कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल हुने

रासस

काठमाडौँ — सेनाले प्रधानसेनापति आमन्त्रित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । प्रतियोगिताको सातौँ संस्करण सेनाले यही मंसिर २९ गतेदेखि काठमाडौंमा आयोजना गर्न लागेको हो ।


एन्फासँगको सहकार्यमा सञ्चालन हुने सो प्रतियोगितामा तीन विभागीय, दुई विदेशी तथा तीनवटा प्रदेशको फुटबल टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, प्रदेश नं १, प्रदेश नं २, प्रदेश नं ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीले सहभागिता जनाउने महासेनानी शशीकिरण रायमाझीले सेनाको मुख्यालय जंगीअड्डामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।


लिगकम नकआउटका आधारमा सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले तीन लाख रुपैयाँ, उपविजेताले एक लाख ५० हजार तथा सेमिफाइनल पुग्ने दुई टोलीले रु ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


महासेनानी रायमाझीका अनुसार प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । यस्तै उत्कृष्ट किपर, मिड फिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ । सेनाले २०७० सालदेखि उक्त प्रतियोगिता आयोजना गर्दै आएको छ । “सैनिक–नागरिक सम्बन्ध बढाउन, महिलालाई खेलप्रति आकर्षित गर्न तथा खेलका माध्यमबाट सम्बन्ध सुमधुर बनाउन प्रतियोगिता सञ्चालन गर्दै आएका छौँ”, महासेनानी रायमाझीले भने । विगतमा सोझै नकआउटका आधारमा सञ्चालन गरिँदै आएको सो प्रतियोगिता यसपटक विदेशी फुटबल टोलीको आग्रहमा लिगकम नकआउटका माध्यमबाट सञ्चालन गर्न लागिएको उनले बताए ।


खेल सेनाको मुख्यालयभित्र रहेको खेल मैदान तथा ललितपुरको लगनखेलस्थित सेनाको दुईवटा मैदानमा खेलाइनेछ । प्रतियोगितको उद्घाटन खेल मंसिर २९ गते त्रिभुवन आर्मी क्लब र प्रदेश नं १ बीच सेनाको मुख्यालयस्थित खेल मैदानमा हुनेछ । प्रतियोगिता आगामी पुस ९ गतेसम्म चल्नेछ ।

प्रकाशित : मंसिर २६, २०७६ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्

पौडेलद्वारा केन्द्रीय समिति बैठक बहिस्कार

महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिटौला पनि अनुपस्थित
कुलचन्द्र न्यौपाने

काठमाडौँ — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिस्कार गरेको छ । पौडेल पार्टी कार्यालयमै उपस्थित भए पनि बैठकमा गएनन् । पौडेलसहित महामन्त्री सशांक कोइराला तथा पूर्व महामन्त्री कृष्ण सिटौला पनि बैठकमा उपस्थित भएका छैनन् ।

फाइल तस्बिर ।

पार्टीका विभागको संख्या बढाउने प्रस्तावमा असहमति जनाउँदै उनले बैठक बहिस्कार गरेका हुन् । ‘विभागको संख्या थप्ने, भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्ष असन्तुष्ट छ । बैठकमा जम्मा ९ वटा एजेन्डा पेश गरिएका छन् । बैठकमा गगन थापा पनि उपस्थित छैनन् ।

केन्द्रीय सदस्य एनपी साउदले बरिष्ठ नेता पौडेल बैठकमा सहभागि नभएको बताए । 'उहाँ पार्टी कार्यालयमा हुनुहुन्छ तर बैठकमा उपस्थित हुनुहुन्न । महामन्त्री कोइरालाले पारिवारिक कारणले गर्दा आफू बैठकमा उपस्थित हुननसक्ने सभापतिलाई जानकारी गराउनु भएको छ,' साउदले भने ।

पौडेल–सिटौला पक्षले बहिस्कार गरे पनि विभागको संख्या बढाउने सभापति शेरबहादुर देउवाको प्रस्तावलाई बैठकले बहुमतले पारित गर्न भने सक्छ ।

प्रकाशित : मंसिर २६, २०७६ १६:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×