मेसीको कीर्तिमानी ह्याट्रिक

(एएफपी)

म्याड्रिड — लियोनल मेसीको कीर्तिमानी ह्याट्रिकको मद्दतले बार्सिलोनाले शनिबार राति स्पेनी ला लिगामा रियल मार्लोकालाई ५–२ ले हरायो र उपाधि होडमा कायम रह्यो ।

ZenTravel

Meroghar

सप्ताहन्त मात्र कीर्तिमान छैटौं बेलन डे अर जितेका अर्जेन्टिनी खेलाडीको यो ३५ औं तीन गोलको उपलब्धि हो र यसक्रममा उनले क्रिस्टियानो रोनाल्डोको नाममा रहेको ३४ औं ला लिगा ह्याट्रिकलाई उछिनेका छन् ।

लिग तालिकामा बार्सिलोना र रियल म्याड्रिड दुवै १५ खेलबाट समान ३४ अंकमा छन् ।

रियलले यसअघि इस्पनयोललाई २–० ले हराएको थियो ।

प्रकाशित : मंसिर २२, २०७६ ०७:३४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

१३ औं साग : फर्कियो म्याराथन छवि

ध्रुव तुलाधर

काठमाडौँ — नेपाली म्याराथनको समृद्ध इतिहास पुनर्जीवित गर्दै महिला र पुरुष खेलाडीले एकैचोटि पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जितेका छन् । जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शनिबार भएको म्याराथनमा पुरुषतर्फ किरणसिंह बोगटीले स्वर्ण र महिलामा पुष्पा भण्डारीले रजत पदक दिलाएका छन् । साग इतिहासमै नेपाली एथलेटिक्सले यसपालि ३ स्वर्ण, १ रजत र ४ कांस्य पदक जितेको छ । यस्तो सफलता यसअघि थिएन ।

नेपालले पुरुषतर्फ २४ वर्षपछि साग म्याराथनको स्वर्ण जितेको हो । यसअघि सन् १९९५ मा भएको पाँचौं संस्करण (मद्रास, साफ) मा नेपाललाई म्याराथनमा स्वर्ण पदक टीका बोगटीले दिलाएका थिए । २०१० को ढाका सागमा राजेन्द्र भण्डारीले म्याराथनमा स्वर्ण जिते पनि त्यस (३५ किमि मात्र भएकाले) ले रोड रेसको मान्यता पाएको थियो । महिलामा भने दक्षिण एसियाली खेलकुदमा नेपालले जितेको पहिलो म्याराथन पदक हो । गुवाहाटी, भारतमा भएको अघिल्लो संस्करणमा पुष्पाले दूरी पार गर्न सकेकी थिइनन् । यस पटक पुष्पाले २ घण्टा ५० मिनेट ११ सेकेन्डमा दौड पूरा गर्दै रजत जितिन् । उनले राष्ट्रिय कीर्तिमान पनि बनाइन् । २ घण्टा ४१ मिनेट २४ सेकेन्डमा दूरी पार गरेकी श्रीलंकाली धाविका हिरूनी केसाराले स्वर्ण जितिन् । भारतीय ज्योति गवाटेले २ घण्टा ५२ मिनेट ४४ सेकेन्ड लगाएर कांस्य पदक जितिन् । ६ धाविका प्रतिस्पर्धामा थिए । सागमा महिला म्याराथनतर्फ मद्रास (१९९५) मा भारतकी भ्याली सत्यावानाले राखेको २ घण्टा ३८ मिनेट १० सेकेन्डको कीर्तिमान छ ।

किरणले भने २ घण्टा २१ मिनेट १७ सेकेन्डमा दूरी पार गरेर स्वर्ण जितेका हुन् । उनका निकट प्रतिद्वन्द्वी दुवै भारतीय थिए । रस्पाल सिंहले २ घण्टा २१ मिनेट ५७ सेकेन्डबाट रजत र शेर सिंहले २ घण्टा २२ मिनेट ०७ सेकेन्डबाट कांस्य हात पारे । नेपालकै अर्का धावक होमलाल श्रेष्ठ भने चौथोमा रहे । उनको टाइमिङ २ घण्टा २४ मिनेट ३१ सेकेन्डको थियो ।

वैकुण्ठ मानन्धरका नाममा रहेको २ घण्टा १५ मिनेट ०३ सेकेन्डको दक्षिण एसियाली खेलकुदको म्याराथन कीर्तिमान यसपल्ट पनि तोडिएन ।

