कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘याक अट्याक’ साइक्लिङ प्रतियोगितामा क्यानडाका वालेस च्याम्पियन

आश गुरुङ

(लमजुङ) — हिमाली क्षेत्रमा गरिएको ‘याक अट्याक’ साइक्लिङ प्रतियोगितामा क्यानडाका ३५ वर्षे कोरी वालेसले कीर्तिमान कायम राखेका छन् ।याक अट्याक उच्च हिमाली भेगमा गरिने अन्तर्राष्ट्रियस्तरको साइकल दौड हो । चक्रीय अन्नपूर्ण पदमार्गमा गरिएको १३ औं संस्करणमा १२ देशका २४ प्रतिस्पर्धी उछिनेर उनले बाजी मारे ।

‘याक अट्याक’ साइक्लिङ प्रतियोगितामा क्यानडाका वालेस च्याम्पियन

यसपालिसँगै उनी लगातार चौथोपल्ट याक अट्याक च्याम्पियन बनेका छन् । संसारकै अग्लो हिमाली भञ्ज्याङ थोराङला (५,४१६ मिटर) लाई फन्को मारेर उनले यसपालि पनि आफ्नो कीर्तिमान जोगाए । ७ दिने दौडको २ सय २० किलोमिटर उनले १४ घण्टा ४१ मिनेट १८ सेकेन्डमा पूरा गरे ।

यसवर्ष बेसीसहर वरपर एकदिन रेस गरी प्रतियोगी दोस्रो दिन मनाङ प्रवेश गरेको थियो । नोभेम्बर १३ मा सुरु प्रतियोगिता सातौं दिन नोभेम्बर १८ मा मुस्ताङको कालोपानी पुगेर टुंगिएको थियो । आठौं दिन पोखरा आएको टोली दसौं दिन बिहीबार काठमाडौं पुगेको छ । ‘लगातार चौथोपल्ट जित्दा आफैंलाई भाग्यमानी ठानेको छु । यो मेरो संघर्षको फल हो,’ पोखरामा पुरस्कार थापेपछि उनले खुसी व्यक्त गरे । प्रतियोगितामा १६ घण्टा ५९ मिनेट ४३ सेकेन्डबाट नेपाली साइक्लिस्ट २५ वर्षे रोअन तामाङ दोस्रा भए । उनी गतवर्ष पनि सोही स्थानमा थिए ।

‘अन्तर्राष्ट्रिय रेसरसँग प्रतिस्पर्धामा उत्रनु नै ठूलो हो । पहिलो दोस्रोभन्दा यति लामो बाटोमा साइकल दौडाउनु नै जित हो,’ उनले भने । उनलाई पछ्याउँदै बेलायती नागरिक राइज भर्नर १७ घण्टा ३६ मिनेट २४ सेकेन्डमा दूरी पार गरी तेस्रो भए ।

खुलातर्फ पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः १ हजार, ५ सय र २ सय ५० अमेरिकी डलरबराबरको सुविधा आयोजक बेलायतस्थित माउन्टेन बाइकिङ वर्ल्ड वाइडका निर्देशक फिल इभान्सले प्रदान गरेको छ । यसपालि नगद पुरस्कार नदिएर प्रतियोगीलाई विदेश जाँदा वा कहीं प्रतियोगितामा भाग लिँदा उक्त रकम बराबरको सहयोग गर्ने भएको छ ।

महिलातर्फ दुई सहभागी भएकामा फ्रान्सकी क्लियर डिमारक्वेट २२ घण्टा ५७ मिनेट १४ सेकेन्डमा विजेता भइन् । इटालीका लेटिजिया फ्रान्कोले २५ घण्टा, ५२ मिनेट ३३ सकेन्डमा दूरी पार गरेर दोस्रो भइन् । यसपालि नेपाली महिला बन्द प्रशिक्षणमा रहेकाले भाग लिन नपाएको माउन्टेन ट्रेल बाइक (एमटीबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीले बताए ।

४० वर्ष माथिको उमेर समूहमा नेपालका हर्क लामाले १९ घण्टा २१ मिनेट १५ सेकेन्डबाट विजेता भए । इटालीका अल्बर्ड किचर २१ घण्टा ५ मिनेट ५ सेकेन्डबाट दोस्रा भए । २६ घण्टा १४ सेकेन्डबाट जर्मनीका माइकल पिटर्स तेस्रो भए । ।

५० भन्दा माथि अस्ट्रियाका पिटर उल २१ घण्टा २२ मिनेट १८ सेकेन्डबाट विजेता भए । जर्मनीका फारुक बायर र अमेरिकाका जेफ स्मेरलर दोस्रा र तेस्रो भए ।


प्रकाशित : मंसिर ६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?