२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पदकधारीलाई अमूर्त ‘प्याकेज’

काठमाडौँ — नेपालमै भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीलाई बम्पर पुरस्कारस्वरुप काठमाडौंमा घडेरी उपलब्ध गराउने घोषणा गरेका थिए । घरेलु खेलाडीले ऐतिहासिक ३१ स्वर्ण जित्नुमा यो प्रोत्साहनले पनि मनोबल बढाएको त्यतिबेलाका स्वर्णधारी खेलाडीहरू नै बताउँछन् ।

पदकधारीलाई अमूर्त ‘प्याकेज’

२० वर्षपछि १३ औं संस्करणको आयोजना जिम्मासहित नेपालमै फर्किएको सागमा पनि खेलाडीहरू त्यस्तै बम्पर पुरस्कारको अपेक्षामा थिए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले सोमबार प्रधानमन्त्रीबाट ‘विशेष प्याकेज’ घोषणा हुने कार्यक्रम तय गराएका थिए । मंगलबार बिहान अचानक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भए । घोषित कार्यक्रममा सरकारको तर्फबाट प्रतिनिधित्व गरेका अर्थमन्त्री युवराज खतिवडाले चर्चा गरिएजस्तो कुनै पनि ‘विशेष प्याकेज’ घोषणा गरेनन् ।


सरकारको तर्फबाट प्रोत्साहन थप्ने कार्यक्रममा देशभर बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई हतारमा काठमाडौं भेला गरिएको थियो । जहाँ उनीहरू आठौं सागमा जस्तै ठोस पुरस्कार प्याकेजको आशामा थिए । प्रधानमन्त्री उपस्थित हुन नसक्नु एउटा निराशा छँदै थियो, त्यसमा अर्थमन्त्री खतिवडाले भनिदिए, ‘राज्यको प्रतिष्ठा उँचो पार्ने खेलाडीका लागि राज्यले विशेष पुरस्कार दिइनेछ । पुरस्कार राशिमा उल्लेख्य वृद्धि गरिनेछ र यसका लागि विभागीय मन्त्रीले मन्त्रिपरिषद्मा प्रस्ताव ल्याएर निर्णय गराउनुहुनेछ ।’


दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता खेलाडीले व्यक्तिगत खेलतर्फ ५ लाख र सामूहिक खेलतर्फ जनही २ लाख रुपैयाँ पुरस्कार पाउँछन् । व्यक्तिगत खेलका रजत र कांस्य विजेताले क्रमश: ३ लाख र २ लाख तथा सामूहिक खेलका रजत तथा कांस्य विजेताले जनही १ लाख ५० हजार र १ लाख पुरस्कार पाउँछन् । २०६८ साल चैत २१ मा बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ९० औं बोर्ड बैठकले गरेको यो निर्णयलाई मन्त्रिपरिषद्ले पारित गरेको हो । सोहीअनुसार सन् २०१६ मा भारतमा भएको १२ औं सागका खेलाडीलाई नगद पुरस्कार दिइएको थियो ।


अर्थमन्त्री खतिवडाले पूर्व निर्धारित पुरस्कारमा उल्लेख्य बृद्धि गरिने बताए । तर उपस्थित खेलाडीहरू ‘उल्लेख्य’ होइन ठोस घोषणा पुरस्कार सुन्न प्रतीक्षारत थिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले अपेक्षाकृत रूपमा पुरस्कार घोषणा नभएपछि आफूहरू निराश बनेको बताए ।


‘आठौं सागमा प्रधानमन्त्रीबाटै खेलाडीको जीवनस्तरसँग सम्बन्धित रहने गरी घर/घडेरीको घोषणा भएपछि म जस्ता खेलाडी उत्साही थियौं, त्यतिबेला मैले स्वर्ण जित्नुमा त्यो घोषणाले पनि थप ऊर्जा मिलेको थियो,’ आठौं सागमा करातेमा स्वर्ण विजेता दीपकले थपे, ‘हामीले प्रशिक्षणको क्रममा खेलाडी यस्तै पुरस्कार घोषणा हुने आशा देखाएका थियौं, आजको कार्यक्रमले खेलाडीको उत्साह बढाएन ।’


आठौं सागमा स्वर्ण विजेता खेलाडीका लागि सरकारले आफ्नो घोषणाअनुसार ३ लाख रुपैयाँ प्रदान गरेको थियो । त्यतिबेला सागमा स्वर्ण जित्नेले १ लाख ५० हजार, रजतको १ लाख र कांस्यको ५० हजार नगद पुरस्कार व्यवस्था त छँदै थियो ।


स्वर्ण जित्नेलाई ५० हजार थपेर २ लाख दिइएको थियो । ‘हामीले ५ लाख त त्यतिबेलै पाएका हौं,’ दीपकले प्रतिप्रश्न गरे, ‘अहिले ५ लाखमा उल्लेख्य बढाउने त भनिएको छ । त्यो कति हो ? मन्त्रिपरिषद्ले निर्णय गर्दा १ महिनासम्म लाग्न सक्ला, प्रतियोगिता सकिएपछि पुरस्कार कति दिन्छन् भनेर कुरेर बस्ने ?’


