युरोपेली च्याम्पियन्स लिग : अन्तिम १६ को समीकण पूरा

(एएफपी)

पेरिस — एट्लेटिको म्याड्रिडले युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको अन्तिम स्थान हात पार्न बुधबार लोकोमोटिभ मस्कोलाई २–० ले हराएको छ । समूह ‘सी’ बाट एटलान्टाले उत्कृष्ट पुनरागमन रच्दै छनोटको औपचारिकता पूरा गर्‍यो । 

ZenTravel

Meroghar

बायर्न म्युनिखले एलिनाज एरिनामा भएको खेलमा टोटेनहममाथि ३–१ को प्रभावशाली जित निकाल्यो । रियल म्याड्रिड, पेरिस सेन्ट जर्मेन र युभेन्ट्स पनि लिग चरणको अन्तिम खेलमा जित आत्मसात् गर्न सफल रहे । डिएगो सिमोनीको एट्लेटिकोलाई आफ्नो हार र बायर लेभरकुसनविरुद्ध युभेन्ट्स पराजित हुने स्थितिमा आफू बाहिरिने तथ्य थाहा थियो । तर वान्डा मेट्रोपोलिटानोमा भएको खेलमा जोओ फेलिक्सले पहिलो गाल गरे भने फिलिपेले दोस्रो गोल थपे । यसअघि नै अन्तिम १६ मा पुगिसकेको युभेन्ट्सले पनि लेभरकुसनलाई २–० ले नै हरायो ।

समूह ‘डी’ को यो खेलमा क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गरे । खेलको अन्त्यतिर गोन्जालो हिग्विनले अर्को गोल गरे । च्याम्पियन्स लिगमा डेब्यु गरिरहेको एटलान्टाले साख्तार डोनेस्कमाथि ३–० को प्रसिद्ध जित रच्यो । सुरुआती तीन खेल गुमाएर पनि एटलान्टा छनोट हुने भाग्यमानी टिम बन्यो । गत सिजन इटालीको सिरी ‘ए’ मा तेस्रो स्थानमा आएको एटलान्टाले ती तीन खेलमा ११ गोल खाएको थियो ।

म्यानचेस्टर सिटीविरुद्धको खेलमा बराबरीको नतिजा निकालेयता डिनामो जाग्रेबलाई हराएर आफ्नो सम्भावना कायम राख्न सफल भएको थियो । एटलान्टाको पछिल्लो जितमा टिमोथी कास्टाग्ने, मारियो पसालिच र रोबिन जोसेन्सले गोल गरे । ‘क्लबको इतिहासमा टिमले अहिले तय गरेको यात्रा धेरै पछिसम्म सम्झिने छ । आजको खेल जतिले पनि हेरे, तिनीहरू सबैको मनमा पनि यो खेल रहनेछ,’ कप्तान एलेजान्द्रो गोमेजले स्काई स्पोर्टस इटालीलाई भने ।

एटलान्टा नकआउट चरणमा पुगेपछि यहाँ पुग्ने सबै क्लब युरोपका ठूला ५ देश इंग्ल्यान्ड, स्पेन, इटाली, जर्मनी र फ्रान्सबाट भएका छन् । डिनामोसामु पनि इंग्लिस च्याम्पियन सिटीलाई हराएर अगाडि बढ्ने अवसर थियो, तर डानी ओल्मोको गोलले अग्रता लिएपछि उसले ४–१ को हार सामना गर्नुपर्‍यो । सिटीको जितमा ग्याब्रियल जेससले ह्याट्रिक गरे भने किशोर खेलाडी फिल फोडेनले पनि पेप ग्वार्डिओलाका लागि एक गोल गरे । जोसे मोउरिन्होको टिम भने बायर्नको हातबाट पराजित रह्यो र यसअघि लन्डनमा बेहोरेको ७–२ को लज्जास्पद हारको बदला लिन चुक्यो ।

प्रतियोगितामा समूह विजेताको रूपमा बार्सिलोना, बायर्न म्युनिख, युभेन्ट्स, लेपजिप, डिफेन्डिङ च्याम्पियन लिभरपुल, म्यानचेस्टर सिटी, पेरिस सेन्ट जर्मेन र भ्यालेन्सिया नकआउट चरणमा पुगे । यस्तै समूह उपविजेता रहेका एटलान्टा, एट्लेटिको म्याड्रिड, बोरुसिया डर्टमन्ड, चेल्सी, लियोन, नेपोली, रियल म्याड्रिड र गत सिजनको उप विजेता टोटेनहम पनि दोस्रो चरण पुग्न सफल रहे । अब सोमबार प्रतियोगिताको अन्तिम १६ को ड्र निकालिने छ ।


प्रकाशित : मंसिर २६, २०७६ ०७:३३
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

