कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एपीएफ चन्द्रागिरि च्याम्पियन

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल एपीएफ क्लब तेस्रो संस्करणको चन्द्रागिरि मेयर गोल्डकप फुटबल प्रतियोगितामा च्याम्पियन भएको छ । शनिबार फाइनलमा एपीएफले नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो । पहिलोमा हिमालयन शेर्पा र दोस्रो संस्करणमा च्यासल युथ क्लब च्याम्पियन भएका थिए ।

चन्द्राागिरि नगरपालिकास्थित नैकाप फुटबल मैदानमा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरी टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा एपीएफका सबै ५ खेलाडी सुदीप सिख्राकार, कप्तान नवीन लामा, आशिष लामा, बुद्धिमान राई र रामकुमार कुमालले गोल गरे । पुलिसका सुमन लामा, अजित भण्डारी, हेम तामाङ र भोला सिलवालले गोल गरे । कप्तान जुमानु राईको पेनाल्टी एपीएफका गोलरक्षक अमृत चौधरीले बचाए । पुलिसले इन्ज्युरी समयमा पेनाल्टी एक्सपर्टको रूपमा रहेका रोशन खड्कालाई मैदान पठाए पनि उनले कुनै प्रहार बचाउन सकेनन् ।


त्यसअघि सातौं मिनेटमा प्रवीण स्याङ्तानले गोल गर्दै एपीएफलाई अग्रता दिलाए । पुलिसले आक्रामक खेल खेल्दै लगातार दबाबमा राखे पनि बराबरी गोल गर्न ४२ औं मिनेट कुर्नुपरेको थियो । करिब ३५ यार्डमा प्राप्त फ्रिकिकलाई नीरकुमार राईले गोल गरेका थिए ।


एपीएफले ६ लाख ५० हजार र पुलिसले ३ लाख ५० हजार रुपैयाँ पुरस्कार पाए । एपीएफका गोलरक्षक अमृत चौधरी सर्वोत्कृष्ट खेलाडी बने । एपीएफकै प्रवीण स्याङ्तान सर्वाधिक गोलकर्ता बने । दुवैले समान ३० हजार रुपैयाँ पाए ।


विजेतालाई चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी, पूर्वराष्ट्रिय खेलाडी वसन्त गौचन, आयोजक दीपशिखा युवा समूहका अध्यक्ष रवि बुढाथोकी र पूर्वराष्ट्रिय खेलाडी तथा प्रतियोगिता संयोजक रमेश बुढाथोकीलगायतले पुरस्कृत गरे ।

प्रकाशित : मंसिर १५, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्

ब्याडमिन्टन आजदेखि

कान्तिपुर संवाददाता

(पोखरा) — ब्याडमिन्टनको टिम इभेन्टको खेलसँगै आइतबार पोखरामा १३ औं दक्षिण एसियाली खेलकुदको सुरुआत हुने भएको छ । पोखरामा ८ खेल हुँदै छ । पोखरामा सागको उद्घाटन भने सोमबार हुनेछ ।

पोखरामा हुने ब्याडमिन्टनमा सहभागी हुन सातै देशका खेलाडी तथा अफिसियल पोखरामा छन् । कास्की जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष डम्बरसिंह गुरुङले आइतबार टिम इभेन्ट सुरु हुने र टिम इभेन्ट सकिएपछि अन्य इभेन्ट हुने बताए ।

टिम इभेन्टमा आइतबार महिला तथा पुरुष क्वाटरफाइनल, सोमबार सेमिफाइनल र मंगलबार फाइनल हुनेछ । व्यक्तिगततर्फ सोमबार महिला एकल तथा डबल्स, पुरुष एकल, डबल्स र मिक्स डबल्सतर्फको खेल हुनेछ । मंगलबार महिला तथा पुरुष एकल र डबल्सको क्वाटरफाइनल खेल हुनेछ । बुधबार सबै इभेन्टका सेमिफाइनल र २० मा सबै इभेन्टका फाइनल खेल हुने प्राविधिक समितिका संयोजक विद्याप्रसाद मर्सानीले जानकारी दिए ।
महिला टिमतर्फ पाकिस्तान र माल्दिभ्स, नेपाल र बंगलादेश भिडनेछन् । भारत र श्रीलंका बाई पाएर क्वाटरफाइनल पुगेका छन् । पुरुषतर्फ भारत र श्रीलंकाले बाई पाएर सिधै क्वाटरफाइनल यात्रा तय गरेका छन् । पाकिस्तान र बंगलादेश, नेपाल र भुटानले प्रतिस्पर्धा गर्ने छन् ।

सहभागी सबै सात देशले सहभागिता जनाउने एकमात्र खेल ब्याडमिन्टनका लागि ९४ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । नेपालबाट पुरुषतर्फ दीपेश धामी, रत्नजित तामाङ, विकास श्रेष्ठ, प्रिन्स दाहाल, नवीन श्रेष्ठ, प्रफुल्ल महर्जन, जीवन आचार्य, साजककृष्ण ताम्राकार, विष्णु कटुवाल र सुनील जोशी खेल्दैछन् । महिलातर्फ टिममा रसिला महर्जन, नङसल तामाङ, अनुमाया राई, सीता राई, शोभा गौचन, सीमा राजवंशी, जेसिका गुरुङ, नीता लम्साल, पूजा श्रेष्ठ र अमिता गिरी छन् ।

प्रकाशित : मंसिर १५, २०७६ ०९:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×