कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सागको कबड्डी हल्चोक सारियो

कुशल तिमल्सिना

काठमाडौँ — आसन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कबड्डीको खेलस्थल परिवर्तन भएको छ । त्रिवि स्मृति कभर्डहलमा आयोजना गर्ने प्रस्ताव गरिएकामा अन्तर्राष्ट्रिय मापदण्ड नपुगेका कारण सशस्त्र प्रहरी बलको मुख्यालय हल्चोकस्थित कभर्डहलमा प्रतियोगिता हुने १३ औं साग प्राविधिक समितिले जानकारी दिएको छ । 

सागको कबड्डी हल्चोक सारियो

नेपाल कबड्डी संघले त्रिविमा आयोजना गर्ने प्रस्ताव प्राविधिक समितिमा राखेको थियो । प्राविधिकले खेलस्थल निरीक्षण गर्दा खेलस्थल र बाहिरी भाग नपुगेपछि त्यहाँ आयोजना गर्न नसकिने निष्कर्षमा पुगेको प्राविधिक कमिटीका संयोजक गंगाबहादुर थापाले जानकारी गराए ।

‘संघले प्रस्ताव गरेअनुसार १८–१८ मिटरको खेलस्थल चाहिनेमा त्रिवि हलमा १७–१७ मात्र देखियो । विदेशी टिमले प्रश्न उठाउनसक्ने सम्भावना भएपछि हामीले खेलस्थल सारेका हौं,’ संयोजक थापाले कान्तिपुरसँग भने, ‘संघकै प्रस्तावअनुसार १३ औं सागको कबड्डी हल्चोकस्थित एपीएफ कभर्डहलमा हुनेछ । यसलाई प्राविधिक कमिटीले निरीक्षण गरेर टुंगो लगाइसकेको छ ।’

संयोजक थापाले दुई साताअघि नै यस खेलस्थल हल्चोक सार्ने निर्णय गरिसकेको थियो । तर कात्तिक २९ मा राष्ट्रिय खेलकुद परिषद्ले गरेको औपचारिक पत्रकार सम्मेलनमा वितरण भएको खेलस्थल तालिकामा कबड्डी खेल त्रिविपरिसरस्थित स्मृति हलमा हुने उल्लेख छ ।

नेपाल कबड्डी संघको आफ्नै कभर्डहल छैन । संघका महासचिव विनोद प्रजापतिले पनि प्रस्तावित खेलस्थलमा मापदण्ड नपुगेपछि संघकै प्रस्तावमा प्राविधिक समितिले हल्चोक मैदान निश्चित गरेको जानकारी दिए । प्राविधिक समितिका संयोजक थापाका अनुसार उनको समितिमार्फत सागमा समावेश सबै खेलस्थलको निरीक्षण सम्पन्न भएको छ । कबड्डीबाहेक सबै खेलस्थल प्रस्थावित स्थानमै टुंगो लागिसकेको छ ।

फाइनल खेल्ने लक्ष्य

सागमा गत संस्करण कांस्य जितेको नेपाली कबड्डीले यसपल्ट फाइनल खेल्ने लक्ष्य लिएको छ । चारमहिने बन्द प्रशिक्षण र भारतमा तीन साताको विशेष प्रशिक्षणले खेलाडीको स्तर बढेको र घरेलु मैदानको फाइदा उठाउने लक्ष्यमा नेपाली टोली रहेको संघले जनाएको छ ।

सागका लागि कबड्डीले साउन १५ देखि बन्द प्रशिक्षण सुरु गरेको थियो । कात्तिक १५ गते विशेष प्रशिक्षणका लागि भारतको कोलापुर गएको टोली शनिबार स्वदेश फर्कनेछ । नेपालका लागि आत्मविश्वासी पक्ष भनेको प्रशिक्षक रमेश बन्डागिरीको मार्गनिर्देश पनि हो । उनी भारतीय कबड्डी टिमका पूर्व प्रशिक्षकसमेत हुन् ।

‘यसपल्ट हाम्रो तयारी राम्रो छ । स्तरीय प्रशिक्षक पाएका छौं र त्यहीअनुसार स्तरीय प्रशिक्षण भइरहेको छ,’ महासचिव प्रजापतिले भने, ‘हामी महिला र पुरुष दुवै टोलीले फाइनल खेलेको हेर्न चाहन्छौं ।’ नेपालको पुरानो खेलमध्ये एक कबड्डीको अन्तर्राष्ट्रिय सहभागिता चाहिँ निकै पातलो छ । २०७३ सालमा बंगलादेश, भारत र नेपाल सम्मिलित अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगितामा नेपालको पुरुष टोली दोस्रो भएको थियो ।

गत वर्ष इन्डोनेसियामा आयोजित १८ औं एसियाली खेलकुदमा पुरुष र महिला टोलीले सहभागिता जनाएका थिए । त्यसयता अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको छैन । ‘दक्षिण एसियामा भारत हामीभन्दा धेरै माथिल्लो स्तरको छ । भारत एसियाली च्याम्पियन पनि हो । त्यसबाहेक पाकिस्तान, श्रीलंका र बंगलादेशको स्तर हामी सरहकै हो,’ प्रजापतिले भने ।

सागमा कबड्डीतर्फ भुटान र माल्दिभ्सबाहेक ५ टोलीको सहभागिता रहनेछ । प्रजापतिका अनुसार सहभागी देशमध्ये भारतबाहेक अन्यको तयारी राम्रो छैन । यसलाई अवसरका रूपमा उपयोग गर्ने प्रजापतिले दाबी गरे ।

कबड्डी प्रतियोगिता मंसिर १५ देखि १८ सम्म हल्चोक मैदानमा हुनेछ ।

‘हामीसँग एउटैमात्र खेलस्थल छ । महिला र पुरुष दुवैको प्रतियोगिता एउटै स्थलमा आयोजना गर्नुपर्ने भएकाले बिहान/बेलुकाको समय मिलाउने छौं,’ प्रजापतिले भने । उनका अनुसार राउन्ड रोबिन प्रणालीमा प्रतियोगिता हुनेछ । समूहका शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्लेअफ हुनेछ ।



सागका कबड्डी खेलाडी


पुरुष

कृष्ण लामा, जयबहादुर बोहरा, प्रवीण खड्का, रन्जित गजमेर, विनोद तामाङ, रामु टमाटा, पदमबहादुर विष्ट, प्रदीप मिजार, कल्याण भुजेल, अजय मानन्धर, लालमोहर यादव, रामप्रसाद महतो थारु

महिला

अनुजा कुलुङ राई, मेनुका राजवंशी, मनमती विष्ट, जयन्ती बडु, कोषमाया बस्नेत, कमला थापा, गंगा धामी,

हरिना थापा, सरिता भुजेल, रविना चौधरी, पुस्तिका चौधरी, इसुदा गिरी

प्रकाशित : मंसिर ६, २०७६ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?