आफ्नै आँखाअगाडि म्याराथनको स्वर्णपदक नेपाली खेलाडीले जितेको देख्न पाउँदा कीर्तिमानी मानन्धर खुसी थिए । ‘मैले त कीर्तिमानसहित स्वर्ण जितेको हेर्न चाहेको थिएँ । स्वर्ण जित्यौं धेरै राम्रो । मिहिनेत गरे हाम्रा खेलाडी राम्रो गर्न सक्छन् भन्ने प्रमाण हो यो,’ म्याराथनका लिजेन्ड मानन्धरले भने ।

विजेता किरणको धोको पनि कीर्तिमानको छेउछाउमा पुग्ने छ । तर उनी खेलाडी जीवनको उत्तरार्द्धमा छन् । ३४ वर्ष भइसके । भन्छन्, ‘मेरो लक्ष्य अब टाइमिङ घटाउँदै ल्याउनु हो, वैकुण्ठ दाइको कीर्तिमान छेउछाउमा पुग्नु छ ।’

पदक आमालाई समर्पण
किरणले आफ्नो जितलाई खुसीसँगै दु:खमा पनि अर्थ्याए । लामो समयपछि देशका लागि स्वर्ण जित्दा उनी जति खुसी थिए, दु:खी त्यत्तिकै भए । उनी दु:खी यस अर्थमा थिए कि आफूभन्दा सिनियर खेलाडी यो अवसरबाट वञ्चित हुनुपर्‍यो ।

किरणलाई भाग्यमानी नै मान्नुपर्छ । सागको बन्द प्रशिक्षणमा उनको प्रवेश तीन साताअघि मात्र भयो । टिममा म्याराथनका राष्ट्रिय च्याम्पियन कृष्ण बस्नेत र होमलाल श्रेष्ठ छानिएका थिए । तर मातृशोकमा परेपछि आठौं राष्ट्रियका विजेता कृष्णले क्याम्प छाड्नुपर्‍यो । त्यसपछि वैकल्पिकमा रहेका किरणलाई टिममा बोलाइएको हो । ‘म त नयाँ हुँ । यहाँ मभन्दा धेरै पुराना खेलाडी हुनुहन्छ । कृष्ण दाइ (बस्नेत) मभन्दा धेरै राम्रो खेलाडी हो । दुर्भाग्यवश उहाँले खेल्न पाउनुभएन । म दोस्रोमा थिएँ । होमलाल दाइ पनि राम्रो खेलाडी हो । तर उहाँले पनि बीचमा राम्रो गर्न सक्नुभएन,’ उनले भने, ‘त्यो ठाउँ उहाँहरूको थियो तर विपक्षीलाई लिन नदिई मैले ओगटें । नेपालको झन्डा बोकेर हिँड्न पाउँदा को खुसी नहोला ?’

आफू स्वर्णकै लक्ष्यमा दौडिएको उनले सुनाए । ‘म त सके गोल्ड हान्छु नसके चौथो/पाँचौं हुन्छु होला भन्ने थियो । सके १८ नसके ३८ (२ घण्टा १८ मिनेट या ३८ मिनेट) भन्ने थियो ।’ किरणले दशरथ रंगशालाबाटै लिएको अग्रता पुन: त्यहीं आइपुग्दासम्म कायम राखे । ‘रंगशाला छिरेपछि मेरो शरीर थाकिसकेको थियो । अलि कमजोर महसुस गरें । तैपनि पछाडि हेर्दै कुदिरहें,’ उनले भने ।

कैलाली अत्तरियाका यी धावक घरेलु प्रतियोगिता एपीएफ क्लबबाट खेल्छन् । सशस्त्र प्रहरीमा जागिरे भएको ०६१ सालदेखि नै हो । एपीएफ क्लबसँग साइनो गाँसेको भने भर्खर तीन वर्ष बित्दै छ । हालै भएको आठौं राष्ट्रिय खेलकुद उनको पहिलो राष्ट्रिय सहभागिता थियो भने यो साग पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो । भन्छन्, ‘म धेरै पछाडि आएको खेलाडी हुँ । क्लबमा त जुनियर नै छु ।’ दुई छोरा (१५ र ५ वर्ष) का पिता किरण दरबन्दीमा पोखरा बस्दा बक्सिङ र उसु खेल्थे । पछि दौडतिर आकर्षित हुँदा एपीएफकै गोपीचन्द पार्कीले धेरै सपोर्ट गरेको उनले सुनाए । गोपीले पनि अघिल्लो दिन मात्र ५००० मिटर दौडमा स्वर्णपदक जितेका थिए ।

किरणले आफूले जितेको स्वर्ण दिवंगत आमाप्रति समर्पित गरे । उनकी आमा हीरादेवीको तीन वर्षअघि निधन भएको थियो । उनी भावुक भए, ‘उहाँले दु:खमा हुर्काइबढाई यो स्थितिमा ल्याउनुभयो । तर यो सफलता देख्न पाउनुभएन । यो स्वर्ण उहाँमा समर्पित गर्न चाहन्छु । उहाँलाई सम्झँदा पनि मन भक्कानिन्छ ।’

