कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

फुटबलमा लगातार स्वर्ण, नेपालले यसअघि खेलेका ५ फाइनल 

नेपाल २–१ भुटान
हिमेश

काठमाडौँ — ठूलो अवसर । उत्तिकै ठूलो खेल । यस्तो बेला अधिकांश समय फुटबल त्यसलाई सुहाउने गरेर राम्रो नहुन सक्छ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को पुरुष फुटबल फाइनलको कथा यस्तै रह्यो । नेपाललाई आफ्नै घरेलु दर्शक अगाडि खेल्नुपर्ने दबाब, त्यसमाथि यसपल्टको सागकै अन्तिम प्रतिस्पर्धा । भुटानका लागि त यो कुनै पनि ठूलो प्रतियोगिताको फाइनल खेलेकै यो पहिलोपल्ट हो । अझ दुवै टिमले एक सातादेखि लगातार खेलिरहेका थिए । 

फुटबलमा लगातार स्वर्ण, नेपालले यसअघि खेलेका ५ फाइनल 

तर यी सबैको त्यतिबेला खासै अर्थ पनि हुन्न, जति बेला टिमले स्वर्ण जित्छ भने । नेपाली यू–२३ राष्ट्रिय टिमले दशरथ रंगशालामा तय गरेको यात्रा यस्तै रह्यो । नेपालले भुटानलाई पराजित गर्दै स्वर्ण पदकमा आफ्नो नाम लेखायो र यसैक्रममा केही गर्विलो कीर्तिमान पनि राख्यो । जस्तो– नेपालले साग इतिहासमै सर्वाधिक चारपल्ट स्वर्ण जितेको कीर्तिमान बराबरी गरेको छ । पाकिस्तानको नाममा पनि चारपल्ट पुरुष फुटबलमा स्वर्ण जितेको कीर्तिमान छ ।


नेपाल सन् १९८४, १९९९ र २०१६ को विजेता पनि हो । यस्तै नेपाल भारत र पाकिस्तानपछि लगातार दुई स्वर्ण जित्ने तेस्रो टिम पनि बनेको छ । नेपालले तीन वर्षअगाडि पुरुष फुटबलमा जितेको स्वर्णको रक्षा पनि गरेको छ । ‘हामी यो स्वर्णको वास्तविक हकदार थियौं । हामीले प्रतियोगितामा कुनै पनि खेल गुमाएनौं । हामीले प्रतियोगितामा सहभागी सबै पाँच टिमको तुलनामा सबैभन्दा राम्रो फुटबल खेल्यौं । त्यसैले हामीले स्वर्ण जित्यौं,’ मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ।


नेपाली टिमको स्वर्णको यात्राको मुख्य कारण लामो र राम्रो तयारी रहेको दाबी पनि रह्यो, प्रशिक्षक महर्जनको । उनले भने, ‘हामी पछिल्लो चार महिनादेखि लगातार तयारीमा थियौं । यसक्रममा सबैले उत्तिकै योगदान दिए । म विशेषत: मेरा सहयोगी प्रशिक्षकलाई धन्यवाद दिन चाहन्छु । यस्तै सबै खेलाडीले कठिन मिहिनेत गरेर खेले । नेपालले पाँच खेल खेलेकामा चारमा विजयी रहेर अपराजित रहनु कम्तीको उपलब्धि होइन ।’


यसपल्टको सागमा नेपालले नै पहिलो स्वर्ण जितेको थियो भने अन्तिम स्वर्ण पनि नेपालकै रह्यो, पुरुष फुटबलबाट । भुटानी प्रशिक्षक पेमाले टिमको फाइनलसम्मको यात्रा अविस्मरणीय रहेको बताए । उनले भने, ‘भुटानी फुटबलका लागि अहिलेको यात्रा सबैभन्दा सम्झनालायक रह्यो र हामी सबै यसमा खुसी छौं । हामीले पनि प्रतियोगितामा सबैको मन जित्ने खेल खेल्यौं । हाम्रो टिमलाई समर्थन र माया गर्ने सबैलाई हाम्रातर्फबाट धन्यवाद छ ।’


नेपालले १७ औं मिनेटमा अग्रता लिएको थियो । भुटानले नेपालको थ्रोलाई राम्रोसँग क्लियर गर्न नसकेपछि प्राप्त अवसरमा अभिषेक रिजालले नजिकबाट सजिलै गोल गरे । यो अभिषेकको प्रतियोगितामा तेस्रो गोल हो र उनी नेपालका लागि सबैभन्दा प्रभावशाली खेल प्रदर्शन गर्ने खेलाडी रहे । भुटानले गरेको एक गोल भने कप्तान चेन्चो ग्याल्चेनको नाममा रह्यो । उनले ३७ औं मिनेटमा दुई नेपाली डिफेन्डरको बीचमा रहेर गोल गरे र आफू अब्बल दर्जाको खेलाडी रहेको प्रमाण पेस गरे ।


खेलको निर्णायक गोल भने ५३ औं मिनेटमा सुनील बलले गरे । उनले सुमन अर्यालको लामो पासमा हेड गर्दै बललाई पोस्टको दिशा दिए र त्यसमा भुटानी गोलरक्षक ग्याल्चेन जाम्पोले प्रतिक्रिया दिने अवसर नै पाएनन् । भुटानले खेल अवधिका क्रममा नेपालको तुलनामा राम्रो खेल्ने प्रयास गरेको थियो, तर पहिलोपल्ट ठूलो अवसरमा फाइनल खेलेको दबाब पचाउन सकेन । अन्त्यमा त्यही टिमले स्वर्ण जित्यो, जसले कुनै खेल गुमाएन । भुटान त नेपालपछिको दोस्रो राम्रो टिम मात्र रह्यो ।


सन् १९८४

नेपालले सन् १९८४ मा आयोजना गरेको पहिलो दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण जितेको थियो । त्यसमध्ये सबैभन्दा स्वादिलो सफलता रह्यो, अन्तिम दिन फुटबलबाट प्राप्त स्वर्ण । त्यतिबेला चार टिमसम्मिलित थिए र सुरुमा राउन्ड रोबिनका आधारमा खेल भएको थियो । नेपालले माल्दिभ्सविरुद्धको पहिलो खेल सजिलै ४–० ले जित्यो ।

त्यसमा गणेश थापाले दुई गोल गरे भने कप्तान रूपकराज शर्मा र कृष्ण थापाले एक–एक गोल गरे । नेपालले आफ्नो दोस्रो खेलमा अझ फराकिलो जित निकाल्यो र भुटानलाई सजिलै ५–० ले हरायो । त्यसमा फेरि गणेश थापाले दुई गोल गरे भने किरण राईको नाममा पनि दुई गोल नै रह्यो । कृष्ण थापाले पनि एक गोल गरे ।


लिग चरणको अन्तिम खेलमा भने नेपाल बंगलादेशको हातबाट ५–० ले पराजित रह्यो । लिग चरणको समाप्तिमा शीर्षस्थानमा रहेका दुई टिमले फाइनल यात्रा तय गरे । दशरथ रंगशालामा भएको फाइनलमा नेपाल ४–२ ले विजयी रह्यो । नेपालले एक गोल आत्मघातीका रूपमा प्राप्त गरेको थियो । अरू गोल कृष्ण थापा, सुरेश पन्थी र वाईबी घलेको नाममा रहे ।


सन् १९८७

सन् १९८७ को दक्षिण एसियाली खेलकुदको फुटबलमा नेपाल फेरि एकपल्ट फाइनल पुग्यो र त्यसमा नेपालको प्रतिद्वन्द्वी थियो, भारत । प्रतियोगिता कोलकातामा भएको थियो र स्वाभाविक रूपमा त्यस प्रतियोगिताको सबैभन्दा ठूलो आकर्षण फुटबल नै रह्यो । साल्ट लेक स्टेडियममा भएको फाइनल नेपालले खेलेको सबैभन्दा सम्झनालायक खेलको अग्रभागमा पर्छ ।


नेपाल बंगलादेश र भुटानको समूहमा थियो । दुवै खेल जितेर नेपाल सजिलै फाइनल पुग्यो । पहिलो खेलमा नेपाल कप्तान गणेश थापाको गोल मद्दतमा बंगलादेशलाई १–० ले हराउन सफल रह्यो । त्यसपछि उनकै ह्याट्रिकमा नेपालले भुटानमाथि ६–२ को फराकिलो जित निकाल्यो । फाइनलको दिन रंगशालामा एक लाख दर्शक उपस्थित थिए ।


खेलमा चर्को प्रतिस्पर्धा चलेको थियो र प्रतिस्पर्धा सकिन केही सेकेन्ड अगाडिसम्म गोलरहित बराबरी अवस्था थियो । तर खेलको अन्त्यमा भारत एक गोल निकाल्न सफल रह्यो र स्वर्ण पदक हात पार्‍यो । भारतका लागि विजयी गोल गर्ने खेलाडी थिए, मजिद । उनको त्यो प्रहारसँगै खेल पनि सकियो ।


सन् १९९३

नेपालले अहिलेसम्म जति पनि अन्तर्राष्ट्रिय खेल खेल्यो, त्यसमध्ये बारम्बार दोहोरिएर चर्चा गरिने प्रतियोगिता यही हो, सन् १९९३ को दक्षिण एसियाली खेलकुद । बंगलादेशको ढाकामा भएको त्यस प्रतियोगितामा नेपालले समग्रमै एकमात्र स्वर्ण जितेको थियो र त्यो यही फुटबलबाट प्राप्त भएको थियो ।


अझ यो स्वर्ण प्रतियोगिताको अन्तिम दिन प्राप्त भएको थियो । नेपाल त्यतिबेला बंगलादेश र माल्दिभ्सको समूहमा परेको थियो । नेपालले आफ्नो पहिलो खेलमा वसन्त गुरुङको निर्णायक गोलले बंगलादेशलाई १–० ले हराएको थियो । बंगलादेशलाई आफ्नै भूमिमा भएको प्रतियोगिताको फुटबलमा स्वर्णको हकदार मानिएको थियो । नेपालले दोस्रो खेलमा माल्दिभ्सविरुद्ध गोलरहित बराबरी खेल्यो र फाइनलमा प्रवेश गर्‍यो । भारतविरुद्धको त्यो प्रसिद्ध खेलको निर्धारित र अतिरिक्त समयको खेल २–२ को बराबरीमा छुटेको थियो । टाइब्रेकरमा नेपाल ४–३ ले विजयी रह्यो । नेपालले भारतलाई हराएको यो नै पहिलोपल्ट हो ।

सन् १९९९

दक्षिण एसियाली खेलकुदमा फुटबलतर्फ राष्ट्रिय टिमले खेलेको यो नै अन्तिम प्रतियोगिता रह्यो र नेपाल आफ्नो घरेलु मैदानको फाइदा उठाउँदै फाइनल पुग्न सफल रह्यो । लिग चरणको पहिलो खेलमै नेपालले भुटानलाई ७–० ले हरायो । यो अन्तर्राष्ट्रिय फुटबलमा नेपालले प्राप्त गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो ।


त्यसमा हरि खड्का र वसन्त थापाले दुई–दुई गोल गरे भने दीपक अमात्य, नरेश जोशी र राजन रायमाझीले पनि गोल थपे । नेपालले दोस्रो खेलमा पाकिस्तानलाई ३–१ ले हरायो । यसमा एक गोल आत्मघाती थियो भने अन्य दुई गोल हरि र बालगोपाल महर्जनले गरेका थिए । तेस्रो खेलमा भने नेपाल भारतविरुद्ध ४–० ले पराजित रह्यो ।


नेपालले सेमिफाइनलमा माल्दिभ्सलाई २–१ ले हरायो र फेरि एकपल्ट नरेश र हरिले गोल गरे । दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले सुरुमै गोल गरेको थियो र अन्त्यसम्म त्यसलाई कायम राख्न सफल भयो । मोहम्मद अल्फाज अहमदले त्यो निर्णायक गोल गरे । यो एक प्रकारले सन् १९८४ मा नेपालविरुद्ध बेहोरेको हारको बदला पनि रह्यो ।


सन् २०१६

दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबल यू–२३ भएयता सन् २०१६ मा नेपाल फाइनल पुग्न सफल रह्यो र स्वर्ण पदक पनि जित्न सफल भयो । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा थियो र त्यसको पहिलो खेलमा नेपालले भुटानलाई ५–० ले हराएर सानदार सुरुआत लियो । त्यसमा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । तर दोस्रो खेलमा भने बंगलादेशको हातबाट २–१ ले पराजित रह्यो । सेमिफाइनलमा नेपालले माल्दिभ्समाथि ४–३ को जित निकाल्यो । अर्को सेमिफाइनलमा भारतले बंगलादेशलाई हराएको थियो । फाइनलमा भने नेपालले भारतलाई उसकै भूमिमा २–१ हरायो । अनन्त तामाङले त्यसमा एक गोल गरेका थिए ।


भारतले सुरुमा अग्रता लिएयता नेपालका तर्फबाट प्रकाश बुढाथोकी र नवयुगले गोल गरे । यो अर्थमा नेपालको जित उत्कृष्ट पुनरागमन रह्यो । यो प्रतियोगितालाई नवयुगको उत्कृष्ट प्रदर्शनका रूपमा पनि लिइन्छ । नेपालले साग पुरुष फुटबलमा स्वर्ण जितेको यो तेस्रो अवसर हो ।

प्रकाशित : मंसिर २५, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?