साइकल लेन माग्दै र्‍याली

रमेशकुमार पौडेल

चितवन — साइकल चढ्ने बानीको विकास गराउन भन्दै शुक्रबार नारायणगढमा र्‍याली निकालिएको छ । अभियानकर्मीहरुले भरतपुर महानगरपालिकामा ज्ञापनपत्र बुझाएर साइकलको सहज आवागमनका लागि सडकहरुमा साइकल लेन बनाउन माग गरे ।

साइकल लेन माग्दै र्‍याली

साइकल व्यवसायी संघ चितवनका निवर्तमान अध्यक्ष धर्मराज सापकोटा ५० को दशकसम्म चितवनमा साइकलको प्रयोग अत्याधिक रहेको बताउँछन् । ‘चितवनमा २०१५ सालबाटै साइकल बिक्री पसल खुलेको हो । समथर क्षेत्र भएका कारण साइकल चलाउन यहाँ सहज भयो’ सापकोटाले भने । ६० को दशकपछि भने साइकल व्यपार ओरालो लाग्यो । कुनै बेला चितवनमा दिनमै पाँच सय साइकल बिक्री हुन्थे ।‘अहिले जनसंख्या बढेको छ । तर चितवनभर दिनमा सवा सयको हाराहारीमा साइकल बिक्री हुन गाह्रो छ’ सापकोटाले भने ।


चितवन उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधान चितवनमा जग्गा कारोबार फस्टाएसँगै मान्छेको हातमा पैसा हुन थाल्यो । पैसा हुने मान्छेले साइकल छाडेर मोटरसाइकल र चार पाङ्ग्रे गाडीहरु किन्न थाले । ‘पहिला एउटै घरमा चार/पाँचवटा साइकल हुन्थे । अहिले मोटरसाइकल र कार हुन थाल्यो । साइकल पैसा हुनेले के चढ्ने भन्ने मान्यता बढ्यो’ प्रधानले भने । तर साइकल मान्छेको स्वास्थय र पर्यावरणका लागि उपयुक्त साधन हो । ‘यसैका कारण हामीले साइकल चढ्ने बानीलाई प्रोत्साहित गर्न थालेका छौं । अहिले साइकल चढ्ने युवाहरु बढ्न थालेका छन्’ चितवन साइकल राइडर्स क्लबका अध्यक्ष नविन खरेलले भने ।


‘स्कुल पढ्ने र कलेज पढ्नेहरुका लागि साइकल नै उपयुक्त साधन हो । तर अभिभावकहरुले छोरो कलेज पढ्न थाले दुई चार लाख रुपैयाँ खर्च गरेर मोटरसाइकल किन्ने गर्दछन्' खरेलले भने, 'कलेज पढ्नेले चलाएको मोटरसाइकल दुर्घटना भएर दुखद घटनाहरु भएका छन्’ । युवाका लागि मात्रै नभएर हरेक उमेरका व्यक्तिका लागि साइकल चलाउनु फाइदा जनक भएको उनले बताए ।


‘साइकल चलाउन इन्धन चाहिँदैन । शारीरिक बलमा चल्ने भएका कारण कसरत हुन्छ । कसरतले मान्छेलाई स्वस्थ बनाउँछ । त्यसैले साइकल चलाउनु फाइदाजनक छ’ खरेलले भने । साइकल चलाउन चाहना भए पनि पूर्वाधार नभएका कारण चलाउन मन नगर्नेहरु पनि छन् । ‘व्यस्त सहरमा एकै रुटमा ठूला गाडी र साइकल चलाउँदा दुर्घटनाको खतरा रहन्छ । त्यसैले साइकल लेन मागेका हौं’ खरेलले भने ।


साइकल लेन बने साइकल चलाउनेहरु बढ्न सक्ने साइकल व्यवसायी संघ चितवन–नवलपुरका अध्यक्ष श्यामप्रसाद खरेलले बताए । ‘साइकल लेन समृद्ध र स्मार्ट सहरको सूचक हो । असुरक्षित सडकमा साइकल चलाउने चाहना धेरैलाई छैन । त्यसैले साइकल लेन मागेका हौं’ अध्यक्ष खरेलले भने । उनले भरतपुर महानगरले बनाउने सडकमा साइकल लेन अनिवार्य रुपमा राख्न माग गरे ।


चितवन उद्योग वाणिज्य संघ, साइकल व्यवसायी संघ चितवन–नवलपुर, चितवन साइकल साइडर्स क्लबले संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझ्दै भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले साइकल लेन बनाउने कुरा महानगरको नीतिमा परेको जानकारी दिइन् । उनले महानगरले छात्राहरुलाई तीन सय साइकल वितरण गर्ने योजना बनाएको पनि जानकारी दिइन् ।


साइकललाई प्रवर्द्धन गर्ने महानगरको पनि योजना रहेको मेयर दाहालको भनाइ थियो । नारायणगढ बजार घुमेर भरतपुर आएको साइकल र्‍यालीले ज्ञापनपत्र बुझाएपछि गैंडाकोट गएको थियो । गैंडाकोट नगरपालिकाका पनि उनीहरुले मेयर छत्रराज पौडेललाई ज्ञापनपत्र बुझाएर साइकल लेन निर्माणको माग गरेका छन् ।

प्रकाशित : मंसिर २०, २०७६ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?