यसरी उम्कियो १७ बैंकबाट १७ करोड

मातृका दाहाल

काठमाडौँ — अन्तर्राष्ट्रिय आपराधिक गिरोहले अनलाइन ठगी र ह्याकिङबाट संकलित रकम नेपालका १७ वटा बैंकमार्फत विदेश पुर्‍याउने गरेको खुलेको छ । पार्सल आएको भन्दै प्रलोभन देखाएर ठगेको र वित्तीय संस्थाको सर्भर ह्याक गरेर जम्मा पारेको रकम गिरोहले स्थानीय एजेन्टमार्फत विभिन्न व्यक्तिका नाममा राखी बैंकबाटै उम्काइरहेको भेटिएको हो । 

अन्तर्राष्ट्रिय गिरोहमा संलग्न नाइजेरियाली नागरिक पिटर हर्मन र बेलायती नागरिक स्मिथ मोरिसले नेपाली सहयोगीसँग मिलेर १० वर्षदेखि यस्तो ठगी गरिरहेको प्रहरीले जनाएको छ । प्रहरीले मंगलबार पिटर र स्मिथका सहयोगी तीन नेपालीलाई पक्राउ गरेपछि ठगीको रहस्य बाहिर आएको हो । महानगरीय अपराध महाशाखाको टोलीले ठमेलमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका दोलखाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विश्वेश्वरप्रसाद तिवारी र नवलपरासीकै मनी एक्सचेन्ज सञ्चालक १९ वर्षीय सन्दीप कलवारलाई पक्राउ गरेको थियो । प्रहरीले खड्कालाई काठमाडौंबाटै पक्रेको हो भने तिवारी र कलवार नवलपरासीबाट समातिएका हुन् । प्रहरी स्रोतका अनुसार १० सहयोगीसहित भारतमा बसेर अपराध सञ्जाल चलाइरहेका पिटरलाई पनि केही समयअघि भारतीय प्रहरीले पक्राउ गरिसकेको छ ।

महाशाखा प्रमुख एसएसपी सहकुल थापाले करिब १७ करोड रुपैयाँ बैंकमार्फतै बाहिर गएको प्रमाण भेटिएको बताए । ‘विदेशबाट पार्सल आएको छ भन्दै सर्वसाधारणबाट असुलेको तथा बैंकको सिस्टम ह्याक गरी संकलन गरेको रकम वाणिज्य तथा विकास बैंकको खाताबाट बाहिर गएको देखिन्छ,’ एसएसपी थापाले भने, ‘त्यसका लागि स्थानीय एजेन्टका रूपमा काम गर्नेलाई २० देखि २५ प्रतिशतसम्म कमिसन दिने गरेको पाइयो ।’ एजेन्टहरूले विभिन्न व्यक्तिका नाममा सयवटाभन्दा बढी खाता खोलेको र एकै व्यक्तिका नाममा धेरैवटा खातामा रकम जम्मा गरेको उनले बताए । पिटर र स्मिथ असोजमा कृषि विकास बैंक र पानस रेमिटको सिस्टम ह्याक गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनाका मुख्य योजनाकार भएको प्रहरले जनाएको छ । कृषि विकास बैंक र पानस रेमिटको सिस्टम ह्याक गर्ने तथा केही दिनअघि बैंकहरूबाट रकम चोरी गर्ने समूह एउटै भएको प्रहरीको दाबी छ । दुवैको एकसाथ सूक्ष्म अध्ययन गरिरहेको महाशाखाले ह्याकिङको उच्च जोखिम औंल्याउँदै सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र गरेको छ ।

थापाका अनुसार बैंक अफ काठमान्डु, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन्स, नबिल, लुम्बिनी विकास, माछापुच्छ्रे, एसबीआई, नेपाल बंगलादेश, ग्लोबल आईएमई, एनआईसी एसिया, स्टान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ र लक्ष्मी बैंकका खाताबाट रकम ट्रान्सफर भएको छ । यसबारे महाशाखाले सबै बैंकलाई राष्ट्र बैंकमार्फत जानकारी गराइसकेको जनाएको छ । डीएसपी दुर्गा दाहालले नाइजेरियाली, बेलायती र भारतीय नागरिकले भारत (दिल्ली, मुम्बई), पाकिस्तान, चीन, तान्जानिया, इथियोपियालगायत मुलुकमा बसेर ह्याकिङ र अनलाइन ठगीको सञ्जाल चलाइरहेको बताए । ‘नाइजेरियाली, भारतीय र बेलायती गिरोहले विदेशबाटै नेपालमा करिब ४० जनाको समूहलाई अनलाइन ठगी र ह्याकिङका लागि एजेन्टका रूपमा परिचालन गरेको देखिन्छ,’ डीएसपी दाहालले कान्तिपुरसँग भने, ‘हालसम्म १५ जना मानिस आफू ठगिएको भन्दै सम्पर्कमा आएका छन्, करिब एक करोड रुपैयाँ ठगिएको उजुरी पीडितबाट दर्ता भएको छ ।’ त्यसबाहेक १७ बैंकबाट १४ करोड ६७ लाख ९१ हजार रुपैयाँ शंकास्पद कारोबार भइसकेको देखिएको उनले बताए । केही पीडित सम्पर्कमा आउने क्रममा रहेको उनले जनाए ।

