक्सिङबाट दुईभन्दा बढी स्वर्ण जितेको यो नै पहिलो संस्करण हो । मीनुले महिला ५४ कजीमुनि एसियन च्याम्पियनसिप २०१७ को कांस्य विजेता शिक्षालाई फाइनलमा ५–० ले हराएकी थिइन् । सनिलले वरिन्दर सिंहको चुनौती रोमाञ्चक बाउटमा ३–२ ले समाप्त पारिदिए । यी तीनको सफलतासँगै नेपालले यसपालि बक्सिङमा ३ स्वर्ण, ६ रजत र ६ कांस्य गरी १५ पदक हात पार्‍यो ।


यो सागमा पदक जित्न असफल एकमात्र बक्सर बने, दीपक श्रेष्ठ । खासमा उनीबाट स्वर्णपदक आस गरिएको थियो । आर्मीका यी अनुभवी बक्सरले १२ औं सागबाट मीनु र सरस्वती रानामगरसँगै कांस्य भित्र्याएका थिए । दीपक पहिलो चरणमै भारतका अंकित खतानाविरुद्ध परेका थिए । आक्रामक सुरुआत गरेका उनले खतानालाई निरन्तर दबाबमा राखे । तर, खेल सकिन ११ सेकेन्ड बाँकी छँदा खतानाको पञ्चमा उनी नकआउट हुन पुगे । त्यसैले उनी यो सागमा पदकविहीन एक्लो बक्सर बने ।


मनोहर बस्नेतले चोटको कारण देखाउँदै टिम छाडेपछि छनोट भएका गणेश प्रधानले ८१ केजीको सेमिफाइनलमा भारतका सचिन कुमारलाई पराजित गरेपछि स्वर्ण जित्ने आशा गरिएको थियो । उनी श्रीलंकाका रुमेश सन्दाकेलुमविरुद्ध चुकेपछि रजतमै सीमित भए । घरेलु रिङमा विशेषगरी महिला खेलाडीको पञ्च खुबै चल्यो ।


माला राईले ५१ केजीमा एसियन च्याम्पियनसिपको रजत विजेता पिंकी रानीलाई कडा चुनौती दिएकी थिइन् । तेस्रो राउन्ड सकिँदासम्म कसले खेल जित्यो भनेर अनुमान गर्नसक्ने अवस्था थिएन । लन्डन ओलम्पिक २०१२ मा कांस्य र छपल्ट विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी म्यारी कोमलाई घरेलु प्रतियोगितामा पराजित गरेकी पिंकीले मालाविरुद्ध कडा प्रतिस्पधाबीच ३–२ को जित निकालिन् । पुनम रावलले ६४ केजीको फाइनलमा मन्जु बाम्बोरियालाई पनि कडा चुनौती दिइन् । तर, नतिजा भारतीय बक्सरको पक्षमा ३–२ कै रह्यो । कलावानी श्रीनिवासनले पनि ललिता महर्जनविरुद्ध ४८ केजीमा ३–२ को जित निकाल्न निकै मिहिनेत गर्नुपर्‍यो । संगीता सुनार पनि ७० केजीको फाइनलमा भारतकै परविनसँग त्यही अन्तरले पराजित भइन् ।


नेपालका ९ खेलाडी फाइनलमा पुगेका थिए । त्यसमध्ये तीन स्वर्ण हात लाग्यो । हारेका ६ मध्ये ५ फाइनल भारतीय खेलाडीविरुद्ध थियो । बक्सिङको १६ स्पर्धामा भारतले १२ स्वर्ण जित्यो । नेपालले ३ जित्दा बाँकी एक स्वर्ण श्रीलंकाले लग्यो । सिलोङमा तीन वर्षअघि भएको १२ औं सागको बक्सिङमा भारतले सबै स्वर्ण कब्जा गरेको थियो, जहाँ नेपालले तीन कांस्यमात्रै हात पारेको थियो ।


लगानी चाहियो

‘समग्र बक्सिङमा हाम्रो प्रदर्शन धेरै राम्रो भयो । त्यसैले त ९ बक्सर फाइनल पुगे, हालसम्मकै सबैभन्दा राम्रो नतिजाको रूपमा तीन स्वर्ण जित्यौं,’ बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले भने, ‘भारत हामीभन्दा धेरै बलियो छ । उसले धेरै लगानी गरेको छ । उच्चस्तरको सुविधा दिएको छ । उनीहरूको सुविधासँग हाम्रो अवस्था तुलना गर्न सकिँदैन । तैपनि हाम्रा खेलाडीले घमासान चुनौती दियो । निरन्तरको प्रशिक्षण र नियमित प्रतियोगिताले सुधार आएको हो ।’ प्रशिक्षक थापा आफैं पनि आठौं साफका स्वर्ण विजेता हुन् ।


१३ औं सागका लागि नेपाली टिमको ‘क्लोज क्याम्प’ असोज सुरुबाटै भएको थियो । त्यसअघि ५२ दिन बैंककमा ट्रेनिङ गरेको थियो । फर्केर पोखरामा तयारी गर्‍यो, जहाँ उज्वेकिस्तानी प्रशिक्षक अलिसेर राखिमोभले शारीरिक बलियोपन र पावर ट्रेनिङमा जोड दिएका थिए । ‘हामीले बैंककमा राम्रो स्पाइरिङ पार्टनर पाएका थियौं । त्यसले आफ्नो कमजोरी सच्याउन सहयोग गर्‍यो, जसको नतिजा सागमा देखियो,’ मुख्य प्रशिक्षक थापाले भने, ‘हाम्रो प्रतिद्वन्द्वी भनेकै भारत हो, अरुलाई पराजित गरिरहेका थियौं । आठौं साफ (२ स्वर्ण) भन्दा राम्रो गर्ने लक्ष्य थियो, हासिल गर्‍यौं ।’


उनी २१ वर्षे सनिल शाहीको प्रदर्शनबाट निकै खुसी छन् । बक्सिङ ग्लोब्समा अभ्यस्त हुन थालेको तीन वर्षमै दक्षिण एसियाली च्याम्पियन बनेका उनीबारे प्रशिक्षक थापाले भने, ‘उनले सुरुबाट अन्त्यसम्मै स्तरीय टेक्निक, ट्याक्टिससहित खेले । उनको स्पिड पनि राम्रो छ । भूपेन्द्रले प्रतिद्वन्द्वीलाई लखेटेर खेल्दै जिते । टेक्निकल खेलेको भए गाह्रो हुनसक्थ्यो । मीनुले पनि फाइनलमा एकदमै राम्रो खेलिन् ।’


भारतीय खेलाडीले पनि आफ्नो कौशलअनुसार खेलेको उल्लेख गर्दै उनले भने, ‘हाम्रा खेलाडी स्वदेशमै खेल्दैथिए । उनीहरूको जितको इच्छाशक्तिले काम गर्‍यो । भारतीय खेलाडीलाई यत्तिको चुनौती दिनु धेरै ठूलो पक्ष हो । यसबाट हामीले चाह्यौं भने गर्नसक्छौं भन्ने देखायौं । दीर्घकालीन योजनासहित नियमित प्रतियोगिता र प्रशिक्षण गर्ने हो भने हामी भारतलाई चुनौती दिनसक्छौं ।’


नेपालले एसियाली खेलकुद २०१० को एकमात्र पदक (कांस्य) पनि बक्सिङबाटै ल्याएको थियो । त्यो पदक दिलाएका दीपक महर्जन भन्छन्, ‘करिब तीन वर्षयता नियमित ट्रेनिङ गरिरहेका छन् । त्योभन्दा पनि स्वदेशमै खेल हुँदा हार्‍यो भने बेइज्जत हुन्छ भन्ने जोसले काम गर्‍यो । दर्शकको हुटिङले उत्तिकै शक्ति दिएको थियो ।’


आर्मीको प्रभाव

पदकधारी चार खेलाडी सशस्त्र प्रहरी बलमा छन् । १० बक्सर आर्मीमा आबद्ध छन् । विभागीय टिमबाहिरका एक्लो खेलाडी हुन् सनिल । दाङबाट बक्सिङ करिअर सुरु गरेका भूपेन्द्र पुलिसका जागिरे हुन् । ३० वर्षीय यी रोल्पाली भन्छन्, ‘फाइनलमा धेरै गाह्रो थियो ।


निकै माथिल्लो वरीयताका खेलाडी थिए । उसको खेल अध्ययन गरी कमजोरी पत्ता लगाएर रणनीति बनायौं र त्यहीअनुसार खेल्दा सफल भइयो ।’ मीनु र सनिलले पनि कमजोरी पत्ता लगाएरै आफ्नो रणनीति बनाएका थिए, सफल भए पनि । ‘बाह्रै महिना तयारी गर्ने हो भने भारतजस्तो बलियो टिमविरुद्ध प्रतिस्पर्धा गर्न गाह्रो छैन,’ उनले भने, ‘यसबारे खेलकुद परिषद्ले सोच्नुपर्छ ।’


स्वर्ण विजेता मीनुको यो चौथो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । उनले ९ वर्षअघि सेनामा भर्ती भएपछि मात्रै पन्चिङ ब्यागमा मुक्का प्रहार गर्न थालेकी थिइन् । सनिलले दोस्रो प्रतियोगितामै स्वर्ण चुमेका हुन् । भूपेन्द्रले आधा दर्जन प्रतियोगिताको अनुभवपछि पदक जितेका हुन् ।


नेपालले ३५ वर्षअघि भएको पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) मा चार स्वर्ण जितेको थियो । पुरुष फुटबल टिम, म्याराथन धावक वैकुण्ठ मानन्धरसँगै बक्सरद्वय स्वर्गीय दलबहादुर राना र पुष्करध्वज शाहीले स्वर्ण दिलाएका थिए । दलबहादुरले फेरि तेस्रो संस्करणमा स्वर्ण चुमे । चित्रबहादुर गुरुङले चौथो साफमा स्वर्ण दिलाए । त्यसपछि बक्सिङको स्वर्ण हात पार्नका लागि साफ काठमाडौं फर्कनुपर्‍यो ।


सन् १९९९ को आठौं साफमा थापामगर दाजुभाइ प्रकाश र रामचन्द्रले स्वर्ण दिलाए । त्यसपछि चार संस्करणमा नेपाल बक्सिङमा स्वर्णविहीन नै भयो । पदक हात पार्न पनि मुस्किल हुन थाल्यो । ओरालो लागिरहेको यही बेला फेरि साग (सन् २००४ पछि प्रतियोगिताको नाम फेरिएको) जन्मस्थल फर्कियो । र, नेपालले बक्सिङमा पहिलो संस्करणकै सफलतालाई पनि उछिन्दै ३ स्वर्ण दिलायो । सातदोबाटोको कराते हलमा पाएको यो सफलतालाई जोगाइरहन सक्ला त ? अथवा, आठौं साफपछि ओरालो लागेजस्तै बक्सिङ खस्किने हो ? समयले नै बताउने छ ।

प्रकाशित : मंसिर २८, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?