पुष्पाको कद
म्याराथन पदक जितेर इतिहास रचेकी सल्यान मालनेटाकी २४ वर्षीया पुष्पालाई कुनै बेलाको ‘ईख’ थियो । १५ वर्षकै उमेरमा छैटौं राष्ट्रिय खेलकुदमा म्याराथन दौडमा दोस्रो भएकी थिइन् । ५ किमि दौडमा तेस्रो भएकी थिइन् । ‘होची’ कदकी उनी विभागीय क्लबहरूको आँखामा पर्न सकिनन् । प्रदर्शन राम्रो भए पनि जिल्लामा खुम्चिनुबाहेकको विकल्प उनीसँग रहेन । दौडलाई निरन्तरता दिन सकिनन् । पढाइमै ध्यान दिन्छु भनेर दुई वर्ष उनी गाउँतिर रहिन् । प्लस टु सिध्याइन् । तर पुष्पाको प्रदर्शनप्रति रविनकुमार राईलाई भने विश्वास थियो, ‘यिनले केही गर्न सक्छिन् ।’ तिनै गुरुको आग्रहमा पुष्पा प्रतियोगिता खेल्न फर्किइन् । ०६९ सालमा लुम्बिनी च्याम्पियनसिप खेलिन् । पहिलो भइन् । त्यसपछि एपीएफको आँखामा परिन् । क्लबसँग उनी करारमा आबद्ध भइन् ।

म्याराथनबाट दौड सुरु गरेकाले पुष्पाको खासै गति थिएन । धेरै गुरुले ‘तिम्रो स्पिडमा विकास हुँदैन, हाइट पनि सानो भएकाले सक्दैनौं’ भन्थे । तर एपीएफका प्रशिक्षक धनीराम चौधरीले उनको आशा जगाइदिए । ‘तिमीले मेरो हाइट कम छ, मोटी छु भनेर कहिल्यै नसोच, नियमित ट्रेनिङ गर, स्पिड आफैं बढ्छ’ भन्दै चौधरीले हौसला दिए । ‘उहाँकै ट्रेनिङ पछ्याएँ । आज सफल भएकी छु,’ उनले भनिन्, ‘म यो पदक उहाँलाई नै समर्पण गर्न चाहन्छु ।’

पुष्पा एक वर्षयता सशस्त्र प्रहरीमा परिचर पदमा कार्यरत छिन् । ‘आफूले गरेको मिहिनेतअनुसार एउटा पदक जित्छु जस्तो लागेको थियो । भारत र श्रीलंका धेरै बलियो छन् भन्ने सुनेकी थिएँ । तर आफ्नो ट्रेनिङ प्रदर्शन हेर्दा पदक जित्छु भन्ने नै लागेको थियो,’ पुष्पाले भनिन् ।

आठौं राष्ट्रियमा रजत जितेकी पुष्पाले सागमा राष्ट्रिय कीर्तिमान पनि बनाएकी छन् । उनले २ घण्टा ५५ मिनेट ५७ सेकेन्डको कान्छीमाया कोजूको नाममा रहेको कीर्तिमान यस पटक तोडेकी हुन् । गत वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा उनले ३ घण्टा लगाएकी थिइन् । आठौं राष्ट्रियकी स्वर्णविजेता राजपुरा पछाईंले भने शनिबार दूरी पार गर्न सकिनन् । पुष्पाले भनिन्, ‘अघिल्लो सागदेखि नै म्याराथनबाट पदक जित्नुपर्छ भन्ने लागेको थियो । त्यतिबेला बिरामी भएर ३५ किमिभन्दा अगाडि दौडन सकिनँ । यसपालि मलाई सबै कुराले साथ दियो ।’

एथलेटिक्स टोलीका प्रशिक्षकमध्ये एक धनीराम चौधरीले भने, ‘यसपल्ट हामीले राम्रो तयारी गरेका थियौं । नतिजा त्यहीअनुसार आयो । यो नेपाली एथलेटिक्सका लागि ठूलो उपलब्धि हो । पुरानो इतिहासलाई फर्काएका छौं ।’ चौधरीले आफूहरूलाई मौसम र अल्टिच्युडले पनि साथ दिएको प्रस्ट्याए । अन्य देशका टिमले हाइअल्टिच्युडका कारण केही समस्या भइरहेको बताएको उल्लेख गर्दै उनले थपे, ‘त्यसको केही फाइदा हामीलाई भयो । हाम्रा खेलाडी यहीं अभ्यस्त थिएँ ।’

प्रकाशित : मंसिर २२, २०७६ ०७:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×