कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

नवराज च्याम्पियन

रूपा गहतराज

(नेपालगन्ज) — त्रिभुवन आर्मी क्लबका धावक नवराज साउदले पाँचौं नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् । शनिबार उनले निर्धारित ४२.१९५ किलोमिटर दूरी २ घण्टा २५ मिनेट ४२ सेकेन्डमा पूरा गरेका थिए । उनले ६५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । 

आर्मीका खेलाडीको शीर्ष पाँच स्थान कब्जा गर्दै वर्चस्व जमायो । खगेन्द्र भाटले २ घण्टा २५ मिनेट ५८ सेकेन्डबाट दोस्रो र राजन रोकाया २ घण्टा २९ मिनेट १४ सेकेन्डबाट तेस्रो भए । उनीहरूले क्रमश: ४० र २० हजार पुरस्कार पाए । चौथो र पाँचौं स्थानमा रामप्रसाद भट्टराई र देवराज महतारा रहे । एपीएफका गणेश ठकुरी छैटौं र बर्दियाका शेरबहादुर थारु सातौं भए । शीर्ष आठभित्रका खेलाडीले नगद पुरस्कार पाए ।


महिला हाफ म्याराथनतर्फ आर्मीकी पूर्णलक्ष्मी न्यौपाने विजेता भइन् । उनले निर्धारित दूरी १ घण्टा ३० मिनेट २१ सेकेन्ड पार गरिन् । उनले ४० हजार पाइन् । राममाया बुढा १ घण्टा ३० मिनेट ५८ सेकेन्डबाट दोस्रो भइन् । उनले २० हजार पाइन् । कृष्णश्वेरी सिन्तकला तेस्रो हुँदै १० हजार पुरस्कार थापिन् । मन्जु रावत र प्रतीक्षा मगर चौथो र पाँचौं भए ।


पुरुष १० किलोमिटर खुलातर्फ अजितकुमार यादव विजयी भए । उनले ३१ मिनेट ४० सेकेन्डमा दूरी पार गरे । उनले १० हजार पाए । रामजी बस्नेत र सन्तोषविक्रम विष्ट दोस्रो र तेस्रो भए । महिला ५ किलोमिटरमा काजल विष्ट १८ मिनेट ४५ सेकेन्डमा दौड पूरा गर्दै विजेता भइन् ।


उनले १० हजार पाइन् । जुनेली सुनारले दोस्रो हुँदै ७ हजार तथा कल्पना थारुले तेस्रो हुँदै ५ हजार पुरस्कार पाए । ५ किमि छात्रमा केशर मास्के, एकेन्द्र विक र कमल विक तथा छात्रा ३ किमि दौडमा सीमा चौधरी, पूर्णिमा खड्का र हरिमाया गुरुङ शीर्ष तीन स्थानमा विजयी भए । २ किमि कर्पोरेट दौडमा केशव बीसी, अरुण गौतम र डा. सन्दीप गुरुङले शीर्ष तीन स्थानमा सफलता पाए ।


किड्स रनतर्फ मोडल एकेडेमी प्रथम हुँदा युनाइटेड एकेडेमी दोस्रो र इन्टिग्रेटेड तेस्रो भए । नेपालगन्जको वीपी चोकबाट सुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगेर सोही रुट हुँदै पुन: वीपी चोकमा आएर म्याराथन सकिएको थियो ।


यज्ञबहादुरको सफलता

कोहलपुर नगरपालिकाका यज्ञबहादुर खत्री फरक क्षमताका लागि भएको ३ किलोमिटर दौडमा प्रथम भए । गत वर्षझैं उनले आफ्ना प्रतिस्पर्धीलाई उछिने । उनको मेरूदण्डले काम गर्दैन । दार्चुलामा काम गर्द जाँदा ०६० सालमा रोड कटिङ गर्दा पहाडबाट खसे । त्यसपछि धेरै उपचार गराउँदा पनि उनी ठीक हुन सकेनन् । उनको कम्मरमुनिको भागले काम गर्दैन । अहिले उनी घरमै किराना पसल गर्छन् । ट्राइसाइकलमा पसलका लागि सामान किन्न रूपेडिया पुग्छन् । ‘पसलका लागि सामान ल्याउने काममा नै दिन बित्छ,’ उनले भने, ‘रोएर बसेर के गर्नु, बाँच्नका लागि कमाउनै पर्‍यो ।’


कोहलपुर नगरपालिकाका शेरबहादुर शाही बिहान सबेरै नेपालगन्ज आइपुगे । पहिलोपल्ट भाग लिन आएका उनी निकै उत्साही थिए । उनी दोस्रो भए । ‘पहिलोपल्ट भए पनि रमाइलो अनुभूति भयो,’ उनले भने, ‘जित–हारभन्दा पनि हामीजस्ता फरक क्षमताको सहभागिता हुनु नै ठूलो कुरो हो ।’ व्यवस्थापकीय कमजोरीका कारण आफूहरू ट्राइसाइकलमै नेपालगन्ज आउनुपरेको उनले गुनासो गरे ।


कोहलपुरकै सेवकराम थारुले तेस्रो भए । जन्मजात पोलियोले गाँजेपछि उनको खुट्टाले काम गर्दैन । उनीसँग कुनै रोजगारी छैन । हातकै भरमा घरमा खेतबारीमा काम गर्छन् । ‘यस्ता प्रतियोगितामा सहभागी हुँदा उत्साह मिल्छ,’ उनले भने, ‘जितेको पैसा घरखर्चमा लगाउँछु ।’


प्रकाशित : मंसिर ८, २०७६ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?