ह्याकिङ र ठगी गर्न १० वर्षअघि नै योजना
प्रहरीका अनुसार नाइजेरियाली नागरिक पिटरले मंगलबार पक्राउ परेका खड्कासँग मिलेर १० वर्षअघि नै बैंकको सिस्टम ह्याकिङ र अनलाइन ठगीको योजना बनाएका थिए । नेपालमै योजना बनाएर विदेश गएका पिटरको गिरोहले उतैबाट नेपालका बैंक खातामा निगरानी राख्ने गरेको अनुसन्धान अधिकारीले बताए । ‘एक जनालाई ६ वटाभन्दा बढी बैंक खाता खोल्न लगाउने र त्यसको सबै विवरण खड्कामार्फत पिटर र स्मिथलगायतका व्यक्तिको नेटवर्कमा पठाउने गरेको देखियो,’ डीएसपी दाहालले भने ।

रमेशको खाताबाट मात्रै ७ करोडको शंकास्पद कारोबार भएको देखिएको छ । दाहालका अनुसार विभिन्न व्यक्तिका नाममा खोलिएका खाता र तिनमा राखिएको रकमबारे रमेशबाट विवरण पाएपछि गिरोहले विदेशबाटै खातावालालाई लट्री परेको र त्यसबापत पार्सलबाट उपहार आएकाले भन्सार क्लियर गर्न केही रकम पठाउन प्रस्ताव गर्ने गरेको देखिएको छ । ‘५० लाखदेखि १ करोडसम्मको पार्सल छ तर भन्सार क्लियर गर्न पैसा पुगेन भन्दै विदेशबाटै खाता नम्बरसहित रकम डिपोजिट गर्न प्रस्ताव आउने गरेको देखियो,’ दाहालले भने, ‘५० लाख, १ करोडसम्मको सामानका लागि २/४ लाख किन नपठाउने भन्दै एजेन्टका खातामा रकम डिपोजिट गरेको पाइएको छ ।’ पिटरसँग भेट भएपछि खड्काले चिनजानका मानिसलाई विभिन्न बैंकमा खाता खोल्न लगाएका थिए । प्रहरीको सम्पर्कमा आएका पीडित पनि विदेशमा रहेको गिरोहसँग भाइबर, ह्वाट्स एप, फेसबुकलगायत माध्यममार्फत सम्पर्कमा रहने गरेको देखिएको छ । त्यस्तै सम्पर्कमा रहेकी शान्ता तामाङ पार्सलका नाममा रकम पठाउँदा पठाउँदै लाखौं ठगिएको थाहा पाएपछि प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।

ह्याकर र ठगीमा संलग्न गिरोहले भारतका विभिन्न स्थानमा कोठा भाडामा लिएर अपराधको धन्दा चलाइरहेको पाइएको छ । पिटरसहित १० जनाको समूहले योजना बनाउने र उसको योजनाअनुसार थप ५ जनाको समूहले नेपालका बैंक खातावालालाई सीधा सम्पर्क गर्ने गरेको भेटिएको छ । त्यसमध्ये पिटरसहितको एउटा समूह पक्राउ परिसकेको छ । उनलाई पक्राउ गर्न महाशाखाबाट समेत विशेष टोली केही समयअघि भारत गएको थियो । भारतमै ठगी कसुरमा पिटरमाथि अनुसन्धान भइरहेको छ । पिटरकै योजनाअनुसार नक्कली पार्सलका नाममा कस्टम क्लियर गर्ने भन्दै रकम झिकाउनेदेखि ह्याकरलाई खाता नम्बर उपलब्ध गराउनेसम्मको सञ्जाल भारतमै सक्रिय छ । त्यसको खोजीमा पनि प्रहरी जुटेको छ ।

हुन्डी र अनलाइनमार्फत ह्याकरलाई पैसा
ठगी र ह्याकिङबाट संकलन भएको पैसा गिरोहले अनलाइन र हुन्डीबाट रकम पाउने गरेको पनि खुलेको छ । प्रहरीका अनुसार नेपाली एजेन्टमार्फत खोलेका खातामा पैसा जम्मा भएपछि गिरोहले हुन्डी, अनलाइन र स्थलमार्गबाट ओसारपसार गरेर रकम हात पार्ने गरेको भेटिएको छ । यसका लागि अन्तर्राष्ट्रिय गिरोहबाट नेपालमा खड्काको समूहले २५ प्रतिशतसम्म कमिसन लिने गरेको महाशाखा प्रमुख थापाले बताए । ‘१७ करोडको कारोबार अनलाइन ठगीबाट मात्रै हुनै सक्दैन, यो बैंक ह्याक गरेको रकम नै हो भन्ने हाम्रो ठम्याइ छ,’ उनले भने ।

प्रकाशित : मंसिर २६, २०७६ ०७:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×