कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

ओलम्पिक टर्च सातै प्रदेशमा पुर्‍याइने

काठमाडौँ — १३ औं दक्षिण एसियाली खेलकुद (साग) अघि ओलम्पिक टर्च सातै प्रदेशका मुख्य सहरमा पुर्‍याइने भएको छ । ओलम्पिक टर्च भ्रमणको जिम्मा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी संघले पाएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दीपक श्रेष्ठले टर्च भ्रमणको तालिका सार्वजनिक गरे । 

ओलम्पिक टर्च सातै प्रदेशमा पुर्‍याइने

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भू मन्दिर परिसरबाटमा शुक्रबार बिहान ८ बजे ओलम्पियन एवं नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका धावक जितबहादुर केसीलाई टर्च हस्तान्तरण गरेपछि र्‍याली सुरु हुनेछ ।

त्यसपछि प्रदेश १ को राजधानी विराटनगरबाट टर्च र्‍याली सुरु हुनेछ । जनकपुर, हेटौंडा, बुटवल, सुर्खेत, धनगढी र पोखरा हुँदै र्‍याली काठमाडौं आउने तालिका छ ।

पत्रकार सम्मेलनमा सागका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धरले नेपालमा भएका विगतका दुई सागभन्दा १३ औं साग भव्य हुने बताए । ‘मैले दौड्न थालेको ५० वर्ष भयो, सुरुदेखि अहिलेसम्मको साग हेरेको छु । नेपालले आयोजना गरेको पहिलो र आठौं संस्करणभन्दा यसपल्ट भव्य हुन्छ भन्ने विश्वास छ,’ उनले भने ।

र्‍याली मंसिर ७ मा प्रदेश १ को विराटनगर, त्यही दिन प्रदेश २ को जनकपुर, ८ गते प्रदेश ३ को हेटौंडा र चितवन, ९ गते प्रदेश ५ को लुम्बिनी र बुटवल, १० गते कर्णाली प्रदेशको सुर्खेत र प्रदेश ५ को नेपालगन्ज, ११ गते सुदूरपश्चिम प्रदेशको धनगढी तथा १२ गते गण्डकी प्रदेशको पोखरा सहर परिक्रमा गराइने छ । १३ गते पोखराबाट टर्चलाई काठमाडौं ल्याइने छ । मंसिर १५ गते उद्घाटनका दिन काठमाडौंको विभिन्न स्थान परिक्रमा गराई उद्घाटनस्थल त्रिपुरेश्वरको दशरथ रंगशालामा दीप प्रज्वलन गरिने कार्यक्रम छ ।

र्‍यालीमा १३ जना हुनेछन् । खेलाडी संघका अध्यक्ष एवं सागका दोहोरो स्वर्णधारी कराँतेका दीपक श्रेष्ठबाहेक १२ ओलम्पियन खेलाडी छन् । ओलम्पियनमा तेक्वान्दोका दीपक विष्ट, एथलेटिक्सका वैकुण्ठ मान्धर र राजेन्द्र भण्डारी, पौडीकी नयना शाक्य, बक्सिङका उमेश मास्के, जुडोकी देवु थापा, एथलेटिक्सका जितबहादुर केसी र ज्ञानबहादुर बोहरा, सुटिङका टीकाराम श्रेष्ठ, एथलेटिक्सकै राजकुमारी पाण्डे, कान्छीमाया कोजु र मुकुन्दहरि श्रेष्ठ छन् ।


प्रकाशित : मंसिर ६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?