नवौं राष्ट्रिय खेलकुदको तयारी

काठमाडौँ — नवौं राष्ट्रिय खेलकुद दुई वर्षपछि पोखरामा हुँदै छ । प्रतियोगितालाई मध्यनजर गर्दै रंगशालाभित्र पौडी पोखरा बनाउने योजना राखेपको छ । पौडीपोखरीको निर्माणसँगै करिब सबै खेलको पूर्वाधार पुग्ने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल बताउँछन् । 

परिषद्कै लगानीमा पोखरा रंगशालाभित्रै टेनिसको चेन्जिङ रुम, शौचालय, फिडव्याक कक्षलगायतका पूर्वाधार तयार गरिएको छ । एउटा हार्डकोर्ट र क्लेकोर्ट समेत बनाइएको छ । २ करोड ४० लाख रुपैयाँमा टेन्डर आह्वान गरी गत आवदेखि काम सुरु गरिएको हो । निर्माणको अन्तिम चरणमा छ । यसअघि नै टेनिसका ५ क्लेकोर्ट खेलाडी एवं व्यवसायीको लगानीमा बनिसकेको छ ।


चारवटा कोर्टसहितको भलिबल ट्रेनिङ सेन्टर निर्माणको दायित्व राष्ट्रिय खेलकुद परिषद्कै हो । परिषदले विभिन्न चरणमा गरी ९७ लाख रुपैयाँ निर्माणमा खर्च गरेको छ । प्यारापिटसमेत बनाइएको छ । भलिबल खेल पोखरामा आयोजना नहुने भए पनि प्यारापिट भने थपिएको छ । कास्की जिल्ला भलिबल संघले उपभोक्ता समिति बनाई काम गरिरहेको छ । खानेपानीका लागि बोरिङ समेत खनिएको छ । १७ लाख रुपैयाँ खर्चिएको छ । ४५ लाख रुपैयाँ फुटबल मैदान तथा ट्र्याक मर्मतका लागि खर्च गरिएको तथ्यांक जिल्ला तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिसँग छ । मूल गेट मर्मत सम्भार तथा रंगरोगन गर्न १५ लाख रुपैयाँ खर्च गरिएको थियो ।


संरक्षणको चिन्ता

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका पूर्वअध्यक्ष एवं गण्डकी प्रदेश सांसद दीपक कोइराला सागले पोखरालाई दीर्घकालीन फाइदा पुर्‍याउने बताउँछन् । गण्डकी प्रदेशका अर्थ तथा विकास समिति सभापति रहेका उनले सागपछि पूर्वाधार संरक्षण चुनौतीको रूपमा देख्छन् । ‘प्राकृति घाँससहितको फुटबल मैदानको व्यवस्थापन चुनौतीपूर्ण छ,’ उनी भन्छन्, ‘यसलाई कसरी व्यवस्थित बनाउने भन्ने योजना बनाउन जरुरी छ ।’

प्रकाशित : मंसिर ५, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?