करातेका प्रशिक्षकसमेत रहेका दीपकले प्रधानमन्त्री ओली उपस्थित हुन सकेको थए यस्तो अमूर्त घोषणामा चित्त बुझाउनुपर्ने अवस्था नआउने ठोकुवा गरे । ‘हाम्रा प्रधानमन्त्री खेलकुदलाई माया र खेलाडीलाई सम्मान गर्नुहुन्छ, उहाँको ठाउँमा आउने मान्छेले आवश्यक सल्लाह गरेर आइदिएको भए हुन्थ्यो,’ दीपकले भने ।


अर्थमन्त्री खतिवडाले क्षेत्रीय एकताको प्रतीकका रूपमा खेलकुद रहेको भन्दै सफलताको शुभकामना दिए । उनले भने, ‘सार्कको अध्यक्षको हैसियतमा हामीले सार्क सम्मेलन गराउन धेरै प्रयास गरिराखेका छौं, सकेका छैनौं । खेलकुद प्रतियोगिताका लागि सार्कका सबै सदस्यको एकमुष्ट सहमति बन्यो । यसले आपसी एकताको सन्देश गएको छ । सबै देशको सहभागिता हाम्रा खेलाडीका लागि पनि एक्सपोजर हो ।’


युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्रधानमन्त्रीका छिटै सम्बोधन हुने बताए । उनले भने, ‘प्रधानमन्त्रीज्यू आज अस्वस्थताका कारण उपस्थित हुन सक्नुभएन । तर उद्घाटनको दिन राष्ट्रिपतिज्यूले समुद्घाटन र प्रधानमन्त्रीज्यूले विशेष सम्बोधन गर्नुहुनेछ ।’


नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा संघीय सांसद जीवनराम श्रेष्ठले ठूला प्रतियोगिताअघि यस्तो कार्यक्रमले खेलाडीमा उत्साह बढ्ने धारणा राखे । १३ औं साग मंसिर १५ देखि २४ सम्म काठमाडौं, पोखरा र जनकपुर सहरमा आयोजना हुँदै छ ।


महिला भलिबल खेलाडीलाई जनही ३ लाख

बंगलादेशमा भएको एभीसी सेन्ट्रल जोन सिनियर वुमेन्स भलिबल च्याम्पियनसिपको स्वर्ण विजेता नेपाली राष्ट्रिय भलिबल टोलीका सबै सदस्यलाई पूर्वघोषित पुरस्कार रकम हस्तान्तरण गरिएको छ । मंगलबार आयोजित कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले राष्ट्रिय टोलीका १२ खेलाडी र ४ अफिसियलले पूर्वघोषणाअनुसार जनही ३ लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।


१३ औं दक्षिण एसियाली खेलकुदको तयारीमा रहेको नेपाली टोलीको हौसला बढाउन पूर्वघोषित पुरस्कार सागअगाडि नै हस्तान्तरण गरिएको सदस्यसचिव रमेशकुमार सिलवालले बताए । कात्तिक २२ देखि २८ सम्म बंगलादेशको ढाकामा सम्पन्न प्रतियोगितामा नेपालले एकपक्षीय जित निकाल्दै उपाधि उचालेको थियो ।


नेपालसहित अफगानिस्तान, किर्गिस्तान, बंगलादेश र माल्दिभ्स सहभागी प्रतियोगितामा नेपालले एउटा सेट पनि नगुमाइ उपाधि जितेको हो । नेपालले फाइनलमा माल्दिभ्समाथि ३–० सोझो सेटमा जित रचेको थियो । नगदसहित पुरस्कृत हुने खेलाडीमा अरुणा शाही (कप्तान), सरस्वती चौधरी, रेश्मा भण्डारी, उषा विष्ट, प्रतिभा माली, कमला पुन, सुनीता खड्का, निरुता ठगुन्ना, जानकी भण्डारी, सोफिया पुन, सलिना श्रेष्ठ र पुनम चन्द छन् । अफिसियलमा प्रमुख प्रशिक्षक जगदिश भट्ट, मुख्य प्रशिक्षक सलिना श्रेष्ठ, प्रशिक्षक भरत यादव र व्यवस्थापक रीता कोइराला छन् ।


प्रकाशित : मंसिर ११, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?