लिगलाई कतार एयरको प्रायोजन

काठमाडौँ — सहिद स्मारक लिग फुटबलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार कतार एयरवेजसँग कीर्तिमानी सम्झौता गरेको छ । सम्झौताअनुसार कतार एयरवेजले एन्फालाई यस सिजनमा प्रायोजनवापत १ लाख ५० हजार डलर उपलब्ध गराउने छ । लिग शनिबार दशरथ रंगशालामा सुरु हुँदै छ ।

लिगलाई कतार एयरको प्रायोजन

कतार एयरवेजले पहिलो किस्तामा ९० हजार र दोस्रो किस्तामा ६० हजार डलर एन्फालाई उपलब्ध गराउने छ । एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र नेपालका लागि कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद अल इमामले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरे । त्यसअनुरुप सहिद स्मारक लिगको नाम अगाडि कतार एयरवेज थपिने छ ।


‘अन्तर्राष्ट्रिय ब्रान्डलाई प्रमुख प्रायोजक बनाउन पाउँदा हामी निकै खुसी छौं,’ एन्फा अध्यक्ष शेर्पाले पत्रकार सम्मेलनमा भने, ‘यस सम्झौताले कतार फुटबल महासंघसँगको हाम्रो सम्बन्ध पनि बढाउने छ ।’

एन्फाले पहिलोपल्ट अन्तर्राष्ट्रिय ब्रान्डलाई भित्र्याएको जनाएको छ । तर २०५२ सालको लिगमै मालब्रोले प्रमुख प्रायोजन गरेको थियो ।


मनाङ मर्स्याङ्दी, संकटा, थ्रीस्टार, नेपाल पुलिस, नेपाल एपीएफ, त्रिभुवन आर्मी, जावलाखेल युथ, फ्रेन्ड्स क्लब, मछिन्द्र क्लब, च्यासल युवा, न्युरोड टिम, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले लिगमा प्रतिस्पर्धा गर्नेछन् । लिग विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने छ । त्यस्तै दोस्रोदेखि छैटौं स्थानमा रहनेले क्रमश: ३५, २५, १५, ७ र ५ लाख पाउनेछन् । ६ करोड ३० लाख बजेट रहेको लिगमा सहभागी टोलीलाई तयारीवापत जनही २० लाख दिइने जनाइएको छ । उत्कृष्ट गोलरक्षक, रक्षक, मिडफिल्डर र स्ट्राइकर तथा प्रशिक्षकले जनही १ लाख ५० हजार पाउनेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले १० हजार पाउने छन् । हरेक खेल जित्ने टोलीलाई ५० हजार र बराबरी खेल्ने टोलीलाई समान १५ हजार प्रदान गरिनेछ । लिगमा कुल ९१ खेल हुनेछ । पुछारमा रहने टोली रेलिगेसनमा पर्नेछन् । एउटा टोलीले लिगमा १३ खेल खेल्नुपर्नेछ ।


दशरथ रंगशालामा ५ वर्षपछि लिग हुन लागेको हो । भूकम्पले दशरथ रंगशाला खेल्न नसक्ने बनाएपछि लिग यहाँ हुन सकेको थिएन । मंगलबार सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदका लागि दशरथ रंगशालाको पुनर्निर्माण कार्य सकाएपछि लिग नेपालको मुख्य फुटबल खेलस्थलमा फर्किएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पनि लिगका खेल हुनेछन् ।


प्रकाशित : मंसिर